काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को १४ औं खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।
किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
लुम्बिनीले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ८ विकेटको क्षतीमा १३३ रन मात्रै बनाउन सक्यो।
जनकपुर बोल्ट्सको लागि कप्तान हर्मित सिंहले सर्वाधिक ३३ रन बनाए। उनले २० बलमा ३ छक्का प्रहार गरे। सैफ हसनले २८ रन बनाए। उनले २५ बलमा ४ चौका प्रहार गरे। ओपनर तृतराज दासले १८ रन बनाउँदा आदित्य महताले अन्तिम सम्म प्रयास गरे। आदित्य २४ रनमा रललित राजवंशी २ रनमा अविजित रहे।
जनकपुरको ब्याटिङ धराप भयो। मध्यक्रमका ब्याटर दोहोरो अंकमा रन नबनाइ पेभेलियन फर्किदा जनकपुरलाई मध्यम लक्ष्य पछ्याउन पनि सास्ती भएको हो।
लुम्बिनी लायन्सका लागि डार्सी सर्टले सर्वाधिक ३ विकेट लिए। ब्याटिङमा सस्तैमा पेभेलियन फर्किएका डार्सीले बलिङमा राम्रो प्रदर्शन गरे। तिलक भण्डारी र शेर मल्लले २–२ विकेट लिए। रुबेन ट्रम्पलमेनले १ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेटको रुपमा ओपनर डार्सी सर्ट गोल्डेन डक हुँदा दोस्रो विकेटको रुपमा अर्का ओपनर आसिफ शेख २१ रन बनाउँदा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहको बलमा एलबीडब्ल्यू धरापमा परे।
निरोशन डिकवेल्लाले २७ बलमा २ चौका र १ छक्कासहति २७ रन बनाए। दिलिप नाथले १६ बलमा समान २ चौका र २ छक्कासहति २५ रनमा क्याच भए। समिम होसैन १३ रनमा राहुल यादवको बलमा अभिषेक तिवारीको हातमा क्याच भए। सन्दीप जोराले ९ रन बनाए। रुबेन ट्रम्पलमेन १५ रनमा रनआउट हुँदा शेर मल्ल शुन्यमा अविजित रहे।
जनकपुर बोल्ट्सको लागि बलिङतर्फ विशाल सुस्लिङ र राहुल यादवले २–२ विकेट लिए। हर्मित सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट लिए।यो खेलमा जनकपुरलाई हराउँदा लुम्बिनीको प्लेअफ सम्भावना बलियो बनेको छ। जनकपुरको भने यो तेस्रो हार हो।
लुम्बिनी जारी संस्करणको एक मात्र अपराजित टिम हो। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो खेलमा भने चितवन राइनोजसँग वर्षाका कारण अंक बाड्यो। तेस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध ८ विकेटको जित दर्ता गरेको हो।
जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले हराएको थियो। चौथो खेलमा भने जनकपुर विराटनगर किंग्ससँग २ रनले हारेको थियो।