नेभिगेशन
खेलकुद

एनपीएलः विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले दोस्रो जित दर्ता गरेको छ । बिहीबार सम्पन्न खेलमा काठमान्डुले विराटनगर किङ्सलाई ९ विकेटले पराजित गरेको हो ।
विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमै एक विकेट गुमाएर पूरा गर्‍यो । काठमान्डुले ६.२ ओभरमै ५० रन बनाउँदै जितको आधार तयार गरेको थियो ।
काठमान्डुको जितमा अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर र विलियम बोसिस्टोले उत्कृष्ट प्रदर्शन गरे । वार्नर ४४ रनमा अविजित रहँदा बोसिस्टोले २३ रन बनाए । दुवैले दोस्रो विकेटका लागि अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो ।
विराटनगरको ब्याटिङ सुरुदेखि नै कमजोर देखियो । उसले पावरप्लेमा तीन विकेट गुमाएर २३ रन मात्रै बनाउन सक्यो । १० ओभरको खेल सकिँदा सात विकेट गुमाएर ३७ रनको अवस्थामा पुगेको विराटनगरले सम्हालिएर खेल्न सकेन ।
विराटनगरका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । एन्जेलो म्याथ्युजले ३१ बलमा २२ रन जोडे । त्यस्तै, बसिर अहमदले १० र लोकेश बमले ६ रन बनाए ।
विराटनगरका तीन ब्याटरले खाता खोल्न सकेनन् । अन्तिम खेल खेलिरहेका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल पनि तीन रनमै आउट भए ।
विराटनगरको इनिङ्स ध्वस्त पार्ने क्रममा काठमान्डुका सन्तोष यादवले सर्वाधिक तीन विकेट लिए । सहन आरच्चिगेले दुई विकेट लिँदा करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले समान एक–एक विकेट हात पारे ।
पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो । यता, तीन खेल खेलेको काठमान्डुले दुई जित र एक हार बेहोरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्