तामाङ गाउँबस्तीमा जन्मदेखि घेवा (मृत्यु संस्कार) सम्मका संस्कारमा आवश्यक पर्ने टोटलाको फूल अर्थात् ‘कोकोमेन्दो’ खोज्ने ताम्बाहरू भेटिन छाडेका छन् । किरात बस्तीमा मुन्धुमी अनुष्ठानका लागि चाहिने सुगन्धित ‘काहुलो’ चिन्ने नछुङहरूको सङ्ख्या घट्दै गएको छ । उच्च हिमालीखर्कमा भेँडा गोठसँगै ‘बिख’ र ‘बिखुमा’को भेद छुट्याउन जान्ने गोठालाहरूको अनुभवजन्य ज्ञान पुस्तान्तरण हुन सकेको छैन । आँगनका तुलसीका मठ र कान्लाका चाबो कङ्क्रिटले पुरिँदै गएका छन् । नेपाली समाजले आधुनिकीकरणका नाममा गुमाउँदै गएको कुरा पुराना चालचलनमा मात्र सीमित छैन ।
संस्कृति कमजोर हुँदा वनस्पति कसरी मासिन्छ ?
हाम्रो समाजमा संस्कृति र प्रकृतिको सम्बन्ध अन्योन्याश्रित छ । कुनै समुदायको मौलिक संस्कार बदलिँदा वा छोडिँदा त्यससँग जोडिएका वनस्पतिको प्रयोग, रोपण, संरक्षण र पुस्तान्तरणको अभ्यास पनि कमजोर हुन्छ । त्यसैले सांस्कृतिक परिवर्तनलाई जैविक विविधतामाथि पर्ने प्रभावबाट अलग राखेर हेर्न मिल्दैन । बजारमा उपलब्ध कृत्रिम फूलको प्रयोग बढ्दै जाँदा संस्कारका लागि टोटला खोज्ने, रोप्ने र संरक्षण गर्ने अभ्यास कमजोर हुँदै गएको छ । सांस्कृतिक माग घट्दा त्यसको संरक्षणमा समुदायको चासो पनि घट्दै गएको छ । पूर्वी पहाडका किरात समुदायमा नछुङ र फेदाङ्माले विभिन्न अनुष्ठानमा वनस्पति प्रयोग गर्ने परम्परा छ । ‘काहुलो’ पनि कतिपय स्थानीय अभ्यासमा महत्वपूर्ण मानिन्छ ।
खस–आर्य समुदायमा बाटोछेउ चौतारी बनाउने, वर–पिपल रोप्ने र तिनलाई सामाजिक तथा धार्मिक जीवनसँग जोड्ने चलन थियो । ती विशाल रुखले वातावरणीय सन्तुलन, शीतल छायाँ, चराचुरुङ्गीको वासस्थान र सामुदायिक भेटघाटका लागि महत्वपूर्ण भूमिका खेल्थे । वर, पिपल र तुलसीका विभिन्न परम्परागत उपयोगसम्बन्धी ज्ञान पनि पुस्तान्तरण हुँदै आएको छ । त्यसैगरी, कतिपय स्थानीय समुदायमा ‘चाबो’ भनेर चिनिने वनस्पति घरेलु उपचारमा प्रयोग गरिन्छ ।
सडक विस्तार, अव्यवस्थित निर्माण र सिमेन्टका आँगनको विस्तारले चौतारी, तुलसीका मठ र घर वरपरका उपयोगी वनस्पतिका लागि उपलब्ध ठाउँ घटाउँदै लगेका छन् । तराईका थारू समुदायमा गुरुवा र भर्राजस्ता परम्परागत उपचारकले विभिन्न वनस्पति प्रयोग गर्ने ज्ञान पुस्तौँदेखि जोगाउँदै आएका छन् । ‘सतवरिया’ र ‘हरैया’ जस्ता स्थानीय नामले चिनिने वनस्पतिको पहिचान क्षेत्रअनुसार फरक हुनसक्ने भएकाले तिनको वैज्ञानिक पहिचान स्पष्ट पार्नु महत्वपूर्ण छ ।
परम्परागत औषधीय ज्ञान र वैज्ञानिक परीक्षण
पुर्खाले वनजङ्गलमा उपलब्ध वनस्पति, जडीबुटी र प्राकृतिक पदार्थको प्रयोगबाट रोगव्याधिको उपचार गर्नेक्रममा अनुभवमा आधारित ज्ञान विकास गरेका थिए । परम्परागत रूपमा कुनै वनस्पति प्रयोग हुँदै आएको छ भन्दैमा त्यसले सबै अवस्थामा सम्बन्धित रोग निको पार्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन । त्यसैगरी कुनै वनस्पतिको औषधीय सम्भावना देखिनु र त्यसबाट तयार गरिएको औषधि मानिसमा सुरक्षित तथा प्रभावकारी प्रमाणित हुनु पनि फरक कुरा हुन् । त्यसैले पुर्खाको अनुभवलाई अस्वीकार गर्ने होइन, त्यसलाई वैज्ञानिक अध्ययनका लागि महत्वपूर्ण आधारका रूपमा लिनुपर्छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका केही वनस्पतिमाथि औषधीय गतिविधिको परीक्षण पनि गरिएको छ । उपलब्ध अध्ययनले केही परम्परागत प्रयोग र औषधीय अनुसन्धानबीच समानता देखाए पनि सबै वनस्पति र सबै उपचार विधिको प्रभावकारिता प्रमाणित भइसकेको अवस्था छैन ।
सिंहदरबार वैद्यखानाजस्ता सरकारी आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थाले च्यवनप्राश, त्रिफला चूर्ण, तुलसी चियालगायतका उत्पादन बनाउँदै आएका छन् । यसले वनस्पति तथा अन्य प्राकृतिक द्रव्यमा आधारित परम्परागत औषधि निर्माणको संस्थागत अभ्यासलाई देखाउँछ ।
गोठ र घरेलु शिल्पको पतन
कुनै जीवनशैली हराउँदा त्यससँग जोडिएको लामो अनुभव र ज्ञान कसरी विलीन हुनसक्छ भन्ने उदाहरण नेपालको गोठ तथा घरेलु शिल्प संस्कृतिमा देखिन्छ । उच्च पहाडी भेगका भेँडा गोठालाहरूले जङ्गल र खर्कमा पाइने विभिन्न वनस्पति, तिनको उपयोग तथा सम्भावित विषाक्तताबारे अनुभवका आधारमा ज्ञान विकास गरेका थिए । ‘बिख’ र ‘बिखुमा’ भनेर चिनिने वनस्पतिबीचको भेद छुट्याउने ज्ञान पनि कतिपय स्थानीय परम्परामा पाइन्छ । यी नामले कुन–कुन प्रजातिलाई जनाउँछन् भन्ने कुरा पहिचान नगरी तिनको विषाक्तता वा प्रतिविषका रूपमा प्रयोगबारे निश्चित निष्कर्ष निकाल्न मिल्दैन ।
भेडापालन घट्नु, ऊनको उत्पादन कम हुनु र बजारिया कपडाको पहुँच बढ्नुले परम्परागत बुनाइमा समेत प्रभाव पारेको छ । गुरुङ, मगर, शेर्पा र खस समुदायमा विभिन्न रूपमा प्रचलित ‘राडी–पाखी’, ‘लुङ्गी’ र जाडोमा प्रयोग गरिने बाक्ला ऊनी कपडा बुन्ने सीपलाई बजारिया कृत्रिम रेसाका कपडाले चुनौती दिएका छन् ।
तराई र मध्यपहाडका कतिपय क्षेत्रमा कपास खेती घट्दै जाँदा चर्खाबाट धागो कात्ने र हातेतानमा कपडा बुन्ने परम्परा पनि कमजोर भएको छ । ग्रामीण जीवनका आधार मानिने बाँस र निगालोबाट डोको, डालो, मान्द्रो, भकारी र पेरुङ्गो बनाउने सीपले प्लास्टिकका सामग्रीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । चोयाबाट हलुका, उपयोगी र टिकाउ सामग्री बनाउने यो सीपले उचित श्रममूल्य नपाउँदा नयाँ पुस्तामा यसको आकर्षण घट्दै गएको छ । कुमालेले माटो मुछेर घैँटो, हाँडी र पाला बनाउने परम्परागत प्रविधिलाई धातु तथा प्लास्टिकका भाँडाको विस्तारले चुनौती दिएको छ ।
माटाका भाँडाको उपयोगिता तिनको बनोट, प्रयोग र मर्मतसम्भारमा निर्भर हुन्छ । तिनलाई सबै अवस्थामा आधुनिक भाँडाभन्दा स्वस्थकर भन्न भने मिल्दैन । परम्परागत माटाका भाँडा बनाउने सीप र स्थानीय उत्पादनको सांस्कृतिक महत्व बजारमा पर्याप्त मूल्य पाउन सकेका छैनन् । ‘हाडजोरा’वा ‘हडचुर’ भनेर चिनिने वनस्पतिसम्बन्धी ज्ञान पनि स्थानीय उपचार परम्पराको हिस्सा हो । यस्ता अभ्यासको ऐतिहासिक महत्व अभिलेखित गर्नुपर्छ, तर गम्भीर चोटपटकमा आधुनिक चिकित्सकीय परीक्षण र उपचारको विकल्पका रूपमा प्रस्तुत गर्नुहुँदैन ।
रैथाने नश्लको क्षयीकरण
आधुनिकीकरणको प्रभाव वनस्पतिमा मात्र सीमित छैन । स्थानीय पशुपन्छीका नश्ल र तिनलाई पाल्ने परम्परागत प्रणालीमा समेत परिवर्तन आएको छ । पूर्वी पहाडका कतिपय समुदायमा पालिने सानो कदका स्थानीय सुँगुर, जङ्गलछेउ विचरण गर्ने लुइँचे र रैथाने साकिनी कुखुरा स्थानीय हावापानी, आहार र पालन प्रणालीसँग अनुकूलित हुँदै आएका छन् । तिनको तुलनामा व्यावसायिक रूपमा पालिने विदेशी वा उन्नत जातका पशुपन्छीको विस्तारले स्थानीय नश्ल संरक्षणमा चुनौती सिर्जना गर्न सक्छ तर कुनै नश्ल लोप प्रायः भइसकेको वा त्यसको रोगप्रतिरोधी क्षमता समाप्त भएको निष्कर्ष निकाल्न जनसङ्ख्या, प्रजनन् र आनुवंशिक विविधतासम्बन्धी तथ्याङ्क आवश्यक हुन्छ ।
स्थानीय नश्लको उपयोगिता पहिचान गर्दै वैज्ञानिक प्रजनन्, उचित पालन र जैविक विविधताको संरक्षणलाई सँगसँगै अघि बढाउनु हो । स्थानीय नश्ल गुम्दै जानु भनेको भविष्यमा उपयोगी हुन सक्ने आनुवंशिक स्रोत र खाद्य प्रणालीका विकल्प कमजोर हुनु पनि हो ।
हामीले आधुनिक हुनुको अर्थ आफ्ना सबै रैथाने आधार भत्काउनु ठानेका छौँ कि भन्ने प्रश्न गम्भीर छ । एउटा संस्कृति कमजोर हुँदा त्यससँग जोडिएको वनस्पतिको संरक्षण, त्यसको उपयोगसम्बन्धी ज्ञान र समुदायको स्वावलम्बी अर्थतन्त्र पनि प्रभावित हुनसक्छ ।
परम्परागत औषधीय ज्ञान र रैथाने सीपको संरक्षण गर्नुको अर्थ वैज्ञानिक रूपमा प्रमाणित आधुनिक चिकित्सा पद्धति र प्रविधिको उपयोग नगर्नु होइन ।
हामीले आज संरक्षण गर्न सकेनौँ भने भोलिका पुस्ताले आफ्नै आँगन, वनजङ्गल र खर्कमा विकसित भएको ज्ञानसँगको सम्बन्ध गुमाउन सक्छन् । त्यसैले वनस्पति र जडीबुटी जोगाउनु भनेको विगतको सम्झनामात्र जोगाउनु होइन, भावी पुस्ताले पनि तिनको पहिचान, उपयोग र सम्भावित लाभबारे जान्न, अध्ययन गर्न र आवश्यकताअनुसार उपयोग गर्न पाउने आधार सुरक्षित गर्नु हो । (रासस)
(लेखक रैथाने बाली संरक्षण अभियानमा क्रियाशील छन् ।)