विभिन्न सिकाइ शैलीहरूमा तालिम दिइएका हजारौं कृत्रिम न्युरल नेटवर्क (स्नायु सञ्जाल) हरूमध्ये, सबैभन्दा बढी उत्सुक मोडेलहरूमा बढी उन्नत र लचिलो सोच्ने क्षमता भएको अन्वेषकहरूले फेला पारेका छन् । यी मोडेलहरूले आफैं मानव मस्तिष्कसँग मिल्दोजुल्दो संरचनाहरू पनि निर्माण गरे ।
यी सञ्जालहरूले एकआपसमा जोडिएका खण्डहरू बनाए र मानिसको जस्तै विकास प्रक्रिया पछ्याए । उदाहरणका लागि, सुरुमा बाक्लो न्युरल कनेक्सनहरू (स्नायु जडानहरू) बन्ने र पछि आवश्यक नभएका जडानहरू हट्दै जाने प्रक्रिया यसमा देखियो ।
क्याम्ब्रिज विश्वविद्यालयका फ्रान्सेस्को पोली भन्छन्, ‘उत्सुकतालाई प्रायः जटिल मस्तिष्क हुनुको परिणाम मानिन्छ । तर, यदि यसले मस्तिष्क कस्तो हुने भनेर आकार दिन पो मद्दत गरिरहेको छ कि ?’
शिशुहरूले कसरी सिक्छन् भनेर बुझ्न, पोलि र उनका सहकर्मीहरूले ८ देखि १५ महिनासम्मका २७५ जना शिशुहरूको आँखाको चालको तथ्यांक संकलन गरे । शिशुहरूलाई स्क्रिनमा विभिन्न रंगीन आकारहरू देखाइएको थियो । ‘ती आकारहरू जथाभावी राखिएका थिएनन् र हरेक आकारको एउटा क्रम थियो जसलाई सिक्न सकिन्थ्यो,’ पोलि भन्छन् ।
शिशुहरूले कुन दृश्यले कति जानकारी दिन्छ भन्ने कुरामा निकै संवेदनशीलता देखाए । जब उनीहरूको सिक्ने गति औसतभन्दा कम हुन्थ्यो, उनीहरूले त्यसमा ध्यान दिन छाडेर नयाँ कुरा खोज्थे ।
यही सिद्धान्त प्रयोग गरेर टोलीले विभिन्न स्तरको ‘उत्सुकता’ भएका कृत्रिम नेटवर्कहरू बनाए र तिनलाई २० वटा काममा तालिम दिए । धेरै उत्सुक मोडेलहरूलाई सिक्ने गति कम हुनेबित्तिकै तुरुन्तै अर्को काममा लाग्ने गरी डिजाइन गरिएको थियो, जबकि कम उत्सुक मोडेलहरू जथाभावी काम परिवर्तन गर्थे ।
उत्सुक हुन् वा नहुन्, सबै सञ्जालहरू आफूलाई दिइएको तालिममा निपुण भए । तर तालिमपछि, उत्सुक मोडेलहरूले पहिले कहिल्यै नदेखेका परीक्षणहरूमा निकै राम्रो प्रदर्शन गरे । विभिन्न कुराहरूलाई आवश्यकताअनुसार एकसाथ जोड्न सक्ने यो क्षमता नै मानिसको जटिल सोचाइको प्रमुख विशेषता भएको पोलि बताउँछन् ।
उत्सुक मोडेलहरूले जटिल मस्तिष्कको जस्तै भौतिक विशेषताहरू पनि विकास गरे । अन्वेषकहरूले यी कृत्रिम सञ्जालहरूलाई मानव मस्तिष्कको बनावटमा आधारित भर्चुअल थ्रीडी (थ्री–डाइमेन्सनल) स्थानमा राखे । वास्तविक मस्तिष्कमा हुने लामो जडानको झञ्झटलाई झल्काउन उनीहरूले लामो दुरीका जडानहरूलाई निरुत्साहित गरे ।
यतिले मात्र मस्तिष्क जस्तो जटिलता ल्याउन पर्याप्त थिएन तर जब अन्वेषकहरूले यसमा ‘उत्सुकता’ थपे, मस्तिष्कका जस्ता धेरै विशेषताहरू देखा परे । उदाहरणका लागि, उत्सुक सञ्जालहरूले एकआपसमा धेरै जोडिएका क्षेत्रहरू भएको तहगत संरचना विकास गरे ।
उत्सुक सञ्जालहरूमा देखिएको एउटा विशेष विकास क्रमले पोलीलाई पनि अचम्मित बनायो । तिनीहरूको जडानको बाक्लोपन बढ्यो, अनि घट्यो । यो मानव मस्तिष्कमा हुने प्रक्रियासँग मिल्दोजुल्दो छ । मानव मस्तिष्कमा जीवनको पहिलो वर्षमा न्युरोनहरूबीचको जडान तीव्र रूपमा बढ्छ र त्यसपछि काम नलाग्ने जडानहरू हट्दै जान्छन् । सबैभन्दा धेरै जानकारी दिने काम खोज्ने उत्सुकताले नै ‘के राख्ने र के नराख्ने भन्ने छनोट प्रक्रियामा’ भूमिका खेल्ने उनको अनुमान छ ।
प्रत्येक सञ्जालको उमेर अनुमान गर्न, टोलीले ती नेटवर्कको जडान घटबढ हुने क्रमलाई सामान्य मानव विकासक्रमसँग तुलना ग¥यो । उनीहरूले पाए कि सबैभन्दा उत्सुक र मानिस–जस्तै मोडेलहरू विकासको परिपक्व चरणमा (करिब २० वर्षको उमेर जस्तो) पुगेका थिए । अर्कातर्फ, उत्सुकता र सही जडान नभएका मोडेलहरू सुरुवाती चरणमै (करिब ९ वर्षको उमेर जस्तो) अड्किएका थिए ।
जर्मनीको गोटिंगेन विश्वविद्यालयका अलिरेजा मोदिरशानेचीका अनुसार उत्सुकताले सिकाइलाई अझ प्रभावकारी बनाउँछ भन्ने कुरा अनौठो होइन, किनकि यसले हामीलाई धेरै सजिलो वा धेरै गाह्रो काममा समय खेर फाल्न दिँदैन । तर, यसले मानव मस्तिष्कको जस्तो संरचना निर्माण गर्छ भन्ने निष्कर्ष भने ‘निकै आश्चर्यजनक’ भएको उनी बताउँछन् ।
पोलीका अनुसार, कम उत्सुक सञ्जालहरूले आधारभूत तालिममा उत्सुक सञ्जालहरूले जस्तै राम्रो प्रदर्शन गरेका थिए । त्यसैले, उनीहरूमा जटिल सोच र मस्तिष्क जस्ता विशेषताहरू नहुनु भनेको उनीहरूले ढिलो सिक्नुको कारण मात्र होइन । ‘धेरै समय दिएको भए पनि तिनीहरू उस्तै नै रहन्थे होला,’ उनी भन्छन्, ‘उत्सुकताले सञ्जालहरूको सिक्ने तरिकालाई नै परिवर्तन गरिदियो ।’
जे होस्, यो अध्ययनले शिक्षामा उत्सुकताको महŒवलाई जोड दिएको पोली बताउँछन् । बालबालिकालाई लामो समयसम्म एउटै गतिविधि गर्न बाध्य पार्ने वातावरण विशेषगरी सुरुवाती चरणमा हानिकारक हुन सक्ने उनको भनाइ छ । ‘हामी के चाहन्छौं भन्ने कुरामा यो भर पर्छ । यदि हामी बालबालिका एकै ठाउँमा बसेर लामो समय एउटै काम गरून् भन्ने चाहन्छौं भने, हामीले उनीहरूलाई त्यस्तै तालिम दिनुपर्छ,’ तर यदि हामी उत्सुकता र सोच्ने क्षमताको कदर गर्छौं भने, हामीले बालबालिकालाई विभिन्न गतिविधिहरू छनोट गर्न दिने र त्यसपछि उनीहरूलाई स्वतन्त्र छोडिदिने कुरालाई प्राथमिकता दिनुपर्छ ।