नेभिगेशन
अचम्मको संसार

चुच्चे ढुंगो मान्छेका पूर्खाको टुंगो

अरब प्रायद्वीपमा रहेको ‘एम्प्टी क्वार्टर’ विश्वकै सबैभन्दा ठूलो बलौटे मरुभूमि हो । कुनै समय यहाँ जताततै सफा पानीका ताल र हरियाली थिए । तर, प्राचीन मानवहरूले त्यहाँ बस्ती बसाल्न नचाहेको देखिन्छ । अहिले वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन्ः सुरुवाती बासिन्दाहरूले त्यस्तो ठाउँमा बस्न रुचाए, जहाँ ढुंगाको राम्रो भण्डार पनि थियो ।
यस अनुसन्धानमा संलग्न पोर्चुगलको युनिभर्सिटी अफ अल्गार्वेका जेफ्री रोज भन्छन्, ‘ढुंगाका औजारमा निर्भर मानिसहरू राम्रो ढुंगा पाइने ठाउँभन्दा कहिल्यै टाढा जाँदैनन् ।’
एम्प्टी क्वार्टरको अरबी नाम ‘रुब अल–खली’ हो । यो हावाले उडाउने बालुवाको ढिस्कोले बनेको विश्वकै सबैभन्दा ठूलो र फैलिएको मरुभूमि हो । यसले दक्षिणी अरब प्रायद्वीपको करिब ६ लाख ५० हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।
आजभोलि यो क्षेत्र एकदमै सुक्खा छ । भित्री भागमा भूमिगत पानीले भरिने केही स्थायी तालबाहेक यहाँ अरू पानीको स्रोत छैन । तर, पछिल्लो शताब्दीमा वैज्ञानिकहरूले यहाँ थुप्रै प्राचीन तालहरूका प्रमाण फेला पारेका छन् । हिन्द महासागरको बलियो मनसुनले गर्दा यहाँ धेरै पानी पथ्र्यो, जसले यस क्षेत्रलाई हराभरा बनाएको थियो । यसैलाई वैज्ञानिकहरू ‘ग्रिन अरेबिया’ (हराभरा अरब) भन्ने गर्छन् ।
लामो समयदेखि अनुसन्धानकर्ताहरूको अनुमान के थियो भने, यही हराभरा समयले प्राचीन मानवहरूलाई अफ्रिकाबाट बाहिर निस्केर अरब प्रायद्वीपमा फैलिन बाटो खुला गरेको थियो । प्राचीन तालहरू नजिकै ढुंगाका औजारहरू भेटिनुले पनि यो कुरालाई समर्थन गर्छ । तर, यी सबै ठाउँहरू मरुभूमिको किनारमा मात्रै पर्छन्, जबकि यसको भित्री भागमा अनुसन्धानकर्ताहरूले अझै धेरै खोजी गर्न बाँकी छ ।
सन् २०२३ मा, भियना विश्वविद्यालयका रोजका सहकर्मी रुडोल्फ डेलमोर र उनको टोलीले एम्प्टी क्वार्टरको बालुवा छिचोल्दै प्राचीन तालहरूको निसान खोज्न १२५ वटा ठाउँको अध्ययन गरे । उनीहरूले करिब एक लाख २२ हजारदेखि ६७ हजार वर्षअघिसम्म रहेका तालहरूलाई ध्यानमा राखेका थिए । यो त्यही समय थियो जतिबेला प्राचीन मानवहरू अरबमा फैलिँदै थिए ।
उक्त टोलीले ५५ वटा ठाउँमा प्राचीन तालका प्रमाणहरू फेला पा¥यो, जसमा सफा पानीमा पाइने शंखेकिरा र सिपीका खबटाहरू पनि थिए । तर, उनीहरूले ती ५५ वटै तालको आसपासमा प्राचीन मानवहरू बसेको कुनै ढुंगाका औजार वा अन्य प्रमाण भेटेनन् ।
ढुंगाको अभावकै कारण त्यहाँ मानव बस्ती नबसेको हो त ? यो कुरा जाँच्न रोज, डेलमोर र उनीहरूका सहकर्मीले एउटा कम्प्युटर मोडेल प्रयोग गरे । उनीहरूले अरब प्रायद्वीपका प्राचीन पानीका स्रोत र त्यहाँको भौगोलिक बनावटको नक्सा बनाए । त्यसपछि, ती नतिजाहरूलाई पहिलेका अनुसन्धानमा भेटिएका सयौं पुरातात्विक स्थलहरूको वितरणसँग तुलना गरे ।
यस विश्लेषणबाट के खुल्यो भने, प्रायद्वीपमा पानीको पहुँच भएका ५७ प्रतिशत जमिनमा औजार बनाउन योग्य ढुंगाको अभाव थियो । र, प्राचीन मानवका बस्तीहरू त्यस्ता ठाउँमा केन्द्रित थिए जहाँ पानी र ढुंगा दुवैको सुविधा थियो ।
रोजका अनुसार, नदीहरूले जस्तो एम्प्टी क्वार्टरका भूमिगत पानीले भरिने तालहरूले आफूसँगै उपयोगी ढुंगाहरू ल्याउन सक्दैनथे । मानिसहरूले स्रोतसाधन कम भएका ठाउँमा औजारहरू बोकेर लैजान त सक्थे तर यसले सानो समूहलाई छोटो समयको लागि मात्र धान्न सक्थ्यो ।
जर्मनीको युनिभर्सिटी अफ ट्युबिन्जेनका म्यानुअल विल भन्छन्, ‘यस अध्ययनले मरुभूमि जस्ता कठिन वातावरणमा रहेका प्राचीन मानव बस्तीहरूमा काँचो ढुंगाको महŒव कति थियो भन्ने पुरातŒवविद्हरू बीचको लामो बहसमा महŒवपूर्ण प्रकाश पारेको छ,’ उनी थप्छन्, ‘यसले प्राचीन मानवहरू आफू जाने ठाउँको छनोटमा निकै सचेत थिए र उनीहरू जस्तोसुकै ठाउँमा बस्दैनथे भन्ने स्पष्ट देखाउँछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्