काठमाडौं । अरूलाई आफ्नो उपलब्धि सुनाउने, आफूले गरेको कामलाई विशेष ठान्ने, आफ्नो हैसियत र प्रतिष्ठाको धाक लगाउने वा अरूभन्दा आफूलाई माथि देखाउन खोज्ने प्रवृत्तिलाई नेपाली समाजमा प्रायः ‘धक्कु लगाउनु’ भनिन्छ । दैनिक जीवनमा सामान्य लाग्ने यही व्यवहारसँग सम्बन्धित मनोवैज्ञानिक विशेषताको अन्तर्राष्ट्रिय अध्ययनमा नेपाल विश्वका ५३ देशमध्ये चौथो स्थानमा परेको छ ।
अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्तासहितको टोलीले गरेको अध्ययनअनुसार समग्र आत्ममुग्धता (नार्सिसिज्म) को स्तरमा जर्मनी पहिलो, इराक दोस्रो, चीन तेस्रो र नेपाल चौथो स्थानमा छन् । दक्षिण कोरिया पाँचौं स्थानमा छ । अझ चासोको विषय, आफ्नो प्रशंसा गर्ने प्रवृत्तिमा पनि नेपाल चौथो स्थानमै रहँदा अरूलाई होच्याएर आफूलाई श्रेष्ठ देखाउने प्रतिस्पर्धात्मक प्रवृत्तिमा भने तेस्रो स्थानमा छ ।
धाक लगाउनु र अरूलाई होच्याउनु फरक कुरा
अनुसन्धानकर्ताहरूले आत्ममुग्धतालाई एउटै व्यवहारका रूपमा नहेरी दुई भागमा विभाजन गरेका छन् । पहिलो हो, आत्मप्रशंसात्मक आत्ममुग्धता (नार्सिसिस्टिक एड्मिरेसन) । दोस्रो हो, प्रतिस्पर्धात्मक आत्ममुग्धता (नार्सिसिस्टिक राइभलरी) ।
आत्मप्रशंसात्मक आत्ममुग्धतामा व्यक्तिले आफ्नो महŒव बढाइचढाइ गरेर प्रस्तुत गर्ने, आफ्ना उपलब्धिको धाक लगाउने, आफू विशेष भएको देखाउन खोज्ने र अरूबाट प्रशंसा पाउने अपेक्षा राख्नेजस्ता विशेषता पर्छन् । यस प्रकारको आत्ममुग्धतामा नाइजेरिया पहिलो, इराक दोस्रो र चीन तेस्रो स्थानमा छन् ।
दोस्रो प्रकारको आत्ममुग्धता अझ रोचक छ । प्रतिस्पर्धात्मक आत्ममुग्धतामा व्यक्तिले आफ्नो श्रेष्ठता जोगाउन अरूसँग तनावपूर्ण सम्बन्ध बनाउन सक्छ । आलोचना हुँदा आफ्नो बचाउ गर्न खोज्ने, अरूको महŒव घटाएर आफूलाई ठूलो देखाउने वा प्रतिस्पर्धामा अरूलाई पछाडि पार्न खोज्ने व्यवहार यसअन्तर्गत पर्छन् । यस सूचकमा जर्मनी पहिलो र दक्षिण कोरिया दोस्रो स्थानमा छन् ।
यसरी हेर्दा नेपालमा आफ्नो प्रशंसा गर्ने प्रवृत्ति मात्रै उच्च देखिएको होइन, अरूसँगको प्रतिस्पर्धामा आफ्नो श्रेष्ठता स्थापित गर्ने मनोवैज्ञानिक विशेषता पनि उत्तिकै बलियो देखिएको छ । यही दुई सूचकले यस अध्ययनलाई विशेष चासोको विषय बनाएका छन् ।
सामूहिकताको कुरा गर्ने समाजमा व्यक्तिगत प्रतिष्ठाको मोह
अध्ययनको अर्को अप्रत्याशित निष्कर्ष सामूहिकतावादी संस्कृतिसँग सम्बन्धित छ । परिवार, समुदाय र समूहको हितलाई महŒव दिने संस्कृतिका आधारमा नेपाल विश्वका देशमध्ये चौथो स्थानमा परेको छ । यस सूचीमा सेनेगल पहिलो, बंगलादेश दोस्रो र मोरक्को तेस्रो स्थानमा छन् ।
सामान्यतः सामूहिकतावादी समाजमा व्यक्तिले आफूभन्दा परिवार, समुदाय वा समूहको महŒवलाई प्राथमिकता दिन्छ भन्ने बुझाइ छ । त्यसैले यस्ता समाजमा आत्ममुग्धता कम हुनुपर्ने अनुसन्धानकर्ताहरूको अपेक्षा थियो । तर अध्ययनको नतिजा त्यसको विपरीत देखियो । सामूहिकतावादी संस्कृति भएका देशका सहभागीले औसतमा आत्मप्रशंसात्मक आत्ममुग्धताको उच्च स्तर देखाएका थिए ।
यस निष्कर्षले सामूहिकता र व्यक्तिगत प्रतिष्ठा एकअर्काका विपरीत हुन्छन् भन्ने सरल धारणामाथि प्रश्न उठाउँछ । सामूहिक संस्कार भएको समाजमा पनि मानिसले आफ्नो स्थान, सम्मान र महŒव स्थापित गर्न खोज्न सक्छ । नेपाली समाजमा परिवारको प्रतिष्ठा, सामाजिक हैसियत, पद, आर्थिक उपलब्धि र अरूको नजरमा राम्रो देखिने चाहनालाई कति महŒव दिइन्छ भन्ने प्रश्नसँग यसलाई जोडेर हेर्न सकिन्छ ।
