नेभिगेशन
प्रदेश

एउटै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमग्न

काठमाडौं । मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा भएको सवारी  दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट–४ सुन्दरपुर शोकमा डुबेको छ । छठ पर्व मनाउन काठमाडौंंबाट घर फर्कंदै गरेका आफन्त गुमाएपछि गाउँका अधिकांश घरमा चुलोसमेत बलेको छैन ।
छठको उल्लास हुने बेलामा गाउँ शोकाकुल छ । दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको शव शुक्रबार साँझ पोस्टमार्टमपछि आफन्तले बुझेर सर्लाही लगेका छन् । हेटौंडा अस्पतालमा राखिएका शव तीनवटा शववाहनमार्फत गाउँ पठाइएको हो । चालकको शव भने आफन्तले बिहीबार नै बुझेर लगेका थिए ।
बिहीबार बिहान काठमाडौंंबाट सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । मृतकमध्ये चक्रघट्ट–४, सुन्दरपुरका १३ जना छन् । उनीहरू छठ मनाउन घर फर्कंदै थिए । दुर्घटनाको खबरले छठघाट निर्माण, सरसफाइ र पाहुनालाई निम्तो दिने तयारीमा जुटेको गाउँ एकाएक शोकमा परिणत भएको छ ।
दुर्घटनामा छोरा गुड्डु यादव र बुहारी गायत्री देवी गुमाएका प्रमोद यादवका दुई नाति अभिभावकविहीन भएका छन् । पाँच वर्षीय सक्षम दुर्घटनामा बाँच्न सफल भए पनि उनलाई आमाबुबाको मृत्युबारे जानकारी दिइएको छैन । अर्का छोरा सुजनको काठमाडौंंमा उपचार भइरहेको छ ।
त्यस्तै, अवधेश यादवको परिवारका ६ जनाको मृत्यु भएको छ । उनकी श्रीमती पुनम, तीन छोरी र दुई भाइले दुर्घटनामा ज्यान गुमाएका हुन् । परिवारका १४ महिने बालक सुदीपको भने ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषण, परिवारका सदस्यलाई रोजगारी र दोषीमाथि कारबाहीको माग गर्दै सुरुमा शव परीक्षण गर्न अस्वीकार गरेका थिए । शुक्रबार प्रशासनसँगको छलफलमा सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन पाएपछि शव परीक्षण गर्न सहमति जुटेको हो ।
यसैबीच, मधेश प्रदेश सरकारले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले घाइतेको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने निर्णयसमेत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले बताए । चक्रघट्ट गाउँपालिकाले पनि मृतकका परिवारलाई दाहसंस्कार खर्चस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ । सवारीको क्षमता, रुट इजाजत, चालकको अवस्था र सडकको भौतिक अवस्थाबारे समितिले छानबिन गर्नेछ ।

भारतमा बस र कन्टेनर ट्रक ठोक्किँदा २६ जनाको मृत्यु


भारतको उत्तरपूर्वी राज्य असममा यात्रुबाहक मिनीबस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मृतकमध्ये बालबालिका, महिला र कलेजका विद्यार्थीसमेत छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार असमको गोलाघाट जिल्लास्थित काजिरंगा राष्ट्रिय निकुञ्जनजिकै राष्ट्रिय राजमार्ग–७१५ मा दुर्घटना भएको हो । रंगाजनस्थित हाथीकुली चिया बगाननजिकै बस र ट्रक एकापसमा ठोक्किएका थिए । गोलाघाटबाट नागाउँतर्फ गइरहेको मिनीबस र माथिल्लो असमर्फ जाँदै गरेको कन्टेनर ट्रक ठोक्किँदा बस पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । बसमा कलेजबाट फर्किरहेका विद्यार्थीसमेत सवार थिए । घाइतेलाई नजिकैको कोहोरा नमुना अस्पतालमा पु¥याइएको थियो । गम्भीर घाइतेलाई जोरहाट मेडिकल कलेज अस्पतालमा पठाइएको छ । 
प्रहरीले तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । बसले यसअघि पनि तीव्र गतिसम्बन्धी ट्राफिक नियम उल्लंघन गरेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई जनही दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्