नेभिगेशन
अचम्मको संसार

चिम्पान्जीले उपकरण दिएर बच्चालाई सिकाउँछन्

काठमाडौं  । वन्य चिम्पान्जीले बच्चालाई सिकाउन उपकरण हस्तान्तरण गर्ने र त्यसपछि उनीहरूलाई अभ्यास गराउने गरेको पाइएको छ । यसले साना चिम्पान्जीले प्रविधिसम्बन्धी सीप सिक्ने क्रममा सिकाइको भूमिका हुने धारणालाई थप बल दिएको छ ।
चिम्पान्जीले विभिन्न प्रकारका उपकरण बनाउने र प्रयोग गर्ने गरेको थाहा छ । उनीहरूले कमिलाको सिकार गर्न लट्ठी प्रयोग गर्ने, सिकार गर्न साधारण भाला बनाउनेलगायतका काम गर्छन् । तर उनीहरूले यस्ता सीप कसरी सिक्छन् भन्ने विषयमा भने अझै बहस हुँदै आएको छ ।
ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गरेको स्पष्ट छ । उदाहरणका लागि, युगान्डामा गरिएको एउटा अध्ययनले पोखरीबाट पानी सोस्न काईलाई स्पन्जजस्तै प्रयोग गर्ने चिम्पान्जीको संख्या बढेको देखाएको थियो । तर मुख्य प्रश्न के हो भने चिम्पान्जीले अरूलाई हेरेर व्यवहारको नक्कल गर्छन्, एकअर्कालाई सक्रिय रूपमा सिकाउँछन् वा एउटै कामका लागि स्वतन्त्र रूपमा एउटै समाधान निकाल्छन् ?
यसको जवाफ खोज्न स्पेनको बार्सिलोना विश्वविद्यालयकी आर. एड्रियाना हर्नान्डेज–अगुइलार र उनका सहकर्मीहरूले सेनेगलस्थित जेन गुडल इन्स्टिच्युटको जैविक अनुसन्धान केन्द्रमा राखिएका क्यामेरा ट्र्यापबाट खिचिएका १५ घण्टाको दृश्य विश्लेषण गरे । यी दृश्य सन् २०१७ देखि २०२५ बीचका थिए । क्यामेरा १४ वटा त्यस्ता स्थानमा राखिएका थिए, जहाँ वन्य पश्चिमी चिम्पान्जीले यसअघि उपकरण प्रयोग गरेको अभिलेख थियो । यसमा शैवाल, कमिला र धमिरा समात्न उपकरण प्रयोग गर्ने गरेको देखिएको थियो ।
क्यामेरा ट्र्यापले एउटा चिम्पान्जीले अर्को चिम्पान्जीलाई उपकरण हस्तान्तरण गरेका कुल ३३ वटा घटना रेकर्ड ग¥यो । तीमध्ये १९ वटा कमिला समातेर खान प्रयोग गरिने लठ्ठीसम्बन्धी, १० वटा शैवाल निकाल्नेसम्बन्धी र चारवटा धमिरा समात्नेसम्बन्धी थिए ।
सामान्यतया चिम्पान्जीले प्रयोग गरिरहेको मुख्य उपकरण नजिकको नातेदारलाई दिने गरेको देखियो । यस्ता घटनामध्ये ३० प्रतिशतमा आमाले आफ्ना सन्तानलाई उपकरण हस्तान्तरण गरेकी थिइन् ।
एउटा दृश्यमा सौक्की नामकी आमाले कमिलाको गुँडभित्र कमिला निकाल्ने लट्ठी छिराइन् । त्यसपछि उनले आफ्नी सानी छोरी साइसालाई समातेर उक्त उपकरण भएको ठाउँमा लगिन् । साइसायले लट्ठी बाहिर तानिन् र त्यसमा टाँसिएका कमिला खाइन् ।
‘उपकरण हस्तान्तरण अनुभवी चिम्पान्जीले साना चिम्पान्जीलाई सिक्न सहज बनाउन प्रयोग गर्ने सिकाउने एउटा माध्यम हुन सक्छ भन्ने धारणालाई हाम्रो अध्ययनले समर्थन गरेको छ,’ अनुसन्धान टोलीका सदस्य तथा बार्सिलोना विश्वविद्यालयकै आन्द्रेउ सान्चेज–मेगियासले भने ।
टोलीले कडा बोक्रा भएका फल ढुंगामा बजारेर फुटाउने चिम्पान्जीको व्यवहारसम्बन्धी ११ वटा स्थानमा राखिएका क्यामेराबाट थप ३० मिनेटको दृश्य पनि संकलन गरेको थियो । यसलाई उपकरणको प्रत्यक्ष प्रयोग नभई उपकरण प्रयोगको प्रारम्भिक रूप मानिन्छ, किनकि चिम्पान्जीले ढुंगालाई हातमा समातेर प्रयोग गर्ने नभई फल फुटाउने आधारका रूपमा प्रयोग गर्छन् ।
यस्तै एउटा घटनामा फेरे नामकी आमाले तीनवटा बाओबाका फल टिपेर आफ्नो सानो छोरा फोटीको नजिक राखिन् । एउटा किशोर भाले चिम्पान्जी (सम्भवतः फोटीको दाइ)ले एउटा फल उठाएर केही ढुंगामा बजार्न थाल्यो । फोटीले उसलाई हेरिरहेको थियो । त्यसपछि उक्त किशोरले फोटीको हात समातेर फलतिर लग्यो । फोटीले पनि आफैं प्रयास ग¥यो र अन्ततः एउटा फल फुटाउन सफल भयो ।
यी दृश्यले अरू सामाजिक प्रक्रियाहरू, जस्तै अरूलाई हेरेर सिक्ने र निगरानीमा अभ्यास गर्ने प्रक्रियाले पनि बच्चा चिम्पान्जीलाई उपकरण प्रयोग गर्न सिक्न सहयोग गर्ने देखाएको सान्चेज–मेगियासले बताए । अनुसन्धानकर्ताले अवलोकन गरेका अन्तरक्रियाका क्रममा एउटा महŒवपूर्ण कुरा पनि पाए । सिकाउने चिम्पान्जीले सिकिरहेको बच्चाको फाइदाका लागि आफ्नो खाना त्यागिरहेको थियो ।
‘यो महŒवपूर्ण अवलोकन हो, किनकि यसले पशु व्यवहारसम्बन्धी अनुसन्धानमा सिकाइका लागि प्रयोग हुने मापदण्डसँग मेल खान्छ । अर्थात्, सिकाउने व्यवहारले सिक्ने चिम्पान्जीलाई सिक्ने अवसर बढाउँछ र त्यसका लागि सिकाउने चिम्पान्जीले आफैंले केही लागत व्यहोर्नुपर्छ,’ बेलायतको सेन्ट एन्ड्रज विश्वविद्यालयका एन्ड्र्यु ह्वाइटेनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अचम्मको संसार