नेभिगेशन
खेलकुद

एनपीएलः लुम्बिनीबाट जनकपुरले पायो १५० रनको विजयी लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १४ औं खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे।
पहिलो विकेटको रुपमा ओपनर डार्सी सर्ट गोल्डेन डक हुँदा दोस्रो विकेटको रुपमा अर्का ओपनर आसिफ शेख २१ रन बनाउँदा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहको बलमा एलबीडब्ल्यू धरापमा परे।
निरोशन डिकवेल्लाले २७ बलमा २ चौका र १ छक्कासहति २७ रन बनाए। दिलिप नाथले १६ बलमा समान २ चौका र २ छक्कासहति २५ रनमा क्याच भए। समिम होसैन १३ रनमा राहुल यादवको बलमा अभिषेक तिवारीको हातमा क्याच भए। सन्दीप जोराले ९ रन बनाए। रुबेन ट्रम्पलमेन १५ रनमा रनआउट हुँदा शेर मल्ल शुन्यमा अविजित रहे।
जनकपुर बोल्ट्सको लागि बलिङतर्फ विशाल सुस्लिङ र राहुल यादवले २–२ विकेट लिए। हर्मित सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट लिए। लुम्बिनीको यो चौथो खेल हो। जनकपुरको भने यो पाँचौं खेल हो।
लुम्बिनी जारी संस्करणको एक मात्र अपराजित टिम हो। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो खेलमा भने चितवन राइनोजसँग वर्षाका कारण अंक बाड्यो। तेस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध ८ विकेटको जित दर्ता गरेको हो।
जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले हराएको थियो। चौथो खेलमा भने जनकपुर विराटनगर किंग्ससँग २ रनले हारेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्