नेभिगेशन
अर्थतन्त्र

निर्जीवन बीमामा साढे १५ अर्बको व्यवसाय

बागमतीमा मात्रै ६९ प्रतिशत बीमाशुल्क

काठमाडौं । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा निर्जीवन बीमा व्यवसायले १५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ७८ करोड ८३ लाख ११ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका हुन् । यस अवधिमा मुख्य बीमक र लघु बीमकमार्फत ९ लाख १५ हजार ७१७ वटा बीमालेख जारी भएका छन् ।
यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढी कारोबार केन्द्रित रहेकोे छ। कुल निर्जीवन बीमाशुल्कको झन्डै ६९ प्रतिशत हिस्सा बागमती प्रदेशबाट मात्रै सङ्कलन भएको छ । अन्य छ प्रदेशको कुल बीमाशुल्कसमेत बागमती प्रदेशको सङ्कलनभन्दा निकै कम छ । 
प्राधिकरणका अनुसार परम्परागत निर्जीवन बीमा कम्पनी अर्थात् मुख्य बीमकहरूले ८ लाख ३६ हजार ७४ वटा बीमालेख जारी गरी १५ अर्ब ५४ करोड ५१ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क उठाएका छन् । त्यसैगरी लघु निर्जीवन बीमा कम्पनीहरूले ७९ हजार ६४३ वटा बीमालेख जारी गरी २४ करोड ३१ लाख ३६ हजार रुपैयाँ सङ्कलन गरेका छन् ।
कुल बीमाशुल्कमा मुख्य बीमकहरूको योगदान करिब ९८ दशमलव ५ प्रतिशत र लघु बीमकहरूको योगदान करिब १ दशमलव ५ प्रतिशत रहेको छ। बीमालेख संख्यामा पनि मुख्य बीमकहरूको हिस्सा करिब ९१ प्रतिशत छ। 
बागमतीमा मात्रै १० अर्ब ९१ करोड
प्रदेशगत तथ्याङ्कमा बागमती प्रदेश निर्जीवन बीमा व्यवसायको सबैभन्दा ठूलो केन्द्र बनेको छ। असोज मसान्तसम्म यस प्रदेशबाट १० अर्ब ९१ करोड ७७ लाख ८ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन भएको छ। यस अवधिमा बागमतीमा ४ लाख ४६ हजार ८८६ वटा बीमालेख जारी भएका छन्।
कुल बीमाशुल्कमा बागमतीको हिस्सा करिब ६९ दशमलव १ प्रतिशत छ।  देशभर सङ्कलन भएको प्रत्येक १०० रुपैयाँ निर्जीवन बीमाशुल्कमध्ये करिब ६९ रुपैयाँ बागमती प्रदेशबाटै आएको छ। राजधानी काठमाडौँसहित ठूला व्यापारिक केन्द्र, औद्योगिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, आवासीय सम्पत्ति र सवारीसाधनको उच्च सङ्ख्या यस क्षेत्रमा रहेकाले बीमा व्यवसाय पनि यहीँ केन्द्रित भएको बताइन्छ । 
बागमतीपछि लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ। लुम्बिनीबाट १ अर्ब ३१ करोड ५७ लाख २० हजार रुपैयाँ बीमाशुल्क सङ्कलन भएको छ। कोशी प्रदेशबाट १ अर्ब २८ करोड ५४ लाख ८० हजार रुपैयाँ सङ्कलन भएको छ। यी दुई प्रदेशबीचको अन्तर निकै कम छ।
त्यस्तै मधेश प्रदेशबाट १ अर्ब १ करोड ९० लाख ७५ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन भएको छ। गण्डकी प्रदेशबाट ७६ करोड २९ लाख २२ हजार रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ३६ करोड २२ लाख ८२ हजार रुपैयाँ र कर्णाली प्रदेशबाट १२ करोड ५१ लाख २५ हजार रुपैयाँ सङ्कलन भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
प्रदेशगत कारोबारमा कर्णाली सबैभन्दा पछाडि देखिएको छ। कर्णालीबाट सङ्कलित बीमाशुल्क कुल निर्जीवन बीमा व्यवसायको एक प्रतिशतभन्दा पनि कम छ। सुदूरपश्चिमको हिस्सा पनि करिब २.३ प्रतिशत मात्रै छ। 
मोटर बीमा सबैभन्दा अगाडि
निर्जीवन बीमा व्यवसायमा मोटर बीमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने विधाका रूपमा देखिएको छ। असोज मसान्तसम्म मोटर बीमाबाट ४ अर्ब ८३ करोड २० लाख ७४ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन भएको छ। यो कुल निर्जीवन बीमाशुल्कको करिब ३० दशमलव ६ प्रतिशत हो।
मोटर बीमामा सवारीसाधनको तेस्रो पक्ष दायित्व तथा अन्य जोखिम समेटिने भएकाले यसको बजार ठूलो रहेको छ। नेपालमा सवारीसाधनको सङ्ख्या बढ्दै जानु, सवारी बीमासम्बन्धी कानुनी व्यवस्था र सवारीसाधनको आर्थिक मूल्यका कारण मोटर बीमा निर्जीवन बीमा कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत बनेको बीमा कम्पनीहरुको बुझाइ छ । 
मोटर बीमापछि सम्पत्ति बीमा दोस्रो ठूलो विधा बनेको छ। यसबाट ३ अर्ब ८७ करोड २ लाख १६ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन भएको छ। त्यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट २ अर्ब ३९ करोड ८८ लाख १३ हजार रुपैयाँ सङ्कलन भएको छ। 
विविध बीमाबाट १ अर्ब ३४ करोड २७ लाख ४७ हजार रुपैयाँ र सामुद्रिक बीमाबाट १ अर्ब २२ करोड ६८ लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको छ। हवाई बीमाबाट ६९ करोड ९३ लाख १७ हजार रुपैयाँ बीमाशुल्क उठेको छ।
कृषि तथा बाली बीमाबाट ६० करोड १२ लाख ७६ हजार रुपैयाँ सङ्कलन भएको छ। कृषि क्षेत्रको उत्पादन तथा पशुपन्छीमा हुन सक्ने जोखिमलाई समेट्ने यस विधाको बीमा विस्तारलाई सरकारले प्राथमिकता दिँदै आएको भए पनि कुल निर्जीवन बीमाको तुलनामा यसको हिस्सा अझै सानो छ।
स्वास्थ्य बीमाबाट ५४ करोड ४१ लाख ६२ हजार रुपैयाँ, लघु बीमाबाट २४ करोड ३६ लाख ३९ हजार रुपैयाँ र दायित्व बीमाबाट २ करोड ९१ लाख ९४ हजार रुपैयाँ सङ्कलन भएको छ।
कृषि र लघु बीमाको विस्तार चुनौतीपूर्ण
निर्जीवन बीमा व्यवसायमा मोटर, सम्पत्ति तथा इन्जिनियरिङ बीमाको हिस्सा ठूलो हुँदा कृषि, स्वास्थ्य, लघु तथा दायित्व बीमाको हिस्सा तुलनात्मक रूपमा सानो देखिएको छ। 
कृषि बीमाको कारोबार कुल निर्जीवन बीमाको तुलनामा करिब ३ दशमलव ८ प्रतिशतमा सीमित छ।
लघु बीमकहरूले तीन महिनामा सङ्कलन गरेको बीमाशुल्क २४ करोड ३१ लाख रुपैयाँ मात्रै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्