नेभिगेशन
प्रदेश

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भए पनि वन्यजन्तुमाथि छाडा कुकुरको आक्रमण नरोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बतो । 
उनका अनुसार गत आव २०८२÷८३ मा मनाङको हुम्डेमामा छाडा कुकुरको आक्रमणबाट चारवटा कस्तुरीमृग मरेका थिए । आव २०८१÷८२ मा हुम्डेमै एउटा कस्तुरीमृग र आव २०८०÷८१ मा मुस्ताङमा तीनवटा कस्तुरीमृग, एउटा स्याल, कास्कीको घान्द्रुकमा एउटा रतुवामृग र मनाङमा एउटा नाउरलाई छाडा कुकुरले सिकार गरेको थियो । 
‘अन्नपूर्ण संरक्षण क्षेत्रका वन्यजन्तु बर्सेनि छाडा कुकुरको सिकार बन्ने गरेका छन्,’ उनले भने, ‘आतंक रोकथामका लागि गत वर्ष मात्र ३५५ कुकुरको बन्ध्याकरण गरिएको थियो ।’ हिंस्रक स्वभाव भएका र बेवारिसे छाडिएका घरपालुवा कुकुरले वन्यजन्तुमाथि आक्रमण गर्ने गरेको उनको भनाइ छ ।
छाडा कुुकुरले घरपालुवा जनावरमाथि पनि आक्रमण गर्ने गरेको स्थानीयवासी बताउँछन् । छाडा कुकुरले हिमाली तथा उच्च पहाडी भेगमा चौरीमा बाच्छाबाच्छीमाथि बढी आक्रमण गर्ने गरेका छ । आयोजना प्रमुख डा. कडरियाले संरक्षण क्षेत्रको भ्रमणमा आउने गरेका पर्यटकलाई पनि त्यस्ता कुकुरले दुःख दिने गरेको सुनाए । कुकुरलाई छाडा नछोड्न समुदायमा सचेतना अभियान पनि सञ्चालन गर्ने गरिएको उनको भनाइ छ । 
छाडा कुकुरको आक्रमणसँगै अवैध चौरीसिकार, सवारीसाधनको ठक्कर आदि कारणले पनि यस क्षेत्रमा वन्यजन्तु मर्ने गरेका छन् । आयोजना कार्यालयको आँकडा अनुसार पछिल्लो तीन वर्षमा २५ वन्यजन्तुको अवैध सिकार गरिएको थियो भने सात वन्यजन्तु सवारीसाधनको ठक्करबाट मरेका थिए । 
‘बढीजसो पासो थापेर र घरेलु बन्दुक प्रयोग गरेर वन्यजन्तुको सिकार गर्ने गरिएको घटना बाहिर आएका छन्,’ आयोजना प्रमुख डा कडरियाले भने, ‘चोरीसकार नियन्त्रणका लागि सुरक्षा गस्ती बढाइएको छ । ड्रोनबाट पनि निगरानी गर्ने गरिएको छ ।’ कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका दृष्टिले महŒवपूर्ण मानिन्छ । 

यस क्षेत्र हिउँचितुवा, कस्तुरीमृग, नाउर, हिमाली थारजस्ता जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । यहाँ विभिन्न प्रकारका स्तनधारी वन्यजन्तु, दुर्लभ पक्षी तथा सरिसृपहरू पाइने उनले बताए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्