नेभिगेशन
राजनीति

'बीआरआईमा विवेकपूर्ण धारणा राख्नू’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिलाई ध्यानमा राखेर धारणा राख्न सुझाव दिएका छन् । ११ दिन लामो  भ्रमणमा जान लागेको २० सदस्यीय संसदीय टोलीलाई शुक्रबार सिंहदरबारमा भेट्दै शाहले विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता संवेदनशील विषयमा विवेकपूर्ण ढंगले अभिव्यक्ति दिन आग्रह गरेका हुन् ।
‘बीआरआई विवादित छ, विवेकपूर्ण ढंगले धारणा राख्नुस्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक सांसदले भने । शाहले चीन भ्रमणका क्रममा आफूलाई कमजोर वा तल्लो स्तरको नठान्न पनि सांसदहरूलाई सुझाएका थिए । सार्वभौम मुलुकका जनप्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन उनले सांसदहरुलाई सुझाव दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा चीन भ्रमणको तयारी, भ्रमणका एजेन्डा तथा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री बालेनले नेपाल र चीनबीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
चीनले पछिल्लो समय अघि सारेका विभिन्न ग्लोबल इनिसिएटिभमध्ये नेपालले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’लाई प्राथमिकता दिनुपर्ने धारणा पनि प्रधानमन्त्री शाहले छलफलका क्रममा राखेका थिए । सुरक्षा लगायतका रणनीतिक विषयमा नेपालको परराष्ट्र नीतिअनुकूल व्यवहार गर्न र चिनियाँ पक्षले आफ्ना धारणा राख्दा कतिपय विषयमा तत्काल प्रतिक्रिया नदिई सुन्न र बुझ्न उनले सांसदहरूलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाम र औपचारिक भेटघाटमा मात्र सीमित नगर्न पनि आग्रह गरेका छन् । भ्रमणबाट प्राप्त अनुभव र छलफलका आधारमा फर्किएपछि सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउन उनले निर्देशन दिएका थिए । ‘भ्रमण पर्यटन मात्र नहोस्,’ शाहले भनेका थिए, ‘फर्किएपछि भ्रमणको विषयमा सुझावसहित सरकारलाई प्रतिवेदन दिनुहोला ।’
रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० जना सांसद चीन भ्रमणमा जान लागेका हुन् । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्यसँग भेटघाट गर्ने कार्यक्रम छ ।
को को जाँदैछन् चीन ?
भ्रमण टोलीमा रास्वपा महामन्त्री विपीन आचार्यसँगै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, राज्य व्यवस्था समितिका सभापति हरि ढकाल, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्