काठमाडौं। नेपाली मौलिक खानाको संरक्षण, प्रवद्र्धन तथा परम्परागत कला, संस्कृति र पाककलाको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो सेलरोटी बनाउने प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको प्राङ्गणमा आयोजित प्रतियोगितामा २१ जना प्रतियोगीले उत्साहजनक सहभागिता जनाएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री माननीय राजेन्द्र प्रजापति प्रमुख अतिथिका रूपमा उपस्थित थिए । हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन ट्रिनिटी इभेन्ट्स एन्ड मिडिया प्रा.लि. की प्रमुख कार्यकारी अधिकृत (सीईओ) सावित्री ढुंगानाले गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पर्यटनमन्त्री राजेन्द्र प्रजापतिले नेपाली मौलिक खानपान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए । सेलरोटी नेपाली समाजको मौलिक पहिचान र संस्कृतिसँग जोडिएको परिकार भएकाले यसको संरक्षण र नयाँ पुस्तामाझ हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ थियो। यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धन तथा नेपाली मौलिक खानाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।
त्यसैगरी कार्यक्रमका सभापति तथा हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाले पहिलो संस्करणको सफलतापछि दोस्रो पटक प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे । उनले नेपाली मौलिक खानाको संरक्षण, परम्परागत सीपको सम्मान र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

साथै प्रतियोगितामा सहभागी भएका सबै प्रतियोगी, सहयोगी संस्था, निर्णायक मण्डल तथा उपस्थित अतिथिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मौलिक र सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम सञ्चालनका क्रममा ट्रिनिटी इभेन्ट्स एन्ड मिडिया प्रा. लि. की प्रमुख कार्यकारी अधिकृत सावित्री ढुंगानाले प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्णायक मण्डल, प्रतियोगी, सहयोगी सरकारी निकाय, साझेदार संस्था तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गरिन् । उनले नेपाली मौलिक खानाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरिन् ।
प्रतियोगितामा उत्कृष्ट सेलरोटी निर्माण गर्ने प्रतियोगीहरूलाई निर्णायक मण्डलको मूल््याङ्कनका आधारमा विजेता घोषणा गरिएको थियो।
प्रतियोगितामा सन्तोषी खरेलले प्रथम स्थान हासिल गर्दै नगद रु. १५,००० सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यसैगरी सुजिता श्रेष्ठले दोस्रो स्थान हासिल गर्दै नगद रु. १०,००० सहित गिफ्ट ह्याम्पर प्राप्त गरिन् । तेस्रो स्थानमा पर्यटक प्रहरी टोलीका टिका खड्का र हिमिला श्रेष्ठ संयुक्त रूपमा विजयी हुँदै नगद रु. ५,००० सहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकको भूमिका शेफ एसोसिएसन नेपालका पूर्व अध्यक्ष तथा अनुभवी पाककला विज्ञहरूले निर्वाह गरेका थिए । निर्णायक मण्डलमा गोविन्द नरसिंह केसी, रत्नबहादुर थापा, रेशमकुमार लामा तामाङ र इङ्वा सुब्बा रहेका थिए । उनीहरूले प्रतियोगीहरूको पाककला, सेलरोटीको स्वाद, बनावट, आकार, रङ तथा समग्र प्रस्तुतिका आधारमा मूल्याङ्कन गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यालयले आर्थिक सहयोग गरेको थियो। त्यसैगरी सफल घिउले उत्सव साझेदारका रूपमा सहकार्य गरेको थियो।
कार्यक्रम आयोजना गर्न नेपाल पर्यटन बोर्डले आफ्नो प्राङ्गण उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेको थियो। प्रतियोगिताका विजेताहरूलाई पर्ल बासमती चामलले चामल उपलब्ध गराएर सहयोग गरेको थियो। कार्यक्रमको अनलाइन टेलिभिजन साझेदारका रूपमा यात्रा अनलाइन टिभी रहेको थियो भने कार्यक्रमको फोटो तथा भिडियो छायाङ्कनको जिम्मेवारी बन्धन प्रोडक्सनले निर्वाह गरेको थियो।
सेलरोटी नेपाली चाडपर्व, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक परिकार हो। यसको संरक्षण र प्रवद्र्धनसँगै परम्परागत पाककलालाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने, स्थानीय उत्पादनको महत्व उजागर गर्ने तथा नेपाली खानालाई पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
पहिलो संस्करणको सफलतापछि दोस्रो पटक आयोजना गरिएको यस प्रतियोगिताले नेपाली मौलिक खानाको पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ। यस्ता कार्यक्रमले नेपाली संस्कृति, परम्परा, सीप र पाककलाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम हिमालयन कम्युनिटी प्रोजेक्ट र ट्रिनिटी इभेन्ट्स एन्ड मिडिया प्रा. लि. को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम सफल बनाउन आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्ने सम्पूर्ण सरकारी निकाय, संघसंस्था, साझेदार, सहयोगी, निर्णायक, प्रतियोगी तथा उपस्थित महानुभावहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।