नेभिगेशन
स्वास्थ्य
विज्ञान

‘द सेल्फिस जिन’को ५० वर्षपछि अब यसलाई अद्यावधिक गर्ने बेला आएको छ

मैले सन् १९८० को दशकमा न्युरोबायोलोजी (स्नायु जीवविज्ञान) र जनावरको व्यवहार अध्ययन गर्ने विद्यार्थीका रूपमा पहिलो पटक ‘द सेल्फिस जिन’ पढेको थिएँ । जीवविज्ञानी रिचर्ड डकिन्सले बीसौं शताब्दीको मध्यतिरको विकासवादी जीवविज्ञानको कामलाई जति स्पष्ट रूपमा प्रस्तुत गरेका थिए, त्यसको मैले प्रशंसा गरेको थिएँ ।
सन् १९७६ मा प्रकाशित यस पुस्तकको मुख्य विचार एकदमै सरल र रोमाञ्चक थियोः कुनै पनि जीवित प्राणी भनेको जिनलाई आउँदा पुस्ताहरूसम्म पु¥याउनका लागि थप प्राणीहरू बनाउने जिनको एउटा माध्यम मात्र हो ।
त्यतिबेला ‘द सेल्फिस जिन’ त्यति हानिकारक लाग्दैनथ्यो । डकिन्सका विचारहरू मूलधारको सामाजिक जीवविज्ञानसँग मेल खान्थे । यो एउटा लोकप्रिय पुस्तक थियो । यसले मेरा शिक्षकहरूले पहिल्यै पढाइरहेका विचारहरूलाई नै समेटेको थियो ।
जीवविज्ञानको इतिहासमा दशकौंको अध्ययनपछि अहिले यसलाई फेरि पढ्दा, यो त्यति सामान्य लाग्दैन । पुस्तकमा रहेको ‘जिनको दृष्टिकोण’मा अन्तर्निहित नियतिवादले मलाई सताउँछ र डकिन्सको भनाइमा प्राणीहरूको निष्क्रियताले पनि मलाई उस्तै असर गर्छ । यसमा प्राणीलाई एउटा ‘सवारीसाधन’ वा ‘नक्कल गर्ने मेसिन’ मात्र मानिएको छ । यसको अर्थ के हो भने, आक्रामकताजस्ता गुणहरू मानिसमा जन्मजात नै हुन्छन् । भाग्यवश, विगत केही दशकयता नयाँ उपकरणहरू, नयाँ मोडलहरू र धेरै विषयका विद्वान्हरूले जीवविज्ञानको जटिल वास्तविकतालाई स्वीकार गर्न थालेका छन् । आज पृथ्वीमा जीवनलाई बुझ्न खोज्ने पाठकहरूले फराकिलो दृष्टिकोण राख्ने पुस्तकहरू छान्नु नै राम्रो हुनेछ ।

जिन–केन्द्रित दृष्टिकोणहरू
‘द सेल्फिस जिन’ ‘आधुनिक विकासवादी संश्लेषण’को चरम रूप थियो । त्यस सिद्धान्तले समय र स्थानअनुसार जिनको विभिन्न संस्करणहरू (जसलाई एलिल भनिन्छ) को आवृत्तिमा हुने परिवर्तनहरूमार्फत, समष्टिको स्तरमा प्रजातिहरूको विकासलाई मापन गर्न गणितको प्रयोग गर्दछ ।
डकिन्सले ‘द सेल्फिस जिन’मा लेखेका छन्– जिनको दृष्टिकोण सन् १९३० को दशकमा आधुनिक संश्लेषणका अगुवा (तथा युजेनिसिस्ट) रोनाल्ड फिसर र उनका समकालीनहरूको लेखाइमा ‘अन्तर्निहित’ थियो, तर यसलाई सन् १९६० को दशकमा विकासवादी जीवविज्ञानीहरू जर्ज विलियम्स र विलियम ह्यामिल्टनले ‘स्पष्ट’ बनाए । ‘मेरो लागि,’ उनले लेखे, ‘उनीहरूको अन्तर्दृष्टिमा दूरदर्शी गुण थियो । तर मैले उनीहरूको अभिव्यक्ति धेरै संक्षिप्त पाएँ, पूर्ण रूपमा प्रस्ट थिएन ।’ त्यसैले ‘द सेल्फिस जिन’ले ती विचारहरूलाई तिनको चरम सीमामा पु¥याउँछ ।
आधुनिक संश्लेषणले विकासवादी जीवविज्ञान र आनुवंशिकीका दुई शाखाहरूलाई मिसाउँछः नियो–डार्विनियन विकास र मेन्डेलियन आनुवंशिकी । नियो–डार्विनियन विकासको स्थापना सन् १८९० को दशकमा जीवविज्ञानी अगस्ट वेजम्यानले आफ्नो पुस्तक ‘डाई किमप्लाज्मा’ (द जर्म प्लाज्म) मा गरेका थिए । यो पुस्तक ‘अन द ओरिजिन अफ स्पिसिज’मा आधारित छ । यसमा चाल्र्स डार्विनले एउटा मुख्य सिद्धान्त प्रस्तुत गरेका छन् — प्राकृतिक छनोट नामक आन्तरिक प्रक्रियामार्फत धेरै पुस्ताहरूसम्म प्राणीहरूको विकास हुन्छ । यो सन् १८५९ मा प्रकाशित ‘अन द ओरिजिन अफ स्पिसिज’को पहिलो संस्करणको डार्विनवाद हो । तर त्यसपछि र सन् १८७२ को बीचमा प्रकाशित पाँचवटा क्रमिक संस्करणहरूमा, डार्विनले ‘प्रयोग र प्रयोगविहीनताको प्रभाव’लाई बढ्दो रूपमा मान्यता दिएका थिए । यो प्रकृतिविद् जीन–बाप्टिस्ट लामार्कसँग जोडिएको विचार हो, जसअनुसार कुनै प्राणीले आफ्नो जीवनकालमा प्राप्त गरेका गुणहरू पुस्तौंपुस्तामा सर्न सक्छन् । उदाहरणका लागि, डार्विनले अन्धा गुफाका माछाहरू (अस्ट्यानाक्स मेक्सिकानस) का बारेमा लेखेका छन् । प्रकाशविहीन गुफामा पहिलो पटक पस्दा तिनीहरूका पुर्खाहरूका आँखा थिए । तर धेरै पुस्तासम्म प्रयोग नभएपछि, आँखाहरू नष्ट भए र त्यो परिवर्तन बिस्तारै वंशाणुगत बन्न पुग्यो ।
डार्विनले आफ्ना सिद्धान्तहरूमा यस्ता घटनाहरूलाई समेट्न नसकिने कुनै कारण देखेनन् । उनले यसको संयन्त्रका बारेमा भने कुनै अनुमान गरेनन् । आज, एक विकासवादी जीवविज्ञानीले तर्क गर्न सक्छन् कि प्रयोग नहुने आँखा जस्तो जटिल तर बेकारको संरचना बनाउनमा आफ्ना छिमेकीहरूभन्दा कम ऊर्जा खर्च गर्ने कुनै पनि जनावरसँग बढी ऊर्जा बच्छ, जसलाई उसले ठूला प्रजनन अंग बनाउन वा आफ्नो क्षेत्रको रक्षा गर्न प्रयोग गर्न सक्छ र यसरी बाँच्ने फाइदा पाउन सक्छ । तर वेजम्यानका लागि, डार्विनवादमा प्रयोग र प्रयोगविहीनतालाई समावेश गर्नु उद्देश्यवाद (टेलियोलोजी) तर्फको खतरनाक कदम थियो र यसले जैविक परिवर्तनको व्याख्या गर्ने जिम्मा धर्मगुरु र रहस्यवादीहरूलाई सुम्पिने जोखिम बढाउँथ्यो । उनले आमाबाबुबाट सन्तानमा केवल ‘जर्म प्लाज्म’ (शुक्रकीट र डिम्ब कोषहरूमा हुने पदार्थ) मात्र सर्छ भन्ने प्रस्ताव गरे । बाहिरको कुनै पनि कुराले प्रसारण हुने कुरालाई असर गर्न सक्दैन ।
आधुनिक संश्लेषणलाई बनाउने दोस्रो क्षेत्र भनिने मेन्डेलियन आनुवंशिकी, ग्रेगोर मेन्डेल (जुन उन्नाइसौं शताब्दीका भिक्षुको नामबाट यो क्षेत्रको नाम राखिएको छ)ले नभई प्रकृतिविद् विलियम बेटसनले आफ्नो अनौठो र उत्कृष्ट सन् १९०२ को पुस्तक ‘मेन्डेल्स प्रिन्सिपल्स अफ हेरिडिटीः अ डिफेन्स’मा आविष्कार गरेका थिए । मेन्डेलले केराउका बिरुवाहरू क्रस गराएर प्रयोगहरू गरेका थिए । र, सन् १८६६ मा गुणहरू कसरी हस्तान्तरण हुन्छन् भनेर नियमहरू वर्णन गर्दै एउटा शोधपत्र प्रकाशित गरेका थिए । उदाहरणका लागि, हरियो र पहेँलो केराउलाई क्रस गराउँदा कतिवटा सन्तान हरियो र कतिवटा पहेँलो हुन्छन् । अहिले हामीलाई के थाहा भइसकेको छ भने एउटै जिनद्वारा नियन्त्रित केही गुणहरूले मात्र उनले देखेको सरल ढाँचालाई पछ्याउँछन् ।
रुढीवादी मेन्डेलले ‘पिसम’ (केराउको प्रजाति)का लागि मात्र मान्य हुने नियम फेला पारेको दाबी गरेका थिए तर बेटसनले सबै वंशाणुगत गुणहरूले मेन्डेलको नियम पछ्याउने दाबी गरे । बेटसनको पुस्तक उनका प्रतिद्वन्द्वी र पहिलेका मिल्ने साथी वाल्टर वेल्डनका सिद्धान्तहरूविरुद्धको ‘एउटा प्रतिरक्षा’ थियो । यसले प्रकृतिले कसरी काम गर्छ भनेर यस्ता सफा र सरल नियमहरूले वर्णन गर्न नसक्ने तर्क गरेका थिए । वेल्डनले उचाइ जस्ता गुणहरू घण्टी आकारको, सामान्य वितरणमा निरन्तर फरक पर्ने कुरा औंल्याएका थिए । उनले यस्ता गुणहरू वंशाणुगत र वातावरणीय दुवै गरी धेरै कारकहरूको परिणाम भएको तर्क गरे ।
अन्ततः इतिहासकार ग्रेगरी रेडिकले तर्क गरेझैं, मेन्डेलवाद यसले कुनै आवश्यक सत्यलाई समेटेको भएर भन्दा पनि व्यावहारिक कारणहरूले गर्दा वंशाणुगत गुणको सर्वमान्य रूप बन्न पुग्यो । यो पढाउन सजिलो छ र पद्धतिगत रूपमा सरल छ ।

नयाँ जीवविज्ञान
आधुनिक संश्लेषणका दुवै अंगहरूले जिनलाई नै वंशाणुगत गुण निर्धारण गर्ने एकमात्र तŒवका रूपमा केन्द्रित गर्छन् । डकिन्स आउनुभन्दा धेरै अघि नै यी दुवै भागहरूले लगभग विश्वव्यापी स्वीकृति पाइसकेका थिए — यस क्षेत्रका समर्थकहरूको जोश र अहंकारले चुनौतीहरू र विकल्पहरूलाई टाढै राखेको थियो ।
एक इतिहासकारका लागि, यो विश्वव्यापी स्वीकृति कुनै विचारधाराको नजिक भएको जस्तो लाग्छ । भाग्यवश, ‘द सेल्फिस जिन’ प्रकाशित भएदेखि, विकासलाई अगाडि बढाउने आधारभूत संयन्त्रहरूबारे वैज्ञानिकहरूको बुझाइमा ठूलो परिवर्तन आएको छ ।
उदाहरणका लागि, नियो–डार्विनवादले सिकाउँछ कि विकास भनेको परिवर्तनशील वातावरणमा हुने एउटा अनियमित यात्रा हो, जसमा प्राणीलाई बाँच्न मद्दत गर्ने जुनसुकै गुणहरूलाई छनोटले साथ दिन्छ । आज धेरै विद्वानहरूले विकासको एउटा निश्चित दिशा हुनुपर्ने तर्क गर्छन् । उदाहरणका लागि, ‘हाउ लाइफ वक्र्स’ (२०२३) मा, पत्रकार फिलिप बल औँल्याउँछन् कि एउटा मात्र कोषमा विभिन्न प्रकारका अणुहरूबीच असंख्य सम्भावित अन्तरक्रियाहरू हुन्छन् । र, एउटा मानव शरीरमा करिब ३७ ट्रिलियन कोषहरू हुन्छन् । ‘यस्तो प्रणाली,’ बल लेख्छन्, ‘स्थिर हुने आशा त्यतिबेला मात्र गर्न सकिन्छ, जब यी सबै जटिलताहरूबाट बाहिर आउन सीमित संख्यामा मात्र सामूहिक तरिकाहरू देखा पर्न सक्छन् ।’ जीवित प्राणीहरू ती सीमित दिशाहरूमा विकसित हुन बाध्य छन् ।
