केही वर्षअघिसम्म नेपालको तराई तथा भारतका केही क्षेत्रमा विशेष उत्साहका साथ मनाइने छठ पर्व अहिले राजधानी काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा समेत व्यापक रूपमा मनाउन थालिएको छ । कुनै समय खास समुदाय र भूगोलमा सीमित यो पर्व आज धार्मिक आस्था, सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । सूर्यको उपासना गरी मनाइने छठलाई छैठ, छठी, दिनकर, दिनानाथ तथा छइठलगायत नामले पनि चिनिन्छ ।
तराईका सबै गाउँ, सहर, टोलका विभिन्न जलाशय, नदी तथा पोखरीमा यस वर्ष पनि छठ पर्व श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाउन लागेको छ । उपत्यकाको कमलपोखरी, बागमती नदी, मनहरा खोला, धोबी खोला, गोदावरी खोला, कर्मनासा खोलालगायत विभिन्न स्थानमा भक्तजनले सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा छ ।
दसैँ र तिहारपछिको यो महत्वपूर्ण पर्वले प्रकृति, जल, पृथ्वी, सूर्य र मानव जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ । छठ केवल धार्मिक कर्मकाण्डमा सीमित पर्व होइन, यो प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने, आत्मअनुशासन सिकाउने, परिवारको सुख–शान्तिको कामना गर्ने र समाजलाई स्वच्छता तथा समानताको बाटोमा अघि बढ्न प्रेरित गर्ने जीवनदर्शनको पनि पर्व हो ।
चार दिनको छठ व्रतः आत्मशुद्धि, अनुशासन र समर्पण
छठ पर्व मुख्यतः वर्षको दुईपल्ट चैत र कात्तिकमा मनाउने महान् पर्व हो । चैत र कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ । यसको प्रत्येक दिनको आफ्नै धार्मिक, सामाजिक र आध्यात्मिक महत्व छ ।
पहिलो दिनः नहाय–खाय
कात्तिक शुक्ल चतुर्थीका दिन व्रतालुले बिहानै उठेर घर, आँगन र पूजास्थल सफा गर्छन् । नदी, पोखरी वा अन्य स्वच्छ जलाशयमा स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन् । यस दिनदेखि व्रतालुले शारीरिक, मानसिक र वातावरणीय शुद्धतालाई विशेष महत्व दिन्छन् । सात्विक भोजन, स्वच्छता र संयमको अभ्यासले व्रतको प्रारम्भ गराउँछ ।
दोस्रो दिनः खरना
पञ्चमीका दिन व्रतालुले दिनभरि उपवास बसी साँझ स्नान गरी पूजा गर्छन् । त्यसपछि सख्खर वा गुडबाट बनाइएको खीर, रोटी, केरा तथा अन्य शुद्ध प्रसादले भगवान्लाई पूजा गरी प्रसाद ग्रहण गरिन्छ । प्रसाद परिवारका सदस्य र छरछिमेकमा पनि बाँडिन्छ । यस दिनदेखि मुख्य निर्जला व्रतको सङ्कल्प सुरु हुन्छ ।
तेस्रो दिनः सन्ध्या अघ्र्य
षष्ठीका दिन छठ पर्वको मुख्य पूजा गरिन्छ । व्रतालुले दिनभरि अन्न र पानीसमेत ग्रहण नगरी निराहार व्रत बस्ने परम्परा छ । साँझपख माटोबाट बनेको सामग्री दियो, कुरबार, हाथी ढक्ना, बाँसको सुप, डाला वा टोकरीमा ठेकुवा, कसार, उखु, नरिवल, केरा, पान, सुपारी, अक्षता, सिन्दुर केराउ, अदुवा, बेसार, फलफूल मिठाई तथा अन्य पूजासामग्री राखेर नदी, पोखरी वा जलाशयको घाटमा पुगिन्छ । जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ ।
राति घाटमा छठका परम्परागत लोकगीत, भजन, धार्मिक सांस्कृतिक कार्यक्रम तथा कीर्तन गाइन्छ । मैथिली लोकसंस्कृतिमा छठ गीतको विशेष स्थान छ । यस्ता गीतमा छठी माताप्रतिको श्रद्धा, सन्तानप्रतिको माया, पारिवारिक सम्बन्ध, वैवाहिक जीवन र सामाजिक सद्भावका भावहरू अभिव्यक्त हुन्छन् ।
लोकगीतको एउटा भावपूर्ण पङ्क्तिः
“हात जोड़ी छठी मइया के करबै पूजनमा,
छठी मइया पुरैथिन सबके मनोकामना ।”
“उगु हे सुरुज देव, भइल अरघके बेर, छठी मइया राखू सबपर कृपादृष्टि घनेर”
यस्ता लोकगीतले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भोजपुरी, मैथिली र अवधी तथा मिथिलाले यस संस्कृतिको मौलिकता जोगाइराखेका छन् ।
चौथो दिनः उषा अघ्र्य तथा पारायण
सप्तमीका दिन बिहानै व्रतालुहरू पुनः घाटमा पुग्छन् । या रातभरि त्यहीँ बस्छन् । उदाउँदो सूर्यलाई जल, दूध तथा पूजासामग्रीसहित अघ्र्य अर्पण गरी पूजा सम्पन्न गर्छन् । त्यसपछि छठी माताको स्मरण गर्दै प्रसाद ग्रहण गरी व्रतको पारायण गरिन्छ । प्रसाद परिवार, आफन्त, छिमेकी र अन्य भक्तजनलाई बाँडिन्छ ।
छठको प्रसादमा विशेषगरी शुद्ध घिउ, गहुँको पिठो र गुडबाट बनाइने ठेकुवा तथा चामलको पिठोबाट बनाइने कसारको विशेष महत्व हुन्छ । साथै उखु, केरा, नरिवल, अदुवा, बेसार, मौसमी फलफूल तथा अन्य स्थानीय कृषि उत्पादन पनि चढाइन्छ । त्यसैगरी बाँस र माटोबाट बनेको सामग्री बढी प्रयोग गरिन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यको पूजाः समानताको महान् सन्देश
छठ पर्वको सबैभन्दा सुन्दर र गहिरो दार्शनिक पक्ष अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्नु हो । सामान्य सामाजिक व्यवहारमा मानिसहरू उदाउँदो सूर्य अर्थात् सफल, शक्तिशाली र प्रतिष्ठित व्यक्तिको सम्मान गर्न अघि सर्छन् । तर अस्ताउँदो सूर्य अर्थात् कमजोर, असहाय वा कठिन अवस्थामा पुगेका व्यक्तिलाई बेवास्ता गर्ने प्रवृत्ति पनि समाजमा देखिन्छ ।
छठले भने अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धापूर्वक अघ्र्य अर्पण गर्न सिकाउँछ । यसले मानिसको मूल्य उसको वर्तमान पद, प्रतिष्ठा, सम्पत्ति वा शक्तिले मात्र निर्धारण हुँदैन भन्ने सन्देश दिन्छ । जीवनमा सुख–दुःख, सफलता–असफलता र उतारचढाव स्वाभाविक छन् । त्यसैले प्रत्येक व्यक्तिप्रति समान सम्मान, सहानुभूति र मानवीय व्यवहार हुनुपर्छ ।
सूर्यले धनी–गरिब, जात–जाति, भाषा, धर्म र भूगोलका आधारमा कुनै भेदभाव नगरी सबैलाई प्रकाश र ऊर्जा दिन्छ । यही प्राकृतिक समानताको सिद्धान्तलाई छठ पर्वले सामाजिक जीवनमा उतार्न प्रेरित गर्छ । महिला र पुरुष दुवैले व्रत गर्न सक्ने यस पर्वले पारिवारिक सहभागिता र सामूहिक उत्तरदायित्वलाई पनि बलियो बनाएको छ ।
छठ पर्वको वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी महत्व
छठ पर्वको धार्मिक महत्वसँगै वैज्ञानिक र पर्यावरणीय पक्ष पनि उत्तिकै महत्वपूर्ण छन् । सूर्य पृथ्वीमा ऊर्जा र प्रकाशको प्रमुख प्राकृतिक स्रोत हो । सूर्यको प्रकाशमा रहेको पराबैजनी किरणको एक प्रकार यु. भी. पी. को सम्पर्कबाट मानव शरीरमा भिटामिन डी निर्माण हुन्छ । भिटामिन डीले हड्डी तथा मांसपेशीको स्वास्थ्य र क्याल्सियमको अवशोषणमा सहयोग गर्छ ।
