नेभिगेशन
अर्थतन्त्र

साइबर ठगी नियन्त्रण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । साइबर ठगीका घटना नियन्त्रण, पीडितको रकम रोक्का तथा अनुसन्धानमा समन्वय प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको कार्य सञ्चालन सहज बनाउन २४ सै घण्टा उपलब्ध हुने गरी सम्पर्क अधिकृतको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
गृह मन्त्रालयको २०८३ असोज २३ को निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन–२०८३’ कार्यान्वयनका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोमा भौतिक रूपमा रहने उक्त केन्द्रले साइबर ठगीसम्बन्धी घटनामा सम्बन्धित निकायबीच समन्वय र सहकार्य गर्ने बताइएको छ। विशेषगरी बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँग तत्काल सम्पर्क स्थापित गरी साइबर ठगीका घटनामा आवश्यक समन्वय गर्न सम्पर्क अधिकृतको व्यवस्था गर्न लागिएको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ई–सेवा लिमिटेड र आईएमई खल्ती लिमिटेडबाहेकका सम्पूर्ण विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत तोक्न भनेको छ।
सम्बन्धित संस्थाले २४ सै घण्टा सम्पर्कमा रहन सक्ने एक जना अधिकृतको नामथर, फोन नम्बर र कार्यालयको इमेल ठेगाना राष्ट्र बैंकमा पठाउनुपर्नेछ। उक्त विवरण आगामी मंसिर १९ गते दिउँसो ३ बजेसम्म नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको इमेल ठेगाना उकमभउत२लचद.यचन.लउ मा पठाउनुपर्नेछ।
राष्ट्र बैंकले दिग्दर्शनको बुँदा नम्बर ६(ग) अनुसार सम्पर्क अधिकृतको विवरण माग गरेको हो।
साइबर ठगीमा प्रयोग भएका बैंक खाता तथा डिजिटल भुक्तानी माध्यमको पहिचान, कारोबार रोक्का र अनुसन्धानका क्रममा सम्बन्धित वित्तीय संस्थासँग तत्काल समन्वय आवश्यक पर्ने भएकाले यस्तो केन्द्रको अवधारणा अघि सारिएको हो। सम्पर्क अधिकृत तोकिएपछि साइबर ठगीसम्बन्धी उजुरीमा प्रहरी र वित्तीय संस्थाबीच सम्पर्क तथा सूचना आदानप्रदान सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्