मानिसको जीवन जस्तो बनायो त्यस्तै बन्छ । आजको यो भौतिकवादले अगाडि बढेको, विज्ञान प्रविधि र सञ्चारको उच्च उपयोग भएको र मानिसका लागि सोचेभन्दा पनि बढी आविष्कारहरू भइरहेका र विकासले गति लिँदै गरेको समयमा मानिस शान्त किन छैन, ऊ खुशी किन हुन सकेको छैन भन्ने भेदको चिरफार विपश्यनाले दिँदोरहेछ भन्ने अनुभूति लिन पाइएको यो २०८३ को विजयादशमी । न अहिले कसैको हातबाट टीका ग्रहण गरियो न कसैलाई टीका लगाउँदै आशीर्वाद दिन पाइयो । यस महान् अवसरमा आफूले जन्म दिने आमाको र अग्रजको हातबाट पनि टीका ग्रहण नगरे पनि मानिसको मनभित्र हुने र शरीरमा चल्ने समवेदनाहरू उब्जने र नष्ट हुने गर्दछन् भन्ने सोच आफैंले अनुभव गर्न पाइयो ।
विजयादशमी २०८३—नेपाली संस्कृति र समाजमा रातो टीका, पहेँलो जमरा, मान्यजनको आशीर्वाद र पारिवारिक जमघटको पर्याय मानिने पर्वमा म कतै सामेल हुन सकिनँ । वर्षभरिका दौडधुप र व्यस्ततालाई बिर्सेर समाज उत्सवको रङ्गमा रमाइरहँदा यो वर्ष २०८३ को दशैँ मेरो जीवनमा अलि भिन्न र विलक्षण भएर आयो । असोज ३१ गतेदेखि कात्तिक ११ गतेसम्मको अवधिमा, जब बाहिर सम्पूर्ण देश उत्सवको कोलाहलमा रमेको थियो, म भने कीर्तिपुरस्थित धम्म विपश्यना केन्द्रको मौन, पवित्र र शान्त वातावरणभित्र आफ्नो अन्तरयात्रामा लीन थिएँ । जीवनको पहिलो अनुभव बोल्न थालेदेखि १० दिनसम्म नबोलीकन मौन साधनाका समय आनन्दमय रह्यो । यसले मानिस दुखी र सुखी आफ्नो कारणले हुने गर्दछ भन्ने आत्मानुभूति भएको क्षण रह्यो ।
बाह्य दृष्टिले हेर्दा यो वर्ष मेरो निधारमा दशैँको रातो टीका टल्केन, शिरमा पहेँलो जमरा सजिएन, न त मान्यजनको भौतिक हस्तकमलबाट आशीर्वाद नै थाप्न पाएँ । तर, भित्री दृष्टिले हेर्ने हो भने, यो दशैँ मेरो जीवनकै सबैभन्दा सार्थक, गम्भीर र रूपान्तरणकारी दशैँ बन्न पुगेको महशुस गरेको छु । जहाँ गए पनि कहीँ केही नयाँ अनुभूति गर्ने गर्दैनथ्यो तर यसपटक पनि सुनिएका प्रवचनहरू मेरा लागि नयाँ थिएनन् तर कसरी समवेदना महसुस गर्ने, आफ्नोे मनलाई भोक्तभावबाट टाढा राखी वा तटस्थ रहेर शरीरमा उत्पन्न हुने समवेदनाहरूको अन्तरमनबाट अवलोकन गर्ने अवसर बन्यो । यही अवसरले शरीर पनि एक द्रव्यको रुपमा रहेको छ र यसमा प्रत्येक क्षणमा कसरी खुसी प्राप्त गर्ने र कसरी तुरुन्तै ती हराएर जान्छन् भन्ने विषयको आत्मानुभूतिको क्षण रह्यो यो बडादशैं मेरा लागि ।
विपश्यना ध्यान साधना १० दिनसम्म मौन रही पूरा गर्नुपर्छ भने पहिलो आउँदाको दिन र फर्कंदाको दिन गरी जम्मा १२ दिन विपश्यना ध्यान केन्द्रमा रहनुपर्छ । यो कोर्स एउटा गहन र वैज्ञानिक मानसिक प्रशिक्षण हो । सत्यलाई यसको वास्तविक रूपमा जान्नु नै विपश्यना हो । यस साधनाको १० दिनको रूपरेखा र विधि सामान्यतया यसप्रकार हुन्छः
१२ दिनको पहिलो दिनमा मौन कसरी बस्ने भनिन्छ भने ध्यानको
१. पहिलो ३ दिनः आनापान साधना (मनलाई एकाग्र गर्ने) तरिका सिकाइन्छ जसमा साधक वा साधिकाले आफंै अनुभूति गर्नुपर्छ । यसको उद्देश्यः मनको चञ्चलतालाई कम गर्ने र एकाग्रता बढाउने हो ।
विधिः साधनाको पहिलो तीन दिन श्वासप्रश्वासमा ध्यान केन्द्रित गरिन्छ । नाकको टुप्पामा वा माथिल्लो ओठको वरिपरि श्वास आएको र गएको अनुभव गरिने आनापान सती अभ्यास गराइन्छ । यसले मनलाई शान्त र स्थिर बनाउँछ ।
२. चौथो दिनदेखि नवौं दिनः वास्तविक विपश्यना (समता र संवेदनशीलता)
उद्देश्यः शरीर र मनको अन्तरसम्बन्धलाई बुझ्दै समभाव सिकाइने गरिन्छ ।
विधिः चौथो दिनबाट वास्तविक विपश्यना सुरु हुन्छ । यसमा शरीरका विभिन्न अङ्गहरूमा हुने संवेदनशीलता– जस्तैः गर्मी, चिसो, दुख्ने, झमझम हुने आदि) लाई तटस्थ भावमा अवलोकन गरिन्छ ।
मुख्य सिकाइः शरीर र मनमा जस्तो सुकै अनुभूतहरू (सुखद वा दुःखद) आए पनि तिनप्रति प्रतिक्रिया (राग वा द्वेष) नगरेर केवल हेर्ने अभ्यास गरिन्छ । यसले मनको गहिराइमा रहेका विकारहरू (सङ्स्कार÷आसक्ति) लाई हटाउँदै लैजान्छ ।
३. दशौँ दिनः मङ्गल मैत्री भावना, प्रेम र करुणाको भाव लगाइन्छ ।
उद्देश्यः १० दिनको साधनाबाट प्राप्त शान्ति र ऊर्जालाई कसरी अरुसँग बाँड्ने भन्ने बारेमा बताइन्छ ।
विधिः दशौँ दिनमा मौन व्रत तोडिन्छ र अन्य साधकहरूसँग सकारात्मक अनुभव साटासाट हुन्छ । यस दिन मेट्टा भावना अर्थात् सबै प्राणीहरूको कल्याण, सुख र शान्तिको कामना गर्ने मैत्रीपूर्ण ध्यान सिकाइन्छ । यस धरतीमा मानव मात्र नभएर सजीव निर्जीव सबैको कल्याणमा लाग्नु नै धर्म हो भन्ने अनुभूति गराइन्छ ।
विपश्यना साधना अवधिका मुख्य नियमहरू (शिशिल)हरू तपसिलका आधारमा पस्किएको छ ः
आर्य मौन ः साधना अवधिभर शारीरिक, मानसिक र मौखिक रूपमा पूर्ण मौनता अपनाउनुपर्छ (संकेत वा इशारा गर्न समेत निषेध हुन्छ)।
शील (नियम)को पालनः चोरी नगर्ने, हिंसा नगर्ने, झूट नबोल्ने, ब्रह्मचर्य पालना गर्ने र नशालु पदार्थ सेवन नगर्ने नियमहरूको कडा पालना गरिन्छ ।
बाहिरी सम्पर्क निषेधः मोबाइल, किताब, कापी, कलम वा बाहिरी दुनियाँसँगको सम्पर्क पूर्ण रूपमा बन्द गरिएको हुन्छ ।
यो साधनाले मानिसलाई आफ्नै शरीर र मनको वास्तविकता बुझाउँदै जीवनमा शान्ति, धैर्य र समभाव राख्न सिकाउँछ ।
मौनभित्रको महाउत्सव
दशैँले बाह्य रूपमा दुरभिसन्धिसँगै विकार र असत्यमाथि सत्यको विजयको सन्देश दिन्छ । तर, ती विकारहरू बाहिर होइन, हाम्रै मनभित्र सञ्चित भएर बसेका हुन्छन् भन्ने यथार्थको बोध गराउने माध्यम बन्यो—विपश्यना । कीर्तिपुरको डाँडामा अवस्थित त्यस साधना केन्द्रमा १० दिनसम्म ‘आर्य मौन’ मा १० दिन बसेर केवल आफ्नै श्वासप्रश्वास र शारीरिक संवेदनाहरूको निरीक्षण गर्दा मनका अनेकौँ तहहरू उघ्रिँदै गए ।
आर्य अष्टाङ्गिक मार्ग र भगवान् बुद्धको देशनाअनुसार विपश्यना कुनै धर्म, सम्प्रदाय वा कर्मकाण्ड होइन; यो त जीवन जिउने कला हो । सत्यलाई जस्तो छ, त्यस्तै रूपमा (यथाभूत) हेर्ने र जान्ने अभ्यास नै विपश्यना हो । त्यसैले यस साधनाको मूल बुद्धम शरणम् गच्छामि, धर्मं शरण गच्छामि र संगम शरणम् गच्छामि भन्ने हो । यसमा गौतम बुद्धको शरणमा होइन आफंैभित्र रहेको बुद्धको शरणमा जान पाउँ भनेको हो । त्यस्तै गरी धर्म र संगमको शरणमा जानेछु भन्ने हो । यो कुनै जात, धर्म, लिङ्ग विशेषको नभएर समग्र मानव कल्याण, जीव जीवात्मा र निर्जीव वस्तुहरूको समेत कल्याणको माध्यम अपनाउँ भन्ने नै हो ।
द्वेषको समाप्ति र समताको साधना
हामी दैनिक जीवनमा साना–साना कुरामा राग (आशक्ति) र द्वेष (घृणा÷द्वेष भाव) उत्पन्न गर्छौँ । कसैले राम्रो भनिदिँदा मन हर्षित हुन्छ र त्यसलाई समाइराख्ने आशक्ति जाग्छ; कसैले नराम्रो भनिदिँदा वा परिस्थिति प्रतिकूल हुँदा मनमा क्रोध र द्वेषको आगो सल्किन्छ । र दिनानुदिन त्यसले पीडा थपिरहेको हुन्छ । यही रिस, राग, आशक्तिबाट मुक्तिको मार्गमा लाग्नु नै विपश्यना ध्यानको मूल उदेश्य रहेको छ ।
कीर्तिपुर साधना केन्द्रको ध्यान हलमा घण्टौँसम्म स्थिर बसेर (अधिष्ठान साधना) जब शरीरमा उत्पन्न हुने सुखद र दुखद संवेदनाहरूको तटस्थ भएर निरीक्षण गरियो, तब जीवनको एउटा महान् सत्य उजागर भयो—‘अनिच्च’ (अनित्य) । कुनै पनि संवेदना वा परिस्थिति स्थायी छैन । सुखद क्षण पनि आउँछ र जान्छ, कष्टकर क्षण वा दुखाइ पनि आउँछ र बित्छ । सबैभन्दा महत्वपूर्ण कुरा त जब सादगी आफ्नो हात, आँखा र आसन बाँधेर ध्यान मग्न हुन्छ, त्यही ध्यानमग्नताको समयमा शरीरमा कहीँ पीडा भएको छ भने त्यहाँ तटस्थ भावले निगरानी गरिदिँदा त्यो पीडा हराएर गएको स्वयं अनुभूति आफैंले गर्ने अवसर मिल्यो ।
जब यो ‘अनित्य’ को ज्ञान केवल बौद्धिकस्तरमा मात्र नभई शारीरिक र मानसिक अनुभवको स्तरमा गहिरोसँग बोध हुन्छ, तब मनमा ‘समता’ को जन्म हुन्छ । द्वेष त्यसै हराएर जान्छ, किनकि हामीलाई थाहा हुन्छ—क्रोध वा द्वेष अर्काप्रति होइन, आफ्नै मनभित्रको विकार हो जसले पहिले आफैँलाई जलाउँछ ।
आशक्तिको अन्त्य र वास्तविक मुक्ति
हामी वस्तु, व्यक्ति, पद र सम्मानमा मात्र होइन, आफ्नै विचार र धारणाहरूमा पनि अन्ध भएर टाँसिइरहन्छौँ । यही आशक्ति नै समस्त दुःखको मूल कारण हो । विपश्यनाले आशक्तिलाई बलपूर्वक हटाउन सिकाउँदैन, बरु त्यसको नश्वरता देखाएर मनलाई स्वतः त्यसबाट मुक्त हुन सहयोग गर्छ ।
टीका र जमराको भौतिक स्वरूपभन्दा धेरै माथि उठेर जब मानिसले आफ्नो भित्री राग, द्वेष र मोहलाई छाड्ने प्रयत्न गर्छ, वास्तविक विजय (विजयादशमी) त्यहीँ हासिल हुन्छ । कीर्तिपुरको त्यो एकान्त साधना हलमा ध्यानमा बस्दा अनुभव भयो— संसारको सबैभन्दा ठूलो आशीर्वाद अरू कसैले दिने होइन, आफ्नै शुद्ध, विकाररहित र करुणामय मनले प्राप्त गर्ने आन्तरिक शान्ति नै हो भन्ने सोचको प्रत्यक्ष अनुभूति हुन पुग्यो । अहिलेको दशैं आएको र गएको देख्ने अवसरबाट आफैंले वञ्चित गरे पनि यसमा दुखेसो गर्नुपर्ने कुनै कारण रहेन ।
निष्कर्ष
२०८३ को दशैँ आयो र गयो । धेरैका लागि यो भोजभतेर, नयाँ लुगा र उत्सवको पर्व बन्यो होला; तर मेरा लागि यो आफ्नै मनको अँध्यारो कुनामा प्रकाश छर्ने ‘धम्म यात्रा’ बन्यो ।
कीर्तिपुर धम्म विपश्यना केन्द्रबाट ११ गते बाहिर निस्कँदा म एउटा नयाँ दृष्टि र नयाँ चेतना लिएर निस्किएको छु । अब जीवनका उतारचढावहरूमा न त अति हर्षित हुने आशक्ति हिजो पनि थिएन, न त प्रतिकूलतामा छटपटाउने द्वेष । केवल ‘सचेतता’ र ‘समता’को बाटो छ । मैले यसलाई धेरै समयदेखि धारणा गरेको अनुभूति भयो । तर कहिलेकाहीँ हुने छटपटी र पीडाबाट मुक्तिका लागि ध्यान हो भन्ने चेतना भने थिएन । यद्यपि यसमा आफ्नो तवरले म लागिसकेको थिएँ । टीका–जमरा नलाए पनि यो वर्ष मैले धम्मको त्यो अनमोल प्रसाद प्राप्त गरेको छु, जसले मलाई जीवनभरि सही अर्थमा शान्त, करुणामय र सन्तुलित भई जिउने मार्ग प्रशस्त गरिरहनेछ भन्ने विश्वास मौलाएको छ ।
यसरी विपश्यना ध्यान केन्द्रबाट बाहिर निस्कँदा मलाई लाग्न थाल्यो यो ध्यान, आफ्नो मनलाई सफा गर्ने ध्यान, आफंैले अनुभव गर्ने सत्यको बोध हाम्रा विद्यालय र विश्वविद्यालयमा पनि जोड्न सकेको अवस्थामा मानव समाज सभ्य र सुसंस्कृत बन्ने छ । मलाई लागेको छ केही मिनेट म मेरा प्रिय भाइबहिनीहरूको बीचमा र मेरा सहकर्मी शिक्षक मित्र र विद्यालय कर्मचारी बीचमा पनि यही प्रत्यक्ष ज्ञानको अनुभूति गर्नका लागि ध्यानमा केन्द्रित हुन अनुरोध गर्नेछु । यो आफ्नो मनलाई शान्त पार्ने र मनमा रहेका राग, द्वेषको अन्त्य गर्ने, कुनै पनि कुरामा आशक्ति नबढाई आफ्नो मनले आफ्नो मानसिक चेतनाको चिरफार गर्नका लागि प्रत्यक्ष अनुभूति गर्नका लागि अग्रसर हुन अनुरोध गर्नेछु । जसले अनुभव गर्नेछ उसले आफ्नो समवेदनाको अनुभूति गर्दै भोक्तभावबाट मुक्त रहँदै तटस्थ भावले समवेदनाको महसुस गर्नु नै मनको शान्ति, द्वेषको अन्त्य र धम्मको मार्गतिर लम्कँदै समाजमा आफ्नो मनको र शरीरको चिरफार आफंैले अनुभव गर्न सक्ने सन्देशलाई शिक्षामा जोड्न सके हाम्रो मानव समाज सभ्य बन्नेछ ।
अन्त्यमा भन्नु पर्छ जसले आफ्नो बारेमा अमंगल गरिरहेको छ उसको पनि कल्याण होस, साना वा ठूला जीवहरूको पनि कल्याण होस्, नजिक वा टाढा सबैको कल्याण होस्, जीव र निर्जीव सबैको कल्याण होस् । यही रह्यो मेरो १० दिनको मौन ध्यान र १२ दिने ध्यान केन्द्रको सिकाइ ।
(लेखक पण्डित शिक्षासेवी हुन् ।)