नेभिगेशन
राजनीति

बिचौलिया कनेक्सन र संवैधानिक इजलास विवादबारे सर्वोच्चको फुलकोर्टमा बहस

छानबिन समिति गठन गर्न न्यायाधीशहरूको माग

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको विषयमा सार्वजनिक रूपमा प्रश्न उठेपछि आज सर्वोच्च अदालतको पूर्ण बैठक बसेको छ ।
प्रधानन्यायाधीश डा. शर्माद्वारा बोलाइएको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) मा न्यायाधीशहरूले न्यायालयभित्र बिचौलियाको बढ्दो प्रभाव र हालै सार्वजनिक भएका विवादित विषयमाथि गम्भीर प्रश्न उठाएका छन् ।
शुक्रबार नियमित इजलास बस्नुअघि डाकिएको उक्त बैठकमा बहालवाला न्यायाधीश र बिचौलियाबीचको सम्बन्ध, संवैधानिक इजलास गठनको विवाद तथा न्यायालयको आचारसंहिता जस्ता मुख्य विषयहरूमाथि केन्द्रित रहेर छलफल भएको छ। 
बैठकमा सहभागी अधिकांश न्यायाधीशले न्यायालयको गरिमा जोगाउन यस विषयमा सर्वोच्च अदालतभित्रैबाट आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका छन् ।
मुद्दाको पेसीका लागि गोला प्रक्रिया सुरु हुनुअघि बसेको उक्त आकस्मिक बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लबाहेक अन्य सबै न्यायाधीश उपस्थित थिए ।
बैठकको सुरुवातमै न्यायाधीश हरिप्रसाद फुयाँलले पछिल्लो समय चर्चामा रहेको ‘इनम’सँगको कुराकानीबारे स्पष्टीकरण दिएका थिए । आफूहरूसमक्ष इनम प्रधानमन्त्रीको नाम लिएर आएकाले ह्वाट्सएपमा कुराकानी भएको स्वीकार गर्दै उनले कुनै पनि न्यायिक विचलन हुने कार्य नगरेको दाबी गरे ।
उनले आफ्नो मात्र नभई प्रधानन्यायाधीशको समेत नाम जोडिएकाले सत्यतथ्य बाहिर ल्याउन अदालतभित्रैबाट निष्पक्ष छानबिन समिति गठन हुनुपर्ने माग राखे ।
बैठकमा न्यायाधीशहरू नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, महेश शर्मा पौडेल, श्रीकान्त पौडेल र शारंगा सुवेदीलगायतले पनि आफ्नो धारणा राखेका थिए । उनीहरूले न्यायालयमाथि लागेको आरोप गम्भीर भएकाले यसको निष्पक्ष निरूपण हुनुपर्नेमा जोड दिए ।
'न्यायालयको पछिल्लो घटनाक्रमबारे संसद्ले आफ्नो ठाउँबाट के गर्छ, त्यो उसको कुरा हो, तर न्यायालय स्वयंले पनि आन्तरिक रूपमा छानबिन गरेर निष्कर्षमा पुग्नुपर्छ' बैठकमा सहभागी एक न्यायाधीशले भने ।
यस विषयमा थप छलफल तथा आवश्यक निर्णय गर्न आउँदो सोमबार पुनः फुलकोर्ट बैठक बस्ने सहमति भएको छ । आजको बैठक सम्पन्न भएलगत्तै न्यायाधीशहरू गोला तानेर नियमित इजलासमा मुद्दाको सुनुवाइका लागि बसेका छन् ।
सर्वोच्च अदालतका कुल १६ न्यायाधीशमध्ये १४ जना आजको बैठकमा सहभागी थिए । वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ला वैदेशिक भ्रमणमा र न्यायाधीश अब्दुल अजिज मुसलमान बिदामा रहेकाले आजको बैठकमा कुनै अन्तिम निर्णय भने भएन। सबै न्यायाधीशहरूको उपस्थितिमा यो विषयलाई निचोडमा पुर्‍याउन आगामी सोमबार पुनः विस्तृत फुलकोर्ट बैठक बस्ने गरी आजको बैठक सकिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्