नेभिगेशन
साहित्य
साहित्य

विगतका कथा लेख्ने मोह

किन विश्वभर लोकप्रिय बन्दै छ ऐतिहासिक उपन्यास ?

ऐतिहासिक उपन्यासको लोकप्रियता नयाँ होइन । तर, पछिल्लो समय यसको लोकप्रियता झन् बढ्दो छ । बेलायतको पुस्तक बजारसम्बन्धी प्रकाशन ‘द बुकसेलर’का अनुसार यस वर्ष ऐतिहासिक उपन्यासको बिक्री मूल्य १०.२ प्रतिशतले बढेको छ । विगतका घटनामा आधारित कथा धेरै पाठकको रोजाइमा पर्ने गरेको कुरा नौलो होइन । तर ऐतिहासिक उपन्यास भनेको वास्तवमा के हो ? यसप्रति पाठकको आकर्षण किन यति लामो समयदेखि कायम छ ? यस्ता उपन्यास लेख्दा लेखकले कस्ता अवसर र चुनौती सामना गर्नुपर्छ ?

ऐतिहासिक उपन्यासले प्रायः वर्तमान समयका विषयलाई पनि विगतका घटनामार्फत उजागर गर्छ । त्यसैले अहिलेको अस्थिर र अन्योलपूर्ण विश्वले लेखक तथा पाठकलाई किन फेरि इतिहासतर्फ फर्काइरहेको छ भन्ने प्रश्न पनि महŒवपूर्ण छ । यसको सम्बन्ध हाम्रो समयका समस्यासँग मात्र होइन, पुस्तक प्रकाशन उद्योगका राम्रा, नराम्रा र जटिल पक्षसँग पनि जोडिएको छ ।

ऐतिहासिक उपन्यास लेखनका सम्भावनाबाटै कुरा सुरु गरौं ।

सामान्यतया कुनै पुस्तकलाई ऐतिहासिक उपन्यास मान्न त्यसको मुख्य कथा अहिलेभन्दा कम्तीमा ५० वर्षअघिको समयमा आधारित हुनुपर्छ । कतिपय अवस्थामा ३० वर्षअघिको समयलाई पनि आधार मानिन्छ । यस विधामा कथा लेख्न सकिने सम्भावना अत्यन्तै फराकिलो र रोमाञ्चक छ । ऐतिहासिक उपन्यासभित्र पनि विभिन्न उपविधा छन् ।

यसमा व्यावसायिक तथा साहित्यिक उपन्यासका अतिरिक्त ऐतिहासिक प्रेमकथा, अपराधकथा, रहस्य तथा रोमाञ्चक कथा र जीवनीमा आधारित उपन्यास पर्छन् । यी सबै विधाका आफ्नै विशेषता छन् । तर लेखक र पाठक दुवैका लागि सबैभन्दा रोमाञ्चक पक्ष भनेको विगत आफैं हो । इतिहास कथा लेख्ने र पढ्ने दुवैका लागि विशाल खेलमैदानजस्तै छ ।

प्रागैतिहासिक कालदेखि हामीमध्ये कतिपयले आफ्नै जीवनकालमा देखेका समयसम्मका जुनसुकै युगलाई कथाको विषय बनाउन सकिन्छ । कथा कुनै व्यक्तिको निजी जीवनमा केन्द्रित हुन सक्छ वा विशाल ऐतिहासिक घटनालाई समेट्न सक्छ । यति धेरै सम्भावना भएकाले कहिलेकाहीँ लेखक आफैं अन्योलमा पर्न सक्छन् ।

लेखन सुरु गर्दै हुनुहुन्छ भने चर्चित ऐतिहासिक घटना र पात्रबाट टाढै रहनु राम्रो हुन्छ । आखिर एनी बोलिनबारे अर्को एउटा उपन्यास नै किन लेख्नुप-यो ?

यसको सट्टा आफ्नो नजिकको पुस्तकालयमा गएर स्थानीय इतिहास खण्ड पल्टाउनुहोस् । त्यहाँ तपाईंले कल्पना गरेभन्दा पनि अनौठा, दुःखद र रोचक कथाहरू भेट्टाउन सक्नुहुन्छ । पुराना पत्रपत्रिका, चिठी, डायरी र तस्बिरजस्ता ऐतिहासिक सामग्रीले तपाईंलाई पहिले धेरैले नलेखेका विषयसम्म पु¥याउन सक्छन् । लेखकले खोज्नुपर्ने ठाउँ पनि त्यही हो ।

ऐतिहासिक उपन्यास प्रायः वास्तविक मानिस र घटनामा आधारित हुन्छन् । त्यसैले यिनलाई पहिल्यै बनाइएका कथा र ढाँचामा सीमित गर्नुहुँदैन । वास्तविक जीवनका घटनाहरू सधैं अपेक्षा गरिएजस्तै कारण र परिणामको सरल शृंखलामा अघि बढ्दैनन् ।

उदाहरणका लागि, मालिकबाट यौन शोषणमा परेर गर्भवती भएकी हरेक घरायसी कामदार महिलाको अन्त्य दुःखद नै हुन्छ भन्ने छैन । वास्तविक जीवनका कथा अपेक्षाभन्दा फरक पनि हुन सक्छन् । ऐतिहासिक उपन्यासले यही विविधतालाई समेट्न सक्नुपर्छ ।

विगतका विषयमा लेख्न अनुसन्धान गर्नुपर्छ भन्ने चिन्ता लेखकलाई हुन सक्छ । वास्तवमा अनुसन्धान अनिवार्य छ । तपाईंलाई इतिहाससम्बन्धी गैरआख्यान पढ्न मन पर्दैन वा अनुसन्धान गर्न रुचि छैन भने ऐतिहासिक उपन्यास लेखन तपाईंका लागि उपयुक्त नहुन सक्छ ।

कतिपयले प्रश्न गर्न सक्छन्– विवरण आफैं कल्पना गरेर लेखे हुँदैन र ? तपाईंले वर्णन गरेको पोसाक त्यस समयमा लगाइन्थ्यो कि लगाइँदैनथ्यो भन्ने कुरा कति पाठकलाई थाहा होला र ?

निश्चय पनि पुस्तक र चलचित्रमा विगतलाई केवल केही सामग्री र पोसाकको सहायताले प्रस्तुत गरिएका थुप्रै उदाहरण छन् । पात्रहरू घोडागाडीमा हिँड्छन्, पुरानो शैलीका लुगा लगाउँछन् तर उनीहरूको व्यवहार र सोच भने आजकै मानिसको जस्तो हुन्छ । यसमा कसैको आफ्नै रोजाइ हुन सक्छ । तर मलाई भने आफू बसेको संसारभन्दा पूर्णतः फरक संसारको अनुभूति गराउने उपन्यास मन पर्छ ।

कहिलेकाहीँ मेरा विद्यार्थी भन्छन्, ‘मेरो पुस्तक ऐतिहासिक उपन्यास होइन, संयोगले मात्र विगतको समयमा आधारित छ ।’

म उनीहरूको कुरा बुझ्छु । तर हरेक उपन्यास आफूले चित्रण गरेको समय र स्थानबाट प्रभावित हुन्छ । कथामा केही घोडागाडी राखेर मात्र ऐतिहासिक उपन्यास बन्दैन । त्यसो गर्दा लेखनका असंख्य सम्भावना गुमाइरहेको हुन्छ ।

पाठकलाई कथाको समय र समाज बुझ्न आवश्यक पृष्ठभूमि चाहिन्छ । मानिसको सामाजिक हैसियत, पेसा, उमेर, आकांक्षा र विश्वास पृष्ठभूमिका विषय मात्र होइनन्, तिनैले कथाको अर्थ र घटनाक्रम बुझाउँछन् भन्ने बुझ्न जरुरी छ ।

सडकमा घोडागाडी गुड्नु दृश्य मात्र होइन । त्यसको बनोट र प्रकारले गाडीधनीको सामाजिक हैसियत बताउँछ । गाडी तीव्र गतिमा गुडिरहेको छ कि बिस्तारै ? तपाईंले चित्रण गरेको समाजमा कस्ता मानिसले घोडागाडी चढ्न पाउँदैनन् ? यस्ता विवरण सामान्य लाग्न सक्छन् तर यिनैले पात्र र घटनालाई जीवन्त बनाउँछन् ।

‘घोडागाडी सडकबाट गुडेर गयो’ भनेर लेख्न सकिन्छ । तर त्यस दृश्यका साना विवरण प्रयोग गरेर पात्रको चरित्र र घटनाक्रमलाई थप अर्थपूर्ण बनाउन पनि सकिन्छ । यस्ता सूक्ष्म विवरणले नै सामान्य उपन्यासलाई असाधारण बनाउँछन् ।

त्यसो भए ऐतिहासिक उपन्यासमा कुनै कुरा कल्पना गरेर लेख्नै हुँदैन त ? त्यसो होइन । तर केही विषयमा ऐतिहासिक शुद्धताबारे गम्भीर हुनुपर्छ । विशेषगरी ऐतिहासिक लेखनको नैतिक पक्षलाई ध्यान दिनुपर्छ । टाढाको इतिहासमा आधारित कथा लेख्दा लेखकले धेरै स्वतन्त्रता पाउँछन् । तर नजिकको विगतलाई आधार बनाउँदा विषय अलि जटिल हुन्छ ।

मेरो पछिल्लो उपन्यास ‘द म्याचबक्स गर्ल’ दोस्रो विश्वयुद्धको समयमा आधारित छ । यसमा वास्तविक पात्रहरू छन् । तीमध्ये केहीका सन्तान अहिले पनि जीवित छन् । उपन्यासमा समेटिएका घटनाहरू संवेदनशील र निकै विवादास्पद पनि छन् । मैले चाहेको भए ती घटनालाई आफ्नै कल्पनाअनुसार लेख्न सक्थेँ । तर नैतिक रूपमा त्यसो गर्दा मलाई असहज हुने थियो ।

कुनै पनि कथामाथि कसैको एकाधिकार हुँदैन । त्यसैले कुनै लेखकले कुनै विषयमा लेख्नै हुँदैन भन्नु उचित होइन । त्यसो भन्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणजस्तै हुन्छ । तर अरू मानिसले भोगेको पीडालाई व्यापारिक वस्तु बनाउने विषयमा भने गम्भीर प्रश्न उठ्छन् । मृत व्यक्तिको मानहानिसम्बन्धी कानुनी प्रश्न नउठे पनि जीवित व्यक्तिको प्रतिष्ठामा आँच पु¥याए कानुनी समस्या आउन सक्छ ।

उदाहरणका लागि, आजभन्दा ३७ वर्षअघि भएको हिल्सबरो दुर्घटनामाथि ऐतिहासिक उपन्यास लेख्न सकिन्छ कि सकिँदैन ? अवश्य सकिन्छ । म लेख्नै हुँदैन भनिरहेको छैन । हामीसँग अभिव्यक्ति स्वतन्त्रता छ । तर यति ठूलो पीडा र विवाद निम्त्याएको घटनाबारे कल्पनाका आधारमा विवरण थप्नु कति उचित हुन्छ भन्ने विषयमा लेखकले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

यस्ता नैतिक प्रश्नले हामीलाई अर्को महŒवपूर्ण विषयमा पु¥याउँछन्– अहिले ऐतिहासिक उपन्यास किन फस्टाइरहेका छन् ?

अब म केही विवादास्पद कुरा गर्न गइरहेको छु । मेरो विचारमा ऐतिहासिक उपन्यासको बढ्दो लोकप्रियताको एउटा कारण समकालीन उपन्यासको घट्दो आकर्षण पनि हुन सक्छ । अहिले समकालीन विषयमा लेख्ने लेखकले अनेकौं नैतिक प्रश्न र विवादको सामना गर्नुपरिरहेको छ ।

समकालीन उपन्यासका लेखकहरू विभिन्न विषयमा कसैको भावनामा चोट पु¥याएको आरोप खेपिरहेका छन् । त्यसैले लेखकहरू कुन विषयमा लेख्दा प्रकाशकले पुस्तक छाप्न रुचि देखाउँछन् र विवादमा पनि परिँदैन भन्ने सोच्न थालेका छन् । म व्यक्तिगत रूपमा यस्ता विषयलाई प्राथमिकता दिन चाहन्नँ । तर बजारको अवस्थालाई पूर्णतः बेवास्ता गर्नु पनि बुद्धिमानी हुँदैन ।

समस्या के छ भने कुन विषयले कसलाई अप्ठ्यारो पार्छ भन्ने अनुमान गर्न कठिन छ । अहिले दोहोरो र तेहोरो मापदण्ड देखिन्छन् । उपन्यासका लागि तय गरिने मापदण्ड अन्य सञ्चारमाध्यमको तुलनामा निकै कडा हुने गरेको छ ।

कुनै लेखकले खुला रूपमा महिलाविरोधी चरित्र प्रस्तुत गरे आलोचना हुन सक्छ । तर त्यही समाजमा हरेक साँझ नेटफ्लिक्समा महिलाको हत्या र हिंसाका अत्यन्तै क्रूर दृश्य देखाइन्छन् । एउटा लेखकले उही विषयलाई यथार्थपरक र कठोर ढङ्गले प्रस्तुत गरेको भन्दै प्रशंसा पाउँछ भने अर्को लेखकले त्यही विषय उठाउँदा पीडाको दुरुपयोग गरेको आरोप खेप्छ । यस्ता विरोधाभासपूर्ण मापदण्डले लेखकलाई अन्योलमा पार्छन् र सिर्जनात्मक लेखनलाई कमजोर बनाउँछन् । तर ऐतिहासिक उपन्यास लेख्ने लेखकले यस्ता धेरै समस्याबाट बच्दै समकालीन उपन्यासले उठाउने अधिकांश विषयलाई पनि प्रस्तुत गर्न सक्छन् ।

वास्तवमा अहिलेका सामाजिक र राजनीतिक समस्याको अध्ययन गर्न ऐतिहासिक उपन्यास लेख्नु अझ प्रभावकारी माध्यम हुन सक्छ । राम्रो उपन्यासले आफूले भन्न खोजेको कुरा सिधै भन्नुहुँदैन । लेखकले विषयवस्तुमा प्रवेश गर्ने कुनै फरक बाटो खोज्नुपर्छ । असामान्य दृष्टिकोण अपनाउनुपर्छ र आफ्नो कुरा घुमाउरो तरिकाले प्रस्तुत गर्नुपर्छ । कथाको भित्री सन्देशलाई सिधै पाठकमाथि थोपर्नुहुँदैन ।

ऐतिहासिक उपन्यास लेखकले आफूले भन्न चाहेको कुरा प्रत्यक्ष नभनी प्रस्तुत गर्ने राम्रो अवसर हो । उदाहरणका लागि, अहिलेको कुनै विश्वविद्यालयमा भएको हडतालमाथि उपन्यास लेख्न खोज्दा प्रकाशकले रुचि नदेखाउन सक्छन् । समकालीन राजनीतिक विषयमा आधारित त्यस्ता उपन्यास प्रकाशित भएका हुन सक्छन्, तर मैले त्यस्ता धेरै भेटेकी छैन । यो निराशाजनक कुरा हो ।

वास्तवमा लेखकले यस्ता विषयमा सोच्नै छाडेका हुन सक्छन् । किनभने राजनीतिक विषय स्पष्ट रूपमा उठाइएको पुस्तक प्रकाशकले रुचाउँदैनन् भन्ने उनीहरूलाई थाहा हुन्छ । तर विगतमा भएका कुनै हडतालबारे पर्याप्त ऐतिहासिक सामग्री खोजेर त्यसैलाई आधार बनाई उपन्यास लेख्न सकिन्छ । त्यसो गर्दा समय र परिस्थिति फरक भए पनि घटनाको मूल प्रवृत्ति उस्तै रहेको देखेर तपाईं आफैं आश्चर्यचकित हुन सक्नुहुन्छ ।

लेखकले पाठकलाई ‘यहाँ अहिलेको समयसँग मिल्दोजुल्दो कुरा देख्नुभयो?’ भनेर सोधिरहनुपर्दैन । विभिन्न तथ्य र घटनाहरू प्रस्तुत गरेर पाठकलाई आफैं विगत र वर्तमानबीचको सम्बन्ध बुझ्ने अवसर दिनुपर्छ । विगतले वर्तमानलाई कसरी उजागर गर्छ भन्ने कुरा पाठकले आफैं पत्ता लगाउन सक्छन् ।

अहिलेको अन्योलपूर्ण समयमा ऐतिहासिक उपन्यास लोकप्रिय हुनुको अर्को कारण यसले दिने मानसिक सान्त्वना पनि हुन सक्छ ।

यो कुरा सुन्दा विरोधाभासपूर्ण लाग्न सक्छ । किनभने, विगतका कथामा चरम गरिबी, मृत्युदण्ड, विभिन्न प्रकारका दुव्र्यवहार र सामान्य उपचारसमेत उपलब्ध नभएको समयका भयावह अवस्थाहरू समेटिएका हुन्छन् ।

तर सत्य के हो भने ऐतिहासिक उपन्यासको अन्त्य कस्तो हुन्छ भन्ने कुरा हामीलाई सामान्यतया थाहा हुन्छ । हामी अहिले पनि जीवित छौं र संसार चलिरहेको छ । ऐतिहासिक कथा पढिसकेपछि हामी सोच्छौं– अहिलेको समय कठिन भए पनि विगतको जीवन झन् कठिन थियो । त्यति कठिन समयबाट पनि केही मानिसले जीवन जोगाउन सकेका थिए ।

यसले प्रत्यक्ष रूपमा खुसी वा उत्साह नदिए पनि जीवनलाई फराकिलो दृष्टिकोणबाट हेर्न मद्दत गर्छ । अहिलेका कठिनाइलाई बुझ्न र तिनको सामना गर्न आवश्यक मानसिक सन्तुलन प्रदान गर्छ ।

यही कारण ऐतिहासिक उपन्यासलाई वास्तविकताभन्दा नरम बनाएर प्रस्तुत गर्नु हुँदैन । विगतका मानिसले भोगेका पीडा र दुःख देखाउनुको एउटा उद्देश्य समाजलाई पछाडि फर्कन होइन, अगाडि बढ्न प्रेरित गर्नु हो । यस्ता उपन्यासले हामीलाई एउटा कुरा पनि सम्झाउँछन्– संसारमा कुनै कुरा पूर्णतः नयाँ हुँदैन । अहिले हामीले भोगिरहेका कठिनाइ मानव समाजले यसअघि पनि भोगिसकेको छ ।

यी सबै विषयलाई प्राविधिक रूपमा व्याख्या गरिसकेपछि म फेरि यसको मूल पक्षमा फर्कन चाहन्छु ।

ऐतिहासिक उपन्यास पाठक र लेखक दुवैका लागि रोचक, मनोरञ्जक र रोमाञ्चक विधा हो । यसले पाठकलाई बोझिलो, उपदेशात्मक वा अनगिन्ती मिति र तथ्यमा अल्झाउने शैलीबिना पनि इतिहासबारे ज्ञान दिन सक्छ ।

हामीले इतिहासलाई कसरी बुझ्छौं भन्ने कुरा महŒवपूर्ण छ । इतिहास विगतसँग सम्बन्धित देखिए पनि यसले धेरैजसो भविष्यबारे कुरा गरिरहेको हुन्छ । हाम्रा पुर्खाले बाँचेका संसारलाई हेर्ने नयाँ दृष्टिकोण निरन्तर विकास भइरहेका छन् । ती सबैले लेखकका लागि नयाँ सम्भावना खोलिरहेका छन् ।

ऐतिहासिक उपन्यास अहिले लोकप्रिय हुनुका केही विशेष कारण हुन सक्छन् । तर विगतका कथाहरूको महŒव भने सधैं रहिरहनेछ ।

(लेखिका जोलीले आफ्नो उपन्यास ‘द म्याचबक्स गर्ल’ (ब्लुम्सबरीबाट प्रकाशित) का लागि सन् २०२६ को वाल्टर स्कट ऐतिहासिक उपन्यास पुरस्कार जितेकी हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य