नेभिगेशन
खेलकुद

एनपिएलमा नेपाली खेलाडीले देखाए तीक्ष्णता

जारी एनपिएल टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले आफ्नो कलालाई प्रभावशाली रूपमा प्रस्तुत गरिरहेका छन् ।
प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।
यसअघिका संस्करणमा सुरुआती चरणदेखि नै विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेको थियो । तर, यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव देखाइरहेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
ब्याटिङतर्फ विराटनगर किङ्समा आबद्ध नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२.०६ को उत्कृष्ट ‘स्ट्राइक रेट’मा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतकीय पारी खेलेका छन् ।
विराटनगरको पछिल्लो लगातार दुई जितमा लोकेशको ब्याटिङ महŒवपूर्ण रह्यो । आक्रामक शैलीमा ब्याटिङ गरिरहेका उनले छोटो समयमा ठूलो ‘स्कोर’ बनाउन सक्ने क्षमता देखाएका छन् ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा विराटनगरकै वेष्ट इण्डिजका चर्चित अलराउण्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । रसेलजस्ता अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीसँगै नेपाली ब्याटरले शीर्ष स्थानमा प्रतिस्पर्धा गर्नु प्रतियोगिताको सकारात्मक पक्षका रूपमा देखिएको छ ।
यस संस्करणमा लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले अहिलेसम्म १०३ तथा इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पु–याउन थालेका छन् ।
विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरी एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताउँछन् । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक सङ्केत रहेको उनको भनाइ छ ।
“जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । ‘प्लेयर अफ दी म्याच अवार्ड’ जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो,” पूर्वराष्ट्रिय क्रिकेटर पनि रहेका चौधरीले भने ।
ब्याटिङमा मात्रै होइन बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् ।
सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । कप्तानीसँगै ब्याटिङ र बलिङ दुवैमा जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्त्वपूर्ण बनेको छ ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङल्याण्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन् । दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन् ।  यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन् । उनले चार खेलमा ६.१२ को सानदार इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ ।
जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुरको दुई जितमा राहुलको योगदान महत्त्वपूर्ण रहेको छ ।
कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ दी म्याच’ पनि घोषित भइसकेका छन् । अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएका राहुलले देखाएको आत्मविश्वास र प्रदर्शन नेपाली क्रिकेटको भविष्यका लागि पनि सकारात्मक सङ्केत रहेको जनकपुरमा आबद्ध इङल्याण्डका चर्चित अलराउन्डर मोइन अलीले बताए । उनले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमा पनि दिएका छन् ।
विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तरराष्ट्रिय स्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । प्रतियोगितामा नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको सङ्केत दिएको उनको भनाइ छ ।
उनले भने, “विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ ।”
नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वछनोट समितिका संयोजकसमेत रहनुभएका चौधरीले जारी प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गरे । पूरा ‘सिजन’मा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

काठमाण्डु गोखार्जको सहज जित
विहीबारको खेलमा काठमाण्डु गोर्खाजले लगातार दोस्रो जित दर्ता गरेको छ । काठमाण्डु गोखार्जले दोस्रो जित निकाल्ने क्रममा विराटनगर किङ्सलाई नौ विकेटले हरायो ।
काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि अविजित रहेका डेविड वार्नरले ४४ र विलियम बोसिस्टोले २३ रन बनाए । साहिल पटेल १० रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले मात्र एक विकेट लिन सके ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको विराटनगर किङ्स १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । उसका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
काठमाण्डुका लागि बलिङतर्फ सन्तोष यादवले तीन, सहान अराच्चिगे र जहानदाद खानले समान दुई–दुई तथा साहब आलम, कप्तान करण केसी र देव साहले समान एक–एक विकेट लिए । यो जितपछि काठमाण्डु अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर तालिकाको पाँचौँ स्थानमा झरेको छ ।

लुम्बिनीको उत्कृष्ट जित
यसैगरी हिजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो । पछिल्लो जितसँगै ४ खेलमा ७ अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
साविक विजेतासमेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेल बर्षाका कारण रद्द भएपछि चितवन राईनोजसँग अङ्क बाडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो ।
लुम्बिनीले जितको लागि दिएको १५० रनको लक्ष्य पन्छाएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे । त्यस्तै त्रितराज दासले १८ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै  शेर मल्ल र तिलक भण्डारीले समान २÷२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो ।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा  रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २÷२ विकेट लिए । त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १÷१ विकेट हात पारे ।
यस हारसँगै पहिलो संस्करणको विजेता जनकपुरले  ५ खेलमध्ये २ खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ । अहिले जनकपुरको ४ अङ्क छ ।
काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।
एनपिएल खेल्न नेपाल आइपुगे फेबियन एलेन
वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन एनपिएल टी–२० प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । उनलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे ।
एलेनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय खेल, ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीयमा २०० रन बनाएका छन् भने सात विकेट लिएका छन् ।
यस्तै, एलेनले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा २९८ रन जोडेका छन् भने २४ विकेट लिएका छन् । उनले समग्र टी–२० क्रिकेटमा १७८ खेलमा एक हजार ६३४ रन बनाएका छन् ।
एलेनले इण्डियन प्रिमिय लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), मेजर लिग क्रिकेट, बिग बास लिग (बिबिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आइएल टी–२०, एसए टी–२० र पाकिस्तान सुपर लिग (पिएसएल) खेलिसकेका छन् । एनपिएल उनका लागि नवौँ व्यावसायिक लिग हो ।
सट्टेबाजी गर्ने युवक पक्राउ
नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने÷गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट रु ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुल्न आएको छ । निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्