अनुसन्धानमा संलग्न विलियम चोपिकका अनुसार आत्ममुग्धता व्यक्तिवादी संस्कृतिको उपज हो भन्ने धारणा सही नहुन सक्छ । सामूहिकतावादी समाजमा पनि सामाजिक पदक्रम र हैसियतप्रतिको संवेदनशीलताले आत्ममुग्धताको अभिव्यक्तिलाई प्रभाव पार्न सक्ने उनको व्याख्या छ ।
धाक लगाउनेमा अमेरिका पनि नेपालभन्दा पछाडि
आत्ममुग्धताको चर्चा हुँदा अमेरिकालाई प्रायः उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर यस अध्ययनमा अमेरिका ५३ देशमध्ये १६औं स्थानमा मात्रै छ । समग्र आत्ममुग्धताको सूचीमा नेपाल अमेरिकाभन्दा १२ स्थान अगाडि छ ।
अध्ययनका अनुसन्धानकर्ताका अनुसार आत्ममुग्धताबारे पहिलेका धेरैजसो अनुसन्धान पश्चिमा देशहरूमा केन्द्रित थिए । त्यसैले अमेरिकालाई यस प्रवृत्तिको सबैभन्दा ठूलो उदाहरण ठान्ने धारणा बनेको हुन सक्छ ।
समग्र आत्ममुग्धता सबैभन्दा कम भएका देशमा सर्बिया, आयरल्यान्ड, बेलायत, नेदरल्यान्ड्स र डेनमार्क छन् । यसले विभिन्न देशका नागरिकमा आत्ममुग्धताको स्तर एउटै नहुने देखाए पनि त्यसको अर्थ कम अंक प्राप्त गर्ने देशका सबै नागरिक विनम्र र बढी अंक प्राप्त गर्ने देशका सबै नागरिक अहंकारी हुन्छन् भन्ने होइन ।
युवामा बढी आत्ममुग्धता, पुरुषमा पनि उच्च
अध्ययनले उमेर र लिङ्गअनुसार पनि आत्ममुग्धताको स्तर फरक हुने देखाएको छ । समग्रमा युवामा पाका मानिसको तुलनामा आत्ममुग्धता बढी पाइएको छ । त्यस्तै, महिलाको तुलनामा पुरुषमा आत्मप्रशंसात्मक र प्रतिस्पर्धात्मक दुवै प्रकारका आत्ममुग्धता बढी देखिएको छ ।
आफूलाई उच्च सामाजिक हैसियतमा रहेको ठान्ने व्यक्तिमा पनि आत्ममुग्धताको स्तर बढी भेटिएको छ । तर यी निष्कर्ष सबै देशमा उत्तिकै र बराबरी रूपमा लागू हुने होइनन् ।
नेपालका कति मानिस सहभागी थिए ?
सेल्फ एन्ड आइडेन्टिटी नामक शैक्षिक जर्नलमा सन् २०२५ डिसेम्बर ४ मा प्रकाशित यो अध्ययनमा विश्वका ५३ देशका कुल ४५ हजार ८०० जना सहभागी थिए । तर नेपालबाट भने औसत २८.६ वर्ष उमेरका ३४५ जना मात्र समेटिएका थिए । यसको अर्थ यो नेपालका सबै उमेर, वर्ग, क्षेत्र र समुदायका मानिसको प्रतिनिधित्व हुने समान राष्ट्रिय सर्वेक्षण थिएन ।
यो नेपाली समाजको फैसला होइन
अध्ययनको नतिजा रोचक भए पनि यसलाई नेपाली समाजको चरित्रमाथिको अन्तिम फैसला वा चिकित्सकीय निदान मान्न उचित नहुने अध्येताहरूले बताएका छन् । अनुसन्धानले देशगत औसतको तुलना मात्र गरेको हो, नेपालीहरू किन यस्तो प्रवृत्तिका छन् भन्ने कारण प्रमाणित गरेको होइन ।
तैपनि, आफ्नो प्रशंसा गर्ने प्रवृत्तिमा चौथो र अरूलाई होच्याएर आफूलाई श्रेष्ठ देखाउने प्रवृत्तिमा तेस्रो स्थानमा परेको नेपालको नतिजाले आत्ममूल्यांकनका लागि एउटा प्रश्न भने उठाएको विश्लेषकहरू बताउँछन् । उनीहरूको भनाइ छ, हामी आफ्नो क्षमता र उपलब्धि प्रस्तुत गर्दा अरूको योगदानलाई कति महŒव दिन्छौं ? आफ्नो सम्मान खोज्ने क्रममा अरूको सम्मान घटाउने व्यवहार त गरिरहेका छैनौं ?
अध्ययनको सबैभन्दा महŒवपूर्ण सन्देश आत्ममुग्धता कुनै एउटा देश वा संस्कृतिमा सीमित छैन भन्ने हो । नेपाली समाजमा यी प्रवृत्तिको वास्तविक कारण बुझ्न भने थप अनुसन्धान आवश्यक रहेको समेत अध्ययनमा संलग्नहरूको धारणा छ ।
यो अध्ययन कोभिडको अवधिमा गरिएको अध्येताहरूले बताएका छन् । तथ्यांकहरू त्यो बेला संकलन गरिएको भए पनि हालै मात्र सो अध्ययनको निष्कर्षलाई अध्येताहरूले विश्लेषण गरेका हुन् ।