नेपाली समाज विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध छ । हाम्रा चाडपर्व र संस्कृतिका आ–आफ्नै मौलिकता र विशेषता छन् । विभिन्न चाडपर्वले नेपाली समाजको एकता, भाइचारा, मित्रता र आपसी सद्भावलाई बलियो बनाउँदै आएका छन् । चाडपर्व केवल धार्मिक आस्था र परम्परा निर्वाह गर्ने अवसर मात्र होइनन्, परिवार तथा समुदायबीचको सम्बन्ध नवीकरण गर्ने र आपसी मनमुटाव हटाउने माध्यम पनि हुन् । त्यसैले हाम्रा चाडपर्वले समाजमा विद्यमान असमझदारी र विभाजनलाई कम गर्दै सहिष्णुता र एकताको भावना विकास गर्न महŒवपूर्ण भूमिका खेल्न सक्छन् ।
दशैँलगत्तै नेपालीका घरआँगनमा आउने तिहार खुसी, उमङ्ग, उज्यालो र आत्मीयताको पर्व हो । पाँच दिनसम्म मनाइने यमपञ्चकअन्तर्गत काग, कुकुर, गाई, गोरु र भाइटीकाको विशेष महत्त्व छ । यस पर्वले मानिस र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्छ । कागलाई सन्देशवाहक, कुकुरलाई रक्षक, गाईलाई समृद्धिको प्रतीक र गोरुलाई कृषि कर्मको सहयोगीका रूपमा सम्मान गर्ने परम्पराले जीवजन्तुप्रतिको प्रेम र प्रकृतिसँगको सहअस्तित्वको सन्देश दिन्छ । यस अर्थमा तिहार मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई सम्मान गर्ने पर्व पनि हो ।
भाइटीका तिहारको प्रमुख आकर्षण हो । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयतालाई प्रगाढ बनाउने यस परम्पराले पारिवारिक सम्बन्धको महŒव स्मरण गराउँछ । दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने तथा दाजुभाइले पनि दिदीबहिनीको सम्मान र सुरक्षाप्रति प्रतिबद्धता व्यक्त गर्ने चलनले पारस्परिक जिम्मेवारीको भावना विकास गर्छ । यसको सन्देश पारिवारिक सम्बन्धमा मात्र सीमित छैन, महिला र पुरुषबीच समान सम्मान, सुरक्षा र अवसर सुनिश्चित गर्नुपर्ने सामाजिक दायित्वसमेत यसले स्मरण गराउँछ ।
तिहारको धार्मिक र सांस्कृतिक महŒवसँगै आर्थिक पक्ष पनि जोडिएको छ । बाली भिœयाउने समयमा आउने यो पर्वले किसानको परिश्रम र उत्पादनको खुसीलाई प्रतिबिम्बित गर्छ । लक्ष्मीपूजाका माध्यमबाट धन, सम्पत्ति र समृद्धिको कामना गरिन्छ । घरआँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने र फूलमालाले सजाउने परम्पराले सकारात्मकता र समृद्धिको आकांक्षा व्यक्त गर्छ । माटाका दियो, फूलमाला, मिठाई र स्थानीय उत्पादनको कारोबार बढ्ने भएकाले तिहारले किसान, साना व्यवसायी र घरेलु उद्यमीलाई समेत आर्थिक गतिविधिमा जोड्छ । यसले स्थानीय बजारलाई चलायमान बनाउन सहयोग गर्छ ।
देउसीभैलो तिहारको अर्को महŒवपूर्ण सांस्कृतिक पक्ष हो । घरघर पुगेर गीत गाउने, नाच्ने र शुभकामना आदानप्रदान गर्ने परम्पराले समुदायबीच आत्मीयता बढाउँछ । लोकगीत, लोकभाका र नृत्यको संरक्षण गर्दै नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न पनि यसले सहयोग गर्छ । त्यस्तै, नेवार समुदायको म्हःपूजाले आफ्नो अस्तित्व र जीवनको सम्मान गर्नुपर्ने सन्देश दिन्छ भने नेपाल संवत्को नयाँ वर्षले ऐतिहासिक पहिचान र सांस्कृतिक गौरवलाई स्मरण गराउँछ । तिहारलगत्तै मनाइने छठ पर्वले पनि प्रकृति र सूर्यप्रतिको कृतज्ञता व्यक्त गर्छ । यी विविध परम्पराले नेपाली समाजको बहुसांस्कृतिक पहिचान र सहअस्तित्वलाई बलियो बनाएका छन् ।
अहिले नेपाली राजनीति र समाजमा विश्वासको संकट देखिएको छ । जेनजी आन्दोलनपछि नयाँ र पुराना राजनीतिक शक्तिबीच अविश्वास, असमझदारी र मतभेद बढेका छन् । लोकतान्त्रिक समाजमा सबै पक्षको भूमिका र महŒव हुन्छ । विचार र दृष्टिकोण फरक हुन सक्छन्, तर असहमतिका बीच पनि संवाद र सहकार्यको बाटो खुला राख्नुपर्छ । आरोप–प्रत्यारोप र निषेधको राजनीतिले समाजलाई विभाजनतर्फ लैजान्छ । मुलुकलाई अघि बढाउने आधार आपसी विश्वास, समझदारी र साझा राष्ट्रिय हित नै हो ।
यस्तो अवस्थामा तिहारजस्ता चाडपर्वले सामाजिक तथा राजनीतिक दूरी घटाउन सहयोग गर्न सक्छन् । चाडपर्वका अवसरमा राजनीतिक दल तथा विभिन्न संघसंस्थाले आयोजना गर्ने चियापान, भेटघाट र शुभकामना आदानप्रदानका कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित राख्नुहुँदैन । यस्ता अवसरलाई फरक विचार राख्नेहरूबीच संवाद र समझदारी बढाउने माध्यम बनाउन सकिन्छ । समाजमा अहिले संवाद र मित्रताको खडेरी देखिएको छ । यसलाई अन्त्य गर्न राजनीतिक नेतृत्वदेखि आम नागरिकसम्म सबैले पहल गर्नुपर्छ ।
तिहारको वास्तविक खुसी तडकभडक र अनावश्यक खर्चमा होइन, परिवार, आफन्त, छिमेकी र समुदायसँग बाँडिने आत्मीयतामा हुन्छ । आर्थिक अवस्था कमजोर भएका तथा असहाय नागरिकलाई पनि चाडपर्वको खुसीमा सहभागी गराउनु हाम्रो सामाजिक दायित्व हो । यस वर्षको तिहारले नेपाली समाजमा व्याप्त अविश्वास, असमझदारी र मनमुटाव हटाउँदै आपसी सद्भाव र एकता बढाउन प्रेरणा प्रदान गरोस् । हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै राजनीतिक तथा सामाजिक सबै पक्षबीच संवाद र सहकार्यको वातावरण निर्माण होस् । तिहारको उज्यालोले हरेक नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् । सम्पूर्ण नेपालीमा तिहारको हार्दिक मंगलमय शुभकामना ।