यसैले सूर्यको प्रकाशसँग मानव स्वास्थ्यको सम्बन्ध वैज्ञानिक रूपमा प्रमाणित छ । तर बिहान वा साँझको सूर्यबाट पर्याप्त भिटामिन डी प्राप्त हुन्छ भन्ने निश्चित हुँदैन । यो स्थान, मौसम, छालाको प्रकार र सूर्यको उचाइअनुसार फरक पर्छ । त्यसैले छठको धार्मिक उपासनालाई भिटामिन डी उपचारको विकल्पका रूपमा लिनुहुँदैन । सूर्यलाई प्रत्यक्ष एकटक हेर्नु पनि आँखाका लागि जोखिमपूर्ण हुन सक्छ ।
छठमा अपनाइने स्वच्छता, शुद्ध भोजन र व्यवस्थित दिनचर्याले स्वास्थ्यप्रति सचेत गराउँछ । पूजा सामग्री तयार गर्दा सरसफाइमा ध्यान दिने, घर तथा घाट सफा गर्ने, शुद्ध पानी प्रयोग गर्ने र खाद्य पदार्थलाई सुरक्षित राख्ने अभ्यास जनस्वास्थ्यका दृष्टिले पनि उपयोगी छन् ।
तर निर्जला व्रत सबैका लागि समान रूपमा सुरक्षित हुँदैन । लामो समयसम्म पानी नपिउँदा शरीरमा पानीको मात्रा घटेर निर्जलीकरण हुन सक्छ । अत्यधिक कमजोरी, चक्कर लाग्ने, बेहोस हुने, पिसाब कम हुने तथा अन्य समस्या देखिन सक्छन् । गर्भवती महिला, स्तनपान गराइरहेका महिला, बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था विचार नगरी कठोर उपवास गर्नु हुँदैन। आवश्यक परे स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । धर्मको मूल उद्देश्य जीवनको कल्याण हो, त्यसैले स्वास्थ्य सुरक्षालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।
छठ पर्व र पर्यावरण संरक्षणको सन्देश
छठ पर्वको अर्को महत्वपूर्ण विशेषता प्रकृतिसँग यसको प्रत्यक्ष सम्बन्ध हो । सूर्यको पूजा जलाशयको किनारमा गरिन्छ । जल, पृथ्वी, वनस्पति, फलफूल, बाँस र स्थानीय कृषि उत्पादन यस पर्वका अभिन्न अङ्ग हुन् । यसले मानव जीवन प्रकृतिबिना सम्भव छैन भन्ने सन्देश दिन्छ ।
तर विडम्बना, हामी सूर्य र जलको पूजा त गर्छौँ, तर कतिपय स्थानमा नदी, खोलानाला र पोखरीलाई फोहोर बनाउने, प्लास्टिक तथा पूजासामग्री जथाभावी फाल्ने र जलस्रोत अतिक्रमण गर्ने प्रवृत्ति पनि देखिन्छ । पूजा गरिने जलाशय नै प्रदूषित भएमा हाम्रो धार्मिक आस्थाको वास्तविक उद्देश्य पूरा हुन सक्दैन ।
त्यसैले छठलाई केवल पूजा र उत्सवमा सीमित नराखी नदी, पोखरी, तालतलैया तथा सार्वजनिक जलाशय संरक्षण गर्ने अभियानसँग जोड्न आवश्यक छ । जैविक प्रसाद प्रयोग गर्ने, प्लास्टिकको प्रयोग घटाउने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने र पूजा सम्पन्न भएपछि घाट सफा गर्ने संस्कार विकास गर्नुपर्छ ।
छठको वास्तविक आध्यात्मिकता प्रकृतिलाई सम्मान गर्नु, जलस्रोत जोगाउनु र भावी पुस्ताका लागि स्वच्छ वातावरण हस्तान्तरण गर्नुमा पनि निहित छ ।
छठ पर्वको विकासमा तीनै तहका सरकारको भूमिका
नेपालको संविधानले स्थानीय, प्रदेश र संघीय सरकारलाई आ–आफ्नो अधिकार क्षेत्रभित्र विकास, संस्कृति, वातावरण र सार्वजनिक सेवासम्बन्धी जिम्मेवारी दिएको छ । छठ पर्वलाई व्यवस्थित, सुरक्षित र पर्यावरणमैत्री बनाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ ।
संघीय सरकारको भूमिकाः संघीय सरकारले छठ पर्वको इतिहास, धार्मिक विधि, लोकगीत तथा सांस्कृतिक परम्पराको राष्ट्रियस्तरमा अभिलेखीकरण र संरक्षण गर्नुपर्छ । प्रमुख छठ घाटको विकास, जलाशय संरक्षण, सुरक्षा तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीति र बजेट व्यवस्था गर्नुपर्छ ।
प्रदेश सरकारको भूमिकाः प्रदेश सरकारले धार्मिक तथा ऐतिहासिक छठ घाटको पहिचान गरी पूर्वाधार विकास, सरसफाइ, खानेपानी, प्रकाश, शौचालय र सुरक्षाको व्यवस्था गर्नुपर्छ । साथै मैथिली, भोजपुरीलगायत स्थानीय भाषा, लोकगीत र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
स्थानीय सरकारको भूमिकाः स्थानीय सरकारले छठअघि नदी, पोखरी र घाटको सरसफाइ, पानीको गुणस्तर परीक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार, एम्बुलेन्स, उद्धार टोली तथा भीड व्यवस्थापनको व्यवस्था गर्नुपर्छ। स्थानीय समुदाय, युवा क्लब र धार्मिक संस्थासँग सहकार्य गरी पर्वलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउनुपर्छ ।
यसरी तीनै तहका सरकारले समन्वय र सहकार्य गरेमा छठ पर्वको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बढ्नुका साथै वातावरण संरक्षण, स्थानीय अर्थतन्त्र र सामाजिक सद्भावसमेत बलियो बन्न सक्छ ।
सूर्य उपासनाको आध्यात्मिक तथा शास्त्रीय महत्व
सनातन धर्ममा सूर्यलाई प्रत्यक्ष देवताका रूपमा सम्मान गरिन्छ । पृथ्वीमा जीवनको अस्तित्व सूर्यको प्रकाश र ऊर्जासँग प्रत्यक्ष रूपमा जोडिएको छ । वेदमा सूर्यलाई जगत्को प्रकाशदाता, जीवनको आधार, अन्धकार नाश गर्ने तथा समस्त प्राणीलाई ऊर्जा प्रदान गर्ने देवताका रूपमा स्तुति गरिएको छ ।
ऋग्वेदको प्रसिद्ध गायत्री मन्त्रमा सविता देवताको दिव्य तेजको ध्यान गर्दै हाम्रो बुद्धिलाई सत्कर्म र सद्विचारतर्फ प्रेरित गरून् भन्ने प्रार्थना गरिएको छ ।
ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।।
यस मन्त्रको भावार्थअनुसार हामी सम्पूर्ण जगत्लाई प्रकाश र ऊर्जा प्रदान गर्ने परम दिव्य सविता शक्तिको ध्यान गर्छौँ र उहाँले हाम्रो बुद्धिलाई सत्मार्गमा प्रेरित गरून् भन्ने कामना गर्दछौँ । यसले सूर्य उपासनालाई बाहिरी प्रकाशको आराधनासँगै आन्तरिक चेतना र विवेकको जागरणसँग पनि जोड्छ ।
यजुर्वेदमा सूर्यको महिमा, प्रकृतिका विभिन्न शक्तिहरू तथा विश्वकल्याणको कामनासँग सम्बन्धित मन्त्रहरू पाइन्छन् । सूर्यलाई केवल आकाशमा उदाउने एउटा ज्योति पिण्डका रूपमा नभई समस्त जीवनचक्रलाई सञ्चालन गर्ने प्राकृतिक शक्तिका रूपमा बुझ्न सकिन्छ ।
सनातन परम्परामा सूर्यलाई स्वास्थ्य, तेज, ज्ञान, ऊर्जा र कर्मशीलताको प्रतीक मानिन्छ । दैनिक सूर्य नमस्कार, सूर्यलाई अघ्र्य दिने परम्परा र प्रातःकालीन उपासनाले मानिसलाई नियमितता, अनुशासन तथा प्रकृतिसँग नजिक रहने अभ्यास गराउँछन् ।
त्यस्तै, पुराणहरूमा षष्ठी देवी अर्थात् छठी माताको महिमा वर्णन गरिएको छ । ब्रह्मवैवर्त पुराणको प्रकृतिखण्डमा षष्ठी देवीसम्बन्धी प्रसङ्ग पाइन्छ । लोकआस्थामा छठी मातालाई सन्तानको रक्षा, दीर्घायु, पारिवारिक सुख र समृद्धि प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ ।
छठी माताको पौराणिक कथा
पौराणिक कथाअनुसार राजा प्रियव्रत र रानी मालिनी निःसन्तान थिए । महर्षि कश्यपको सल्लाहमा यज्ञ गरेपछि पुत्र जन्मिए पनि शिशु मृत अवस्थामा थियो । त्यसबेला ब्रह्माकी मानसपुत्री षष्ठी देवी प्रकट भई शिशुलाई जीवन प्रदान गर्नुभयो । उहाँले सन्तानको रक्षा र कल्याण गर्ने वरदान दिनुभयो । त्यसपछि राजा प्रियव्रतले षष्ठी देवीको पूजा गर्न थाले ।
यही धार्मिक आख्यानका आधारमा छठी माताको पूजा सन्तानको दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणका लागि गर्ने परम्परा रहेको विश्वास गरिन्छ ।
महाभारतमा सूर्यदेवसँग सम्बन्धित कर्णको प्रसङ्ग विशेष महत्वपूर्ण छ । कुन्तीले सूर्यदेवको आह्वानबाट कर्णलाई प्राप्त गरेको कथा महाभारतमा वर्णित छ । पाण्डवहरूको वनवासकालमा सूर्यदेवको कृपाबाट युधिष्ठिर र द्रौपदीले अक्षयपात्र प्राप्त गरेको प्रसङ्ग पनि महाभारतको वनपर्वमा उल्लेख छ । यी प्रसङ्गले महाभारत परम्परामा सूर्यको महत्व र जीवन निर्वाहसँग जोडिएको उनको कृपाको धार्मिक अवधारणा स्पष्ट पार्छन् । यद्यपि यी प्रसङ्गलाई आजको छठ व्रतको सम्पूर्ण विधि महाभारतमा नै वर्णित छ भन्ने अर्थमा बुझ्नु हुँदैन ।
रामायण तथा मिथिलाको लोकपरम्परामा पनि सूर्य उपासना र छठसम्बन्धी विभिन्न धार्मिक आख्यान प्रचलित छन् । त्रेतायुगमा भगवान् श्रीराम रावणसँग युद्ध गर्नुभन्दा अगाडि महर्षि कश्यपका अनुसार सूर्य उपासनाको कुरा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी माता सीतासहित सबैजना सकुशल अयोध्या फर्किने बेला यमुना नदीमा सूर्य उपासना गरेको भन्ने कथा लोकविश्वासमा पाइन्छ । यसलाई विशिष्ट लोकपरम्परा र धार्मिक आख्यानका रूपमा बुझ्नु उचित हुन्छ ।
आस्था, विज्ञान, संस्कृति र समानताको साझा पर्व
छठ पर्वले हामीलाई सूर्यको आराधना गर्न मात्र सिकाउँदैन, जीवनका हरेक स्रोतप्रति कृतज्ञ हुन पनि प्रेरित गर्छ । यसले शुद्धता, संयम, अनुशासन, परिवारप्रतिको जिम्मेवारी, सामाजिक सद्भाव, महिला सहभागिता, समानता र प्रकृति संरक्षणको सन्देश दिन्छ ।
आजको आधुनिक समाजमा विज्ञान र अध्यात्मलाई परस्पर विरोधी होइन, एकअर्काका पूरकका रूपमा बुझ्न आवश्यक छ । विज्ञानले सूर्यको प्रकाश र ऊर्जाको महत्व स्पष्ट पार्छ भने अध्यात्मले त्यही प्रकृतिप्रति कृतज्ञता, सम्मान र जिम्मेवारीको भावना विकास गराउँछ ।
छठ पर्वमा व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर जीवनको कठिन अवस्थालाई सम्मान गर्न सिकाउँछन् भने उदाउँदो सूर्यलाई अघ्र्य दिएर नयाँ आशा, उत्साह र सकारात्मक भविष्यको कामना गर्छन् । यही यसको महान् दर्शन हो ।
(लेखक झा पत्रकार एवं साहित्यकार हुन् ।)