नेभिगेशन
राजनीति

स्थानीय तहको चुनाव घोषणा गर्न सरकार डराएको छः प्रदीप पौडेल

काठमाडौं । कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रास्वपाको सरकारले स्थानीय तहको निर्वाचन घोषणा किन नगरेको भन्दै प्रश्न उठाएका छन् । निर्वाचनको समय नजिकिँदै जाँदा पनि सरकारले आवश्यक तयारी अघि नबढाएको उनको आरोप छ ।
शुक्रबार सिरहामा कांग्रेस सिरहा–४ द्वारा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पदस्थापन कार्यक्रममा बोल्दै पौडेलले स्थानीय तहको निर्वाचन कम्तीमा ६ महिनाअघि घोषणा गर्नुपर्ने बताए । ‘यो सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन । चुनाव ६ महिना अगाडि घोषणा गर्नुपर्छ,’ उनले भने, ‘अब चैतमा चुनाव गर्ने हो भने ६ महिना गुज्रिन लागिसक्यो । चैत मसान्तमा स्थानीय तहको अवधि सकिन्छ ।’
रास्वपाले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने र पालिकाको संख्या घटाउने प्रतिबद्धता जनाए पनि त्यसअनुसार कुनै काम नगरेको पौडेलको टिप्पणी थियो । ‘उहाँहरूले कुरा त गैरदलीय चुनाव गर्ने भन्नुभयो । पालिकाको संख्या घटाउने भन्नुभयो । तर, गफ गर्नुभयो, त्यसका लागि केही पनि गर्नुभएन,’ उनले भने ।
सरकारले निर्वाचन प्रणाली र स्थानीय तहको संरचनामा परिवर्तन गर्ने योजना अघि सारे पनि प्रक्रिया सुरु नगरेको भन्दै पौडेलले यथास्थितिमै भए पनि समयमै निर्वाचन गराउन आग्रह गरे । उनले कांग्रेस निर्वाचनका लागि तयार रहेको बताए । ‘अब हाम्रो अनुरोध–तपाईंले केही परिवर्तन गर्नुहुन्न । तर, यथास्थितिमा भए पनि समयमै चुनाव गरिदिनुस् । त्यो चुनावका लागि पनि हामी तयार छौं,’ उनले भने ।

पौडेलले संघीय निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै आगामी स्थानीय तह निर्वाचनमा बढीभन्दा बढी पालिका जित्नुपर्ने बताए । निर्वाचनलाई जनतामाझ पार्टीप्रतिको विश्वास र भरोसा कायम रहेको प्रमाणित गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘संघीय निर्वाचन हारेको कारण हामीले स्थानीय तहको निर्वाचन बढीभन्दा बढी जित्नुपर्छ,’ उनले भने, ‘निर्वाचन भनेको जनविश्वास हो । हाम्राप्रतिको भरोसा कायम छ भन्ने कुरा निर्वाचन जितेर हामीले दिन सक्नुपर्छ ।’ उनले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न कांग्रेसले विधानमै प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) को व्यवस्था गरेको जानकारी पनि दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति