नेभिगेशन
दृष्टिकोण

चुनावमार्फत् अमेरिकी नागरिकको सन्देश

अमेरिकामा गत मंगलबार अर्थात् नोभेम्बर ३ तारिखका दिन भएको मिड टर्म निर्वाचनको नतिजाले विश्व तरंगित भयो । विश्वको महाशक्ति राष्ट्रमा मतपत्रमार्फत् नागरिकले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्षमा नै ऐतिहासिक परिवर्तनका लागि सन्देश सम्प्रेषण गरे ।
त्यसैले उहाँको दलले नियन्त्रण गर्दै आएको सिनेट र कंग्रेस ( तल्लो सदन)लाई विपक्षी अर्थात् डेमोक्र्याट पार्टीको पोल्टामा पु¥याइदिए । उक्त दिन भएको निर्वाचनलाई केही विश्लेषकहरूले ब्लु वेभ अर्थात् निलो बाढी भने तापनि यो राजनीतिक सुनामी थियो । किनकि ४५ सिट लिएर सिनेटमा खुम्चिएको डेमोक्र्याट पार्टीले २० प्रतिशत थप सिट जितेर आफूलाई ५४ सिटसहित बहुमत हासिल गर्न सफल भयो । उता तल्लो सदनमा यो लेख तयार पार्दासम्म २३७ सिट जितेर डेमोक्र्याट पार्टीले बर्चस्व कायम गरेको छ । अब अमेरिकाको सरकार सञ्चालनमा नयाँ तर विभाजित युगको प्रारम्भ भएको छ ।
आगामी जनवरीमा जब यी निर्वाचित जनप्रतिनिधिहरूले वासिङ्टन डिसीमा शपथ ग्रहण गरेर कार्यभार सम्हाल्नेछन् त्यसपछि सरकार र कंग्रेसबीच विविध विषयमा कडा टकराव हुन सक्छ ।
वास्तवमा भन्ने हो भने अमेरिकामात्र विश्वको यस्तो एउटा देश हो, जहाँ नागरिकले दल या पार्टीको उम्मेदवारलाई एजेण्डामा मतदान गर्छन् र अनेकन प्रक्षेपणहरूलाई माथ खुवाउने गर्छन् । राजनीतिमा चासो राख्ने पचास प्रतिशतभन्दा कम मतदाताले ब्यालेटमार्फत् राजनीतिज्ञहरूलाई सचेत गराउँछन्, सुधार गर्न सन्देश दिन्छन् र उनीहरूको राज्य सत्तामाथिको पकडलाई हरेक दुई–चार वर्षको अवधिमा मज्जाले किनारा लगाइदिन्छन् ।
यसपटक मतदानमार्फत् अमेरिकीको चुलोचौकामा आइपुगेको चर्को मूल्यवृद्धिको मूल्य रिपब्लिकन पार्टीले चुकाउनुप¥यो । डेमोक्र्याट पार्टीको चुनावी अभियानका बेलामा यसलाई उच्च प्राथमिकताका साथ प्रचार गरिएको थियो । अमेरिकाका सचेत मतदाताले ग्यासको मूल्य बढेको केवल बोर्डहरूमा मात्र हेरेका थिएनन्, उनीहरूको वालेटमा पनि त्यसले गम्भीर असर गरिरहेको थियो । त्यसैले उनीहरूले मतदानमार्फत् आफनो एजेण्डालाई अनुमोदन गरिदिए ।
राजनीति शास्त्रका अध्येताहरूले अमेरिकाको चुनावका बारेमा समीक्षा गर्दा सधँै भन्ने गर्दथे, मिड टर्म चुनावमा ह्वाइट हाउसमा बस्नेका विरुद्धमा नागरिकले मत जाहेर गर्दै आएका छन् । त्यो कुरालाई आत्मसात गर्ने हो भने यसपटकको चुनावलाई आश्चर्य मान्नुपर्ने कारण थिएन्, तर जुन संख्याका आधारमा सिनेट र कंग्रेसमा डेमोक्र्याट पार्टीले बर्चस्व कायम गरेको छ । त्यो केवल राजनीतिक समीक्षात्मक टिप्पणीमात्र हुन सक्दैन ।
कार्यकारी राष्ट्रपतिमाथि अंकुश 
अमेरिकाको प्रजातान्त्रिक अभ्यासमा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यकारी अधिकार राष्ट्रपतिमा निहित छ । राष्ट्रपतिको असीमित अधिकार भएकाले केही राजनीतिक टिप्पणी गर्नेहरूले निर्वाचित राजाको संज्ञा पनि दिन्छन् । तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको विषयमा एकअर्काको कार्यसम्पादनले शक्ति पृथकीकरण र सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिन्छ । कतिपय अवस्थामा कार्यकारी अधिकार उपयोग गर्न खोज्ने राष्ट्रपतिलाई विधिसम्मत प्रक्रिया नअपनाउने हो भने अधिकार सीमित गर्न व्यवस्थापिका र न्यायपालिकाले सदैव भूमिका खेलिरहेका हुन्छन् । तर, त्यसलाई भिटोमार्फत् आफ्नो कामका बारेमा निर्धक्क काम गर्न भने सक्छन् ।
चुनावमा जस्तो नतिजा आए पनि सरकार सञ्चालन र विभिन्न प्रक्रियामा डेमोक्र्याट र रिपब्लिकन पार्टीबीच सहकार्यको खाँचो रहन्छ । सबैभन्दा महत्वपूर्ण पाटो भनेको सरकार सञ्चालनका लागि आवश्यक कोषको विषयमा दुई दलले सहकार्य नगरी सुखै छैन । त्यसैगरी कतिपय नियुक्तिहरूमा ह्वाइट हाउसले छनोट गरेका व्यक्तिहरूलाई सिनेटले अनुमोदन नगरेको खण्डमा अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने हुन्छ । त्यसैगरी रिपब्लिकन पार्टी र डेमोक्र्याटबीच केही विषयहरूमा चर्को मतभेद रहेको छ । खासगरी युनिभर्सल हेल्थ केयर, गन कन्ट्रोल, इरान वार जस्ता विषयहरू उनीहरूका बीचमा मध्यस्थता गरेर मिलन बिन्दुका लागि सिनेट र कंग्रेसले निकै कसरत गर्नुपर्ने देखिन्छ ।
अर्कोतर्फ आप्रवासन नीतिको विषयमा विगत केही वर्षदेखि राष्ट्रपति ट्रम्पको कार्यसम्पादनलाई डेमोक्र्याटहरूले संविधान विरोधी भन्दै आलोचना गर्दै आएका छन्, यी विषयमा कंग्रेसले ल्याउने विलमा ह्वाइट हाउसको विमति भएको खण्डमा त्यसमा राष्ट्रपतिको असीमित अधिकारमध्ये भिटोको प्रयोग ऐतिहासिक रूपमा नै रेकर्ड कायम हुने सम्भावना रहेको छ ।
निर्वाचनका रोचक पक्ष
यसपटकको निर्वाचनमा रोचक पक्षका रूपमा टेक्सासको निर्वाचनलाई हेरिएको छ । त्यहाँ सन् १९८८ पछि पहिलोपटक डेमोक्र्याट पार्टीकी गिना हिनोजोशाले गभर्नरमा विजय हात पारिन् । तीनपटकसम्म गभर्नर बनिसकेका रिपब्लिकन पार्टीका ग्रिग एवोटलाई हराउन सफल भइन् ।
कन्सास राज्यमा सन् १९३० पछि पहिलोपटक डेमोक्र्याट पार्टीले सिनेटमा जित हासिल गर्न सफल भएको छ । जहाँ एडम हेमिल्टनले ऐतिहासिक रेकर्ड तोड्न सफल भएका छन् ।
मिचिगनमा अब्दुल अल शैयदले सिनेटरमा जित हासिल गरेर पहिलो मुसलमान सिनेटर बन्न सफल भएका छन् ।
अर्कोतर्फ रेड स्टेट अर्थात् रिपब्लिकनहरूको बर्चस्व रहेका राज्यहरूमा भूगोल वर्गीकरण (रिडिष्ट्रिकिङ) गरेर आफ्नो सिट सुरक्षित गराउन अनेक प्रयत्न गरिएको थियो । तर, नागरिकको ब्यालेट विद्रोहका अगाडि कुनै कुराले अर्थ राखेन ।
साउथ क्यारोलिनालाई रिपब्लिकनको महत्वपूर्ण राज्यका रूपमा लिइएको थियो, तर त्यहाँ पनि पार्टीले आफ्नो साख जोगाउन सकेन ।
डेमोक्र्याट पार्टीले सानदार विजय हासिल गर्दै टेक्सास, आइओवा, ओहायो, मेन जस्ता राज्यहरूमा निलो झण्डा गाड्न सफल भएको छ ।  
नेपालीहरूको जित
अमेरिकाको मूलधारको राजनीतिमा नेपालीहरूको सहभागिता तीव्र गतिमा बढ्दै गइरहेको देखिन्छ । दुवै पार्टीमा रजिष्टर्ड भोटरका रूपमा नेपालीहरूको सहभागिता रहेको छ । उनीहरूले आफ्नो रुचिअनुसारको दललाई मतदान गर्ने, प्रचारप्रसारमा सहयोग गर्ने र डोनेसन समेत गर्ने गर्छन् । तर, अधिकांश आप्रवासीका विषयमा अलि उदार मानिएको डेमोक्र्याटिक दलसँग नेपालीहरूको सामिप्यता बढेको देखिन्छ ।
यसपटकको निर्वाचनमा चार जना नेपालीहरू निर्वाचित भएका छन् । जसमा डा. ह्यारी भण्डारी अग्रपंक्तिमा आउनुहुन्छ । उहाँ यसपटक मेरिल्याण्ड राज्यको विधानसभाको चारवर्षे कार्यकालका लागि तेस्रोपटक जित हात पार्न सफल हुनुभएको छ । उहाँ मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीअन्तर्गत डिष्ट्रिक ८ बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ
एक राज्य सांसदका रूपमा विगत आठ वर्षमा उहाँले विभिन्न विषयमा दुई दर्जन विधेयक लेखेर, संसद्को कमिटी र प्लोरमा प्रस्तुत गरेर पास गरी कार्यान्वयनमा पठाउनसमेत सफल भइसक्नुभएको छ ।
भण्डारी अमेरिकाको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली जनप्रतिनिधि भएर पनि उहाँले नेपाली अमेरिकनलाई मूलधारको राजनीतिमा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँपछि उम्मेदवार बनेकाहरूले पनि उहाँलाई पछ्याएको देखिन्छ ।
यसैगरी न्युयोर्कको एसेम्बलीमा डिष्ट्रिक १०३ बाट सन् २०२२ मा पहिलोपटक निर्वाचित जनप्रतिनिधि बन्न सफल हुनुभएकी सराहाना श्रेष्ठ पनि तेस्रो कार्यकालका लागि निर्वाचनमा विजयी हुनुभएको छ । उहाँको कार्यकाल दुई वर्षको रहन्छ । अर्थात् दुई वर्षपछि निर्वाचन हुने प्रावधान रहेको छ ।
न्यू ह्याम्पसायर हाउस अफ रिप्रिजेन्टेटिभमा हिल्स वोरो ४१ क्षेत्रबाट विश्वबहादुर शाहले जित हासिल गर्नुभएको छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचित भएपछि दुई वर्षको कार्यकाल बित्दै गर्दा हुने निर्वाचनलाई मिड टर्म निर्वाचन भन्ने गरिन्छ । यसरी कार्यकालको बीचमा हुने निर्वाचनले बहालवाला राष्ट्रपतिले गरेका कामको नागरिकले सही तरिकाले मूल्यांकन गर्ने गर्छन् । यसपटक सन् २०२४ मा दोस्रोपटक जित हासिल गरेर ह्वाइट हाउसको यात्रामा रहनुभएका राष्ट्रपतिको कार्यसम्पादनलाई नागरिकले अस्वीकृत गरेका छन् ।
अमेरिकामा हरेक दुई वर्षमा मिड टर्म चुनाव र हरेक चार वर्षमा राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । आगामी २०२८ मा डेमोक्र्याट पार्टीको राष्ट्रपति बन्ने आँकलनका साथ यसपटकको निर्वाचनलाई उत्साहका साथ डेमोक्र्याट पार्टीका नेतृत्व पंक्तिले थप रणनीति अंगीकार गर्ने अपेक्षा गरिएको छ ।
यसपटक नागरिकले शान्त तरिकाले ब्यालेटमार्फत् सरकारको कार्यशैलीलाई अस्वीकृतमात्र गरेका छैनन्, भविष्यमा काम नगर्ने तर वाचामात्र गर्ने दलका लागि गतिलो सबकसमेत सिकाएका छन् ।
अन्त्यमा, आशा गरौं विश्वको महाशक्ति राष्ट्र अमेरिकामा नागरिकले दिएको म्याण्डेटअनुसार काम गर्ने प्रेरणा निर्वाचित जनप्रतिनिधिहरूलाई मिलोस् । अन्यथा सन् २०२८ को निर्वाचन त्यति टाढा भने छैन ।
(अधिकारी अमेरिकाको वासिङ्टन डिसीमा पत्रकारितामा आबद्ध छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण