नेभिगेशन
प्रदेश

कान्छो निकुञ्जको कार्यालय स्थापना

मुगु । मुलुकको कान्छो संरक्षित क्षेत्र छायानाथ राष्ट्रिय निकुञ्जको कार्यालय मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलुमा स्थापना गरिएको छ । शुक्रबार कार्यालय स्थापना गरिएको हो ।
सरकारले २०८२ भदौ १३ गते मुगुम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि वन तथा वातावरण मन्त्रालयले असोज २३ गते राजपत्रमा सूचना प्रकाशित गरेसँगै निकुञ्ज स्थापनाले औपचारिकता पाएको थियो ।
निकुञ्जको प्रशासनिक सेवा प्रवाह र संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्न कार्यालय स्थापना गरिएको निकुञ्जका प्रमुख तथा संरक्षण अधिकृत विष्णु रोकायाले जानकारी दिए । वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, पर्यटन प्रवद्र्धन र प्राकृतिक सम्पदाको दिगो व्यवस्थापन गर्ने उद्देश्यले कार्यालय सञ्चारलनमा ल्याइएको हो । उनका अनुसार स्वीकृत दरबन्दीअनुसार कार्यालयमा २८ जना कर्मचारी रहनेछन् ।
८४३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र २०७ वर्ग किलोमिटर छ । यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ । मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि जिल्लामा दोस्रो राष्ट्रिय निकुञ्ज स्थापना भएको हो ।
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङको दुर्गम डोल्फु क्षेत्रलाई छुट्याएर छुट्टै निकुञ्ज बनाउन स्थानीयले माग गर्दै आएका थिए । शे–फोक्सुण्डो निकुञ्जको कार्यालयसम्म पुग्न स्थानीयलाई करिब एक साता पैदल हिँड्नुपर्ने बाध्यता रहेकाले छुट्टै निकुञ्ज स्थापनाको पहल गरिएको थियो ।

छायानाथ क्षेत्रमा यार्सागुम्बा, पाँचऔँले, जटामसी, कटुकी, चिराइतो, सिलाजितलगायत बहुमूल्य जडीबुटी पाइन्छन् । नाउर, घोरल, कस्तुरी, भालु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु पनि यहाँका प्रमुख प्राकृतिक सम्पदा हुन् ।
निकुञ्ज स्थापनासँगै छायानाथ धामलगायत धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, पदमार्ग विकास, वन पैदावारको व्यवस्थित उपयोग र अवैध चोरी निकासी नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । स्थानीय समुदायको सहभागितामा संरक्षण कार्यक्रम सञ्चालन तथा पञ्चवर्षीय व्यवस्थापन योजना कार्यान्वयन गर्ने तयारीसमेत गरिएको छ । निकुञ्ज स्थापनाले दुर्गम क्षेत्रको पर्यटन विकास र स्थानीयको आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्