नेभिगेशन
खेलकुद
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

पुरुष फुटबलमा आर्मी क्लब विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार भएको खेलमा आर्मीले बागमतीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको उक्त खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बूले पहिलो गोल गरेका थिए भने दोस्रो गोल अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा गरेका थिए । उनको गोलसँगै आर्मीको जित सुनिश्चित भएको थियो ।
आर्मी क्लबका लाकेन लिम्बूले १२औँ, अनुभव पुरीले ३९औँ र विमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए । बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए ।
लुम्बिनीविरुद्ध पहिलो खेल जितेको आर्मीले बागमतीलाई पनि हराएपछि ६ अङ्क प्राप्त गरेको छ । पहिलो खेलमा कोशी प्रदेशसँग बराबरी खेलेको बागमतीको भने एक अङ्कमात्र छ । भोलि पहिलो खेल बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ तथा दोस्रो खेल दिउँसो २ः३० बजे गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
फुटबलमा कोशी प्रदेश विजयी
शुक्रबार भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ ।
कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको हो । कोशीका लागि मिलन राईले खेलको १२औँ र ३२औँ मिनेटमा दुई गोल गरेका थिए । त्यस्तै अमित सन सतारले १४औँ मिनेट तथा सौरभ लिम्बूले ६४औँ मिनेटमा गोल गरेका थिए ।
लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए । कोशीका खेलाडी प्रकाश भुजेलले खेलको ५८औँ मिनेटमा रातो कार्ड पाएर मैदान छाडेपछि कोशी प्रदेश १० खेलाडीमा सीमित भएको थियो ।
पहिलो खेलमा बागमतीसँग बराबरी खेलेर एक अङ्क पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अङ्क पु¥याएको छ । त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अङ्कविहीन भएको छ ।
महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा
यसैगरी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।
सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको हो । कर्णाली भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक क्रिकेट मैदानमा शुक्रबार भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । महिला राष्ट्रिय टोलीकी सदस्य तथा आर्मी क्लबकी सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाइन् । उनले १० चौका प्रहार गरिन् ।
त्यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाएर नटआउट रहिन् । आर्मीकी बिन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थपिन् । आर्मीले २० रन अतिरिक्त पाएको थियो । कर्णालीका बलर गङ्गा खड्का, रमा बुढाथोकी, सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट लिए ।
१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिममा ब्याटिङ गर्न आएकी कर्णालीकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर आठ रन बनाएर आउट हुँदा शिखा दवाडीले छ रन बनाइन् । त्यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाए ।
कर्णालीलाई सहजै समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिषाले जम्मा १० रनमात्र दिइन् ।
त्यस्तै यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेडन राखेर तीन विकेट लिइन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिइन् । लक्ष्मी साउदका नाममा एक विकेट रह्यो । आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित भइन् ।
चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सुरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा शुक्रबारदेखि शारीरिक सुगठन (बडीबिल्डिङ) खेल सुरु भएको छ ।
खेलको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र राष्ट्रप्रतिको गौरव बढाउने उल्लेख गर्दै उनले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरवको विषय भएको बताउँदै मन्त्री खड्का रोकाले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, खेलकुद क्षेत्रका सरोकारवाला, खेलाडी तथा आमनागरिक सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
उनले प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कर्णालीको पहिचान स्थापित गर्न सