नेभिगेशन
दृष्टिकोण

नेपाल सम्वत्को मूल्य–मान्यता

हाम्रो देश नेपालमा विभिन्न किसिमले सांस्कृतिक, आर्थिक विचलन भइरहेको समयमा भक्तपुरका राजा आनन्ददेव प्रथमले राज ज्योतिष सिद्धिवन्त जोशीको सल्लाह अनुसार शुभ साइत पारेर काठमाडौंको लखुतीर्थबाट बालुवा ल्याउन भरियाहरूलाई पठाएका रहेछन् । ज्योतिषीले दिएको साइतअनुसार काठमाडांैको लखुतीर्थबाट बालुवा ल्याउन सके चार दिनमा बालुवा सुन हुने संयोग परेको रहेछ । लिच्छविवंशका राजा राघवदेवले काठमाडौंमा राज्य गरिरहेको त्यो समयमा मरु टोलका एकजना व्यापारी शंखधर साख्वाले भक्तपुरदेखि लखुथीर्थमा बालुवा लिन भरिया आएको देखेर शंका लागेर यसमा केही न केही रहस्य हुनुपर्छ भन्ने लागेर भरियाहरूले बोकेर ल्याएको बालुवा आफ्नो घरको छिँडीमा राख्न लगाएर भरियालाई ज्याला दिएर पठाएछन् । ती भरियाहरूले पुनः अर्को बालुवा लखुतीर्थबाट भक्तपुरमा लगेका रहेछन् । शंखधर साख्वाले चौथो दिन बिहान सबेरै हेर्दा त सबै बालुवा सुनमा परिणत भएको देखेछन् । यसरी चलाखी गरेर धनी भएका शंखधरले देशका सबै जनताले तिर्नुपर्ने ऋण तिरिदिएर ऋण मुक्त पारिदिएछन् । 
यस्तो अतुलनीय र प्रशंसनीय काम गर्ने शंखधर साख्वालाई देखेर खुशी भएका राजाले माग के माग्छौ माग भन्दा शंखधरले राष्ट्रका नाममा नेपाल सम्वत् बनाउन स्वीकृति मागेकाले राजाले स्वीकृति दिएर राष्ट्रिय मान्यता दिएका थिए । 
चन्द्रमानअनुसार प्रयोग गरिने नेपाल सम्वत्को पहिलो दिन नेवार समुदायले आफ्नो देह आफैंले पूजा गर्ने म्हपूजा (देह पूजा) का दिनदेखि मनाउने गरेको हो । देशका सम्पूर्ण जातजातिका कर्मकाण्ड, पूजा, चाडवाड सबै यही नेपाल सम्वत्को तिथिअनुसार नै मनाउँदै आइरहेका हुन् । नेपाल सम्वत् त्यही समयदेखि नै राष्ट्रिय सम्वत्का रूपमा स्थापित भइसकेको थियो । यही एउटै सम्वत् चलिरहेको थियो । 
नेपाल सम्वत् ८८८ मा गोरखाका शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल जितिसकेपछि नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्बाट हटाएर गोरखाको शक सम्वत् चलाएका हुन् । पछि नेपाल सम्वत् १०४२ मा प्रधानमन्त्री चन्द्रशमशेर राणाले त विदेशबाट आयातित विक्रम सम्वत्लाई नेपाल राज्यको सरकारी कामकाजमा प्रयोग गाराएका हुन् । त्यसबेलादेखि त झन् नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को अस्तित्व नै मेटाइदिएका थिए । 
यसरी तत्कालीन शासकहरूले नेपाल सम्वत्लाई दबाइराखेका थिए । तर जतिसुकै दबाउन खोजे तापनि नेपालका जनताले नेपाल सम्वत् प्रयोग गरेर विभिन्न कर्मकाण्ड, चाडपर्व, जात्रा सबै मनाउँदै आए । नेपाल सम्वत् १०७१ मा नेपालमा राणा शासन पतन हुन लागेको समयमा भाषाप्रेमी प्रेमबहादुर कसाः र मदनलोचन सिंहले हिन्दुस्थानमा गठन गरेको च्वसापासा माध्यमबाट नेपाल सम्वत्को नयाँ वर्ष मनाउने अभियान सुरु गरेका हुन् । सरकारी दबाब जति बढ्दै गयो त्यति नै भाषाप्रेमी र जनताको संयुक्त अभियान बढ्दै गयो । नेपाल सम्वत् ११०० मा नेपाल भाषा मंकाः खलःले नेपाल सम्वत्को संरक्षण र संवद्र्धनका लागि क्रान्तिकारी भिंतुना ¥याली आन्दोलनका रूपमा चलाएको हो । नेपाल सम्वत् नेवारहरूको मात्र होइन सम्पूर्ण नेपालीहरूको हो भनेर भन्दै आए तापनि तत्कालीन पञ्चायती शासकहरूले न्हूदँया भिंतुना ¥यालीलाई तितरवितर पार्ने गरी लाठी चार्ज पनि गरे । नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिलाउन भाषा आन्दोलनका अग्रज पद्मरत्न तुलाधरको नेतृत्वमा हरेक वर्ष आन्दोलन चलि नै रह्यो । 
प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष मनाउने सन्दर्भमा ‘न्हूदँया भिंतुना’ भनेर व्यापक रूपमा सांस्कृतिक क्रान्तिकारी आन्दोलनका रूपमा अगाडि आयो । देशमा विभिन्न समयमा हुँदै आएको राजनीतिक आन्दोलनका साथसाथै नेपाल सम्वत् आन्दोलन पनि बढ्दै आयो । विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलहरूबाट पनि नेपाल सम्वत् न्हूदँया मूल समारोह समितिमा भाग लिएर भिंतुना आन्दोलनलाई साथ दिए । नेपाल सम्वत् १११९ देखि नेकपा एमाले काठमाडौ जिल्ला कमिटीले नेपाल सम्वत् न्हूदँया भिंतुना चियापानको आयोजना पनि ग¥यो । पछि अन्य पार्टीहरूले पनि न्हूदँया भिंतुना चियापानको आयोजना गरे । 
नेपाल सम्वत् ११२० मा नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्ले नेपाल सम्वत्का प्रवर्तक साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग¥यो । यो भिंतुना आन्दोलनको ठूलो उपलब्धि हो । यसरी नै राष्ट्रिय विभूति शंखधर साख्वाः अंकित हुलाक टिकटको प्रकाशन पनि सरकारले गरेको र राष्ट्रिय सञ्चारमाध्यममा नेपाल सम्वत्लाई उल्लेख गर्ने काम भिंतुना आन्दोलनकै उपलब्धि हो । 
नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति मान्ने तर नेपाल सम्वत्लाई भने राष्ट्रिय सम्वत्को मान्यता नदिने विडम्बना नै भइरहेको थियो । भिंतुना आन्दोलनकारी सम्पूर्ण नेवारहरूको संघर्ष अझ दबाबमूलक बन्दै गयो । अन्ततः नेपाल सम्वत् ११२८ कौलागाः दशमीका दिन नेकपा माओवादीका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्ले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् घोषणा ग¥यो । 
हाम्रो देश नेपालको मौलिक सम्वत् अनुरूप राष्ट्रिय सम्वत्का रूपमा मनाउँदै आएको सम्वत्को विभिन्न समयमा शाह शासन र राणा शासनको दबाबले अस्तित्व नै लोप पार्न खोजे तापनि समयान्तरले र भिंतुना आन्दोलनको संघर्षले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् घोषणा भएको हो । तर, नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् घोषणा गरेको यतिका वर्ष भइसके तापनि सरकारी कामकागमा प्रयोग भएको 
छैन । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल सम्वत् ११३२ न्हूदँया मनाउने सन्दर्भमा नेपाल सम्वत्लाई आफ्नो लेटर प्याडमा पनि प्रयोग गर्ने र सरकारी कामकाजमा पनि प्रयोग गर्ने भनी नेपाल भाषामा भाषण गरेर खुल्ला मञ्चबाट घोषणा गरेका हुन् । तर त्यो घोषणा, घोषणामै सीमित भइरहेको छ । मुखले बोले जस्तै व्यवहारमा प्रयोग गर्ने काम गरेकै छैन । यो एउटा ठूलो विडम्बना नै हो । जहिले पनि जनतालाई झुटो आश्वासन दिने र आफू चर्चित हुने नेताहरूको चरित्रले भिंतुना आन्दोलनकारी नेवारहरूलाई झन् आक्रोशित पारेको छ । यसमा सरकारले अबिलम्ब ध्यान देओस् । 
स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेलामा पनि आफ्नो लेटर प्याडमा नेपाल सम्वत् राख्ने वचन दिएका थिए तर व्यवहारमा लागू गरेनन् । माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेलामा पनि केही पनि उपलब्धि भएन । नेपाल सम्वत्को न्हूदँया भिंतुना कार्यक्रममा प्रमुख अतिथि भएर आउने प्रधानमन्त्रीहरूले नेपाली जनताहरूलाई खुसी पार्न मात्र मीठामीठा कुरा गर्ने तर व्यवहारमा भने केही पनि नगर्ने, यस्ता काम गरेर नेपालीहरूलाई झुक्याउँदै आएका छन् । 
नेपाल राष्ट्र बैंकले नेपाल सम्वत् ११३४ मा दशैंका अवसरमा पहिलो पटक नोटमा उल्लेख गरिएको विक्रम सम्वत् र ईश्वी सम्वत् मात्र राखेको देखियो तर राष्ट्रिय मान्यता प्राप्त नेपाल सम्वत् उल्लेख नगरिनु अपशोचको कुरा हो । यसमा पनि सम्बन्धित निकायको अबिलम्ब ध्यान जाओस् ।
नेपाल सम्वत् न्हूदँया राष्ट्रिय समारोह समिति– ११३४ को प्रतिनिधि मण्डलले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर नेपाल सम्वत्सम्बन्धी नौ बुँदामा मागहरू राखेको थियो । उक्त नौवटा मागहरूमा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् घोषणा गरिसकेपछि यसलाई सम्मान गर्नुपर्ने, व्यवहारमा प्रयोग गर्नुपर्ने, तत्काल राष्ट्र प्रमुख र सरकारी निकायहरूले प्रयोग गरिने लिखित दस्तावेजमा प्रयोग गर्नुपर्ने, पैसा सिक्का र नोटमा प्रयोग गर्नु पर्ने, शंखधर प्रतिष्ठान गठन गर्ने काम तत्काल सरकारीस्तरबाट गर्नु पर्ने, नेपाल सम्वत् न्हूदँको नामले नै बिदा घोषणा गर्नुपर्ने, नेपाल सम्वत् राष्ट्रिय सम्वत् भएकाले उक्त सम्वत्को न्हूदँ नयाँ वर्ष नेपाल सरकारकै नेतृत्वमा मूल समारोह समिति गठन गरेर आयोजना गर्नुपर्ने, नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः र नेपाल सम्वत्सम्बन्धी पाठ्यसामग्री पाठ्यक्रममा व्यवस्था गर्नुपर्ने र नेपाल सम्वत् राष्ट्रिय रूपमा मनाउन राज्यले आर्थिक कोषको व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । यसका लागि अझै भिंतुना आन्दोलनकारीहरूले अझ बढी सशक्त रूपमा आन्दोलन गर्नुपर्ने भएको छ । भिंतुना आन्दोलनको सफतलाको कामना गर्दै यस वर्ष नेपाल सम्वत् ११४३ को उपलक्ष्यमा सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना । जय भिंतुना आन्दोलन, जय नेपाल भाषा, जय मांभाय् । 
(लेखक डंगोल धर्म संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण