चाँडै नै बिग्रिएर खैरो भएका केरा फ्याँक्नुपर्ने दिन अब नआउने पनि हुनसक्छ । बेलायतको एउटा नयाँ कम्पनीले केरालाई खैरो हुनबाट रोक्ने उपाय पत्ता लगाएपछि यस्तो सम्भावना देखिएको हो । नर्विचमा रहेको ट्रोपिक बायोसाइन्सेसले विकास गरेको जीन सम्पादित केरा लामो समयसम्म टिक्नेछ र बोक्रा हटाएपछि पनि २४ घण्टासम्म पहेँलै रहनेछ ।
तर यो केरा सुपरमार्केटमा बिक्रीका लागि पुग्नुअघि अझ एउटा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ । बेलायतका वातावरणमन्त्रीले यो नयाँ प्रजातिका लागि बजारमा बिक्री गर्नेसम्बन्धी सूचना स्वीकृत गरिसकेका छन् । अब खाद्य मानक निकायको सुरक्षा परीक्षण पास गरेपछि मात्र यो केरा बिक्री गर्न सकिनेछ ।
युरोपेली संघका कडा जीन सम्पादनसम्बन्धी नियमबाट बेलायत अलग भएपछि बनेको नयाँ कानुनी व्यवस्थाको फाइदा उठाउँदै ट्रोपिकले सीआरआईएसपीआर–क्यास९ नामक प्रविधिबाट यो केरा विकास गरेको हो । कम्पनीले केरामा चोट लाग्दा वा धेरै दिनसम्म राख्दा खैरो हुने कारण बन्ने तीनवटा जीनमा परिवर्तन गरेको छ ।
यी परिवर्तनका कारण केरामा पोलिफेनोल अक्सिडेज नामक इन्जाइम उत्पादन हुन छाड्छ । यही इन्जाइमका कारण केरा खैरो हुने गर्छ ।
कम्पनीका प्रमुख कार्यकारी गिलाड गेर्सोनले ‘द टाइम्स’सँग कुरा गर्दै यो प्रविधिले खाद्य पदार्थको खेर जाने मात्रा घटाएर ठूलो आर्थिक लाभ सिर्जना गर्न सक्ने बताए । उनका अनुसार यसले सुपरमार्केटलाई फलफूलको सलाद, केरा प्रयोग हुने अन्य तयार परिकार तथा बनोफी पाईजस्ता खाद्य पदार्थमा काटेको केरा प्रयोग गर्न पनि सहज बनाउनेछ ।
बेलायतको वातावरण, खाद्य तथा ग्रामीण मामिला विभागका अनुसार करिब २० प्रतिशत केरा खैरो भएका कारण फ्याँकिने गर्छन् । जीनमा गरिएको परिवर्तनले केराको भण्डारण अवधि मात्र बढाउने छैन, पसलसम्म पु¥याउने क्रममा हुने चोटपटकबाट पनि फललाई जोगाउनेछ ।
सन् २०२२ मा बेलायत सरकारले जीन सम्पादनसम्बन्धी नियम खुकुलो बनाउन थालेपछि बेलायत कडा, बढी पौष्टिक र बदलिँदो जलवायुका लागि उपयुक्त बाली विकाससम्बन्धी अनुसन्धानको केन्द्र बनेको छ । वैज्ञानिकहरूले अब कुनै बालीको जीन हटाएर वा सोही प्रजातिका अन्य जातबाट जीन सारेर नयाँ जात विकास गर्न सक्छन् । यस्ता विशेषता परम्परागत प्रजनन प्रक्रियाबाट पनि बिस्तारै विकसित हुन सक्ने मानिन्छ ।
गेर्सोनका अनुसार केही जंगली केराका जात पनि खैरो हुन लामो समय लाग्छ । उनले भने, “हामीले त्यही विशेषता सुपरमार्केटमा पाइने केरामा ल्याएका हौँ ।”
बेलायतको वातावरण, खाद्य तथा ग्रामीण मामिला विभागले रोग प्रतिरोधी आलु, भिटामिन डी प्रशस्त भएको ‘सनसाइन’ टमाटर र गाईलाई खुवाउन मिल्ने उच्च बोसोयुक्त जौ विकास गर्ने वैज्ञानिकहरूको प्रस्तावलाई पनि स्वीकृति दिइसकेको छ । तर खाद्य मानक निकायले तीमध्ये कुनैलाई पनि पसलमा बिक्री गर्न अझै अनुमति दिएको छैन ।
एउटा प्रजातिको जीन अर्को प्रजातिमा सार्ने प्रक्रियालाई जीन परिमार्जन भनिन्छ । यस्तो प्रक्रिया भने बेलायतमा अझै गैरकानुनी छ ।
खाद्य मानक निकायले यी केरालाई बिक्रीका लागि स्वीकृति दिएमा त्यसमा ‘जीन सम्पादित’ भनेर छुट्टै लेबल लगाउनुपर्ने छैन । यी केरा बेलायतका अन्य भागमा नभई केवल इंग्ल्यान्डमा मात्र उपलब्ध हुनेछन्, किनभने यसको स्वीकृति दिने अधिकार सम्बन्धित क्षेत्रको अधिकारक्षेत्रअन्तर्गत पर्छ ।
उता, अत्यधिक गर्मी हुन थालेको यस वर्ष अहिलेसम्मकै खराब बाली उत्पादनको सामना गरिरहेका किसानका लागि अक्सफोर्ड विश्वविद्यालयबाट छुट्टिएको वाइल्ड बायोसाइन्स नामक कम्पनीले पनि जीन सम्पादन प्रविधिको प्रयोग गरी खडेरी र गर्मी सहन सक्ने गहुँ विकास गरिरहेको छ ।
ट्रोपिकले बढी उत्पादन दिने धानको जात विकास गरिरहेको छ । साथै, पानामा रोग प्रतिरोधी अन्य केराका जात पनि विकास गरिरहेको छ । यो रोग एउटा ढुसीका कारण लाग्छ र केराका बगानमा निरन्तर फैलिरहेको छ । यसले आगामी केही दशकभित्र अहिले सबैभन्दा धेरै उत्पादन हुने केराको जात नै समाप्त पार्न सक्ने खतरा रहेको वैज्ञानिकहरूले बताएका छन् ।
गेर्सोनले भने, “जीन सम्पादन वास्तविक संसारका समस्याहरू समाधान गर्ने निकै राम्रो माध्यम हो । यसले रोगसँग लड्न, खाद्य पदार्थ खेर जानबाट रोक्न र वातावरणमा पर्ने असर घटाउन मद्दत गर्न सक्छ । धेरै हिसाबले बेलायत यस्ता प्रविधि विकास गर्न निकै राम्रो ठाउँ हो । बेलायत सरकारको दृष्टिकोणले नै यस्तो अनुसन्धान अघि बढ्न सहयोग गरिरहेको छ ।”