विकासलाई एउटा अनियमित प्रक्रिया मान्ने नियो–डार्विनियन विचार जीवन निरन्तर रूपमा अझ ठूलो जटिलतातर्फ विकसित हुँदै गएको भन्ने अपरिहार्य अवलोकनको विपरीत देखिन्छ । बायोकेमिस्ट (जैवरसायनविद्) निक लेनले तर्क गरेका छन्– जीवनको उत्पत्तिदेखि नै, यस जटिलताको मुख्य चालक भनेको थर्मोडाइनामिक्सको दोस्रो नियम हो । त्यो भनेको एन्ट्रोपी अर्थात् अव्यवस्थित हुने प्रवृत्ति । ‘ऊर्जा बाहिर निकाल्ने रासायनिक प्रतिक्रियाहरू नै सबै प्राणीहरूको जीवित प्रक्रियाको केन्द्रमा हुन्छन्,’ उनले र अन्यले लेखेका थिए (डब्लू. एफ. मार्टिनलगायत, साइन्स ३४४, १०९२–१०९३; २०१४) । यस विचारको पछाडि रहेको विस्तृत रसायनशास्त्रलाई लेनको उत्कृष्ट सन् २०१५ को पुस्तक ‘द भाइटल क्वेशन’मा गहिराइमा वर्णन गरिएको छ । समग्र विचार के हो भने, सरल रूपहरूभन्दा जटिल जीवन रूपहरूले बढी ताप बाहिर फाल्छन् । ग्रहको बनावटलाई हेर्दा यो ऊर्जात्मक रूपमा अनुकूल भएकाले पृथ्वीको जीवन अझ बढी जटिलता र प्रचुरतातर्फ धकेलिएको छ ।
यी विचारहरू उद्देश्यवादी छैनन् । तिनीहरूले के तर्क प्रस्तुत गर्छन् भने हाम्रो ग्रहको जन्मदेखि नै यहाँ जीवनको सम्भावना थियो । जब जीवन सुरु हुन्छ, यसले ग्रहलाई परिवर्तन गर्छ र यसलाई बस्न योग्य बनाउँछ । केही स्पोर वा सूक्ष्मजीवहरू नांगो ज्वालामुखी चट्टानको चिरामा पुग्छन् । तिनीहरूले चट्टानलाई टुक्राउन थाल्छन् र जब सूक्ष्मजीवहरू बढ्छन् र मर्छन्, जैविक पदार्थहरू खनिजका कणहरूसँग मिसिएर माटो बन्छ । त्यसपछि एउटा बलियो सानो झारको बीउ त्यो चिरामा फस्छ र उम्रन्छ । चट्टानमा कुदिरहेको एउटा जनावरले त्यो बिरुवाको केही भाग खान्छ र दिसा गर्छ । त्यो दिसाले थप पोषक तŒवहरू थप्छ । अन्ततः त्यो नांगो चट्टान एउटा जटिल पारिस्थितिकी प्रणाली (इकोसिस्टम) को घर बन्छ ।
यस कुरालाई पहिलो पटक पहिचान गर्ने वैज्ञानिक नियो–डार्विनियनहरूले डराउने पात्र लामार्क थिए । यसलाई इतिहासकार जेसिका रिस्किनले प्रकृतिविद्को आफ्नो आकर्षक जीवनी ‘द पावर अफ लाइफ’ (२०२६) मा उल्लेख गरेकी छन् । प्राणीहरूले आफ्नो संसार बनाउनमा भाग लिन्छन् भन्ने कुरा लामार्कले बुझेका थिए । तिनीहरू निर्णयहरू गर्छन्, इच्छाहरू राख्छन् र आफ्नो वातावरणलाई आफू अनुकूल हुने गरी परिवर्तन गर्छन् । प्राविधिक भाषामा यसलाई ‘निस कन्स्ट्रक्सन’ भनिन्छ तर एउटा बीभरको बाँध वा खरायोको दुलो कसरी त्यस्ता परिमार्जनहरू हुन् जसले जनावरको वातावरणलाई सुरक्षित र आरामदायक बनाउँछन् र त्यसका मनपर्ने खानाहरू प्रशस्त बनाउँछन् भनेर देख्न धेरै सजिलो छ ।
आधुनिक संश्लेषणका सुरुवाती समर्थकहरूले वंशाणुगत प्रसारण (एक पुस्ताबाट अर्को पुस्तामा वंशाणुगत पदार्थको स्थानान्तरण) मा कडा ध्यान केन्द्रित गरेका थिए । तर कोषको जीवनमा प्रसारण एउटा अनौठो क्षणमा हुन्छ । कोष विभाजन हुँदा (शुक्रकीट र डिम्ब बन्ने समयसहित), डीएनए कडा रूपमा बेरिएर निष्क्रिय हुने भएकाले सबै सामान्य कोषीय गतिविधिहरू रोकिन्छन् । यो प्राकृतिक छनोट हुने समय होइन । यो छुट्टै दृष्टिकोणले वंशाणुगत गुणलाई बाँकी जीवनबाट अलग गरिदिन्छ ।
वर्षौंदेखि, जीवविज्ञानी, दार्शनिक र इतिहासकारहरूको एउटा समूहले यस्तो विस्तारित विकासवादी संश्लेषणको माग गर्दै आएको छ, जसले प्रसारणको यो सीमित समयभन्दा बाहिरका घटनाहरूलाई पनि समेटोस् । वंशाणुगत गुण एकैपटक धेरै स्तरहरूमा काम गर्दछ । उदाहरणका लागि, एपिजेनेटिक परिवर्तनहरू जसले जिनोममा हुने आणविक परिमार्जनहरू जसले डीएनए परिवर्तन नगरीकन जिनको अभिव्यक्तिलाई बदल्न सक्छन्, ती वंशाणुगत हुन्छन् भन्ने केही प्रमाणहरू छन् । इकोसिस्टमहरूमा धेरै जीवन रूपहरू समावेश हुन्छन् जसले एकअर्कासँग अनुकूलन गर्छन्, स्थिरता सिर्जना गर्छन् र एक प्रकारको होमियोस्टेसिस (सन्तुलन कायम राख्ने स्व–नियमन प्रक्रिया) विकास गर्छन् । यसले विनाशकारी परिवर्तनविरुद्ध लड्ने क्षमता दिन्छ । तपाईंको शरीरमा तपाईंका आमाबाबुको जिनबाट प्राप्त कोषहरूभन्दा बढी सूक्ष्मजीवका कोषहरू हुन्छन् । माइक्रोबायोम (सूक्ष्मजीवहरूको समूह) ले तपाईंको आनुवंशिक वंशाणुगत गुणमा प्रत्यक्ष रूपमा भाग लिँदैन, तर तपाईं त्योबिना बाँच्न सक्नुहुन्न ।
भर्खरै, म विकासवादी जीवविज्ञानीहरू स्कट गिल्बर्ट र डेभिड फेनिगद्वारा यसै वर्ष प्रकाशित ‘इको–इभो–डेभो’ नामक एउटा उत्कृष्ट पुस्तक पढिरहेको छु । यसले इकोलोजी (पारिस्थितिकी), विकास, आनुवंशिकी र विकासात्मक जीवविज्ञानलाई सँगै जोड्ने प्रयासलाई प्रतिविम्बित गर्दछ ।
पहिलो पटक, जीवविज्ञानीहरूले प्रकृतिका स्वेच्छाचारी टुक्राहरूलाई छुट्टै अध्ययन गर्नका लागि नछुट्याइकनै, प्राणीहरू र वातावरणको गतिशीलतालाई साँच्चिकै विचार गरिरहेका छन् । कम जिन–केन्द्रित दृष्टिकोण बढी सटीक छ र असीमित रूपमा बढी सन्तोषजनक पनि छ । (नेचर डटकम)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्