नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

निष्क्रिय कर्जा बढ्यो, अर्थतन्त्रमा सुस्तता

मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएर पनि पछिल्लो समय अर्थतन्त्र भने चलायमान हुन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाईको बलियो सरकार भएर पनि अर्थतन्त्र चलायमान हुन सकेको अवस्था छैन । राजनीतिक स्थिरता र बलियो सरकार हुँदा अर्थतन्त्रमा विश्वास बढ्न सक्छ । नयाँ लगानी भित्रिन सक्छ भन्ने मान्यता रहेको हुन्छ । तर, पछिल्लो पटक मुलुकको अर्थतन्त्रमा नयाँ लगानी आउन सकेको देखिँदैन । नयाँ उद्योगधन्दा सञ्चालनमा आएको अवस्था छैन । पछिल्लो समय बैंकको कर्जामा व्याजदर न्यून हुँदा पनि अर्थतन्त्रमा नयाँ लगानी बढ्न नसक्नु मुलुकको लागि चिन्ताजनक अवस्था हो । बैंक तथा वित्तीय संस्थाको कर्जाको व्याज घटाउन विगतका वर्षहरूमा पटक–पटक माग गरियो । बैंकहरूको व्याजदर अहिले न्यून छ तर पनि बैंकबाट कर्जा प्रवाह हुन सकेको देखिँदैन । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम तरलता पर्याप्त भएर पनि लगानी हुन सकेको छैन । मुलुकको बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर रहेको अवस्था छ भने अर्कातिर बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर पनि बढेको अवस्था छ चालु आर्थिक वर्ष २०८३ ÷८४ को  पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल ) बढेको देखिएको छ । बैंकको खराब कर्जाको अवस्था बढ्नु र नयाँ लगानी विस्तार हुन सकेन भने अर्थतन्त्रमा पक्कै पनि दबाब सिर्जना हुन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले बैंकहरूको कर्जा असुलीमा समस्या देखाएको छ । अर्थतन्त्रमा लगानी बिस्तार हुन नसक्नु र लगानीकर्ताहरूको आत्मविश्वास कमजोर हुनु भनेको अर्थतन्त्रमा संकट बढ्नु हो । किनभने अर्थतन्त्रमा लगानी हुन सकेन भने नयाँ रोजगारी पनि सिर्जना हुन सक्दैन । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तता, लगानीकर्ताहरूमा बढेको त्रास र अन्यौलको अवस्थाको कारण पनि नयाँ लगानीमा समस्या देखिएको हो । सुस्त अर्थतन्त्रको कारण बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असूलीमा कठिनाई र ऋण भुक्तानीको झमतामा आएको कमीको कारणले बैंकहरूको निष्क्रिय कर्जा बढेको हो । 
सरकारले पछिल्लो पटक निजी क्षेत्रको विश्वास लिन सकेको देखिदैन् । उद्यमी व्यवसायीहरूलाई नयाँ लगानीको सुरक्षा र लगानीको वातावरण निर्माण गर्न सरकारले लगानीकर्ताको विश्वास हासिल गर्न सक्नु पर्छ ।  साना तथा मझौला ब्यवसायीहरू, ग्रामीण क्षेत्रका कृषक तथा नयाँ व्यवसायीहरूले आफ्नो नयाँ लगानीलाई  विस्तार गर्न सकेका छैनन् । 
बैंकको खराब कर्जा बढ्दै जाँदा नाफा र सेयरधनीको प्रतिफलमा दबाब देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य रूपमा घटेको वित्तीय विवरण सार्वजनिक गरे पनि सम्पत्तिको गुणस्तर, प्रतिसेयर आम्दानी र लाभांश वितरण क्षमतामा देखिएको संकुचनले बैंकको वित्तीय अवस्थामाथि प्रश्न उठ्न सक्छ । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा तुलनामा बढ्दै जानु भनेको अर्थतन्त्र अझै चलायमान हुन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगानीकर्ताको मनोबल बढाउने वातावरण र नीति निर्माण गर्न नसकेको गुनासो निजी क्षेत्रको छ । अर्थतन्त्रको राम्रो ज्ञान र अनुभवी अर्थशास्त्री डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पनि अर्थतन्त्रमा सुधार नहुनु र लगानीकर्तामा त्रास र अन्योलको अवस्था हुनु पक्कै पनि सुखद अवस्था होइन । केही ठूला उद्यमीहरूले उद्योगधन्दा तथा व्यवसायमा निर्धक्क भएर लगानी गरेको अवस्था देखिँदैन । केही उद्यमी व्यवसायी सरकारको धरपकड पनि परेका छन्  । सरकारले गलत गर्ने केही व्यवसायीहरू सरकारले पक्कै पनि कारवाही र छानबिनको दायरामा ल्याउन सक्छ र ल्याउनु पनि पर्छ । तर उद्यमी व्यवसायीलाई त्रास भन्दा पनि उनीहरूलाई कडा नियमन र अनुगमन गर्न सकिन्छ । गलत गर्नेहरूलाई आर्थिक जरिवाना गर्न सकिन्छ । लगानीकर्ताहरूमा आत्मविश्वासको संकट र असुरक्षाको अवस्था भयो भने व्यवसायीहरूले लगानी नगर्न सक्छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज खर्च घटे पनि ब्याज आम्दानीमा आएको गिरावटले बैंकको मुख्य आम्दानी पनि खुम्चिएको अवस्था देखिन्छ  । 
बैंकको खराब कर्जा बढ्नु भनेको पक्कै पनि अर्थतन्त्रका लागि राम्रो अवस्था होइन । कतिपय साना तथा ठूला व्यवसायीहरू पनि बैंकको खराब कर्जाको सूचीम समावेश हुने क्रम बढेको देखिन्छ । यो पक्कै पनि मुलुकको अर्थतन्त्र र निजी क्षेत्रको लगानी विस्तारको लागि सुखद अवस्था मान्न सकिँदैन । विदेशमा वैदेशिक रोजगारमा गएका युवाले पठाएको रेमिट्यान्स मात्र बढेर मुलुकको अवस्थामा दिगो सुधार आउन सक्दैन । त्यसकारण सरकार पक्कै पनि गम्भीर भएर अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले दीर्घकालीन सोच र रणनीति अवलम्बन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
आधुनिकीकरणको छायामा रैथाने ज्ञान

आधुनिकीकरणको छायामा रैथाने ज्ञान

पूर्वाग्रहरहित न्यायालय अपेक्षित

पूर्वाग्रहरहित न्यायालय अपेक्षित

सरकारको शैलीमाथि प्रश्न र आशंका

सरकारको शैलीमाथि प्रश्न र आशंका