नेभिगेशन
प्रदेश

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखले शनिबार दिउँसो १ बजेका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेसँगै विश्वासको मत लिने प्रक्रिया अघि बढेको हो ।
सभामुख रामआशिष यादवले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । बैठकको कार्यसूची तय गर्न शनिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई बैठकको कार्यसूचीमा समावेश गर्नेछ ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कात्तिक आज दिउँसो १ बजेदेखि लागू हुने गरी अधिवेशन आह्वान गरिएको हो ।
कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए भने नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिएका थिए ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन् । बहुमत जुटाउन उनी विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन् । मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने उनले बताएका छन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् । कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई बहुमत पु¥याउन थप ३२ सांसदको समर्थन आवश्यक देखिन्छ । त्यसैले विश्वासको मत प्राप्त गर्न उनलाई अन्य दलको साथ अनिवार्य छ । विश्वासको मत पाउन नसकेका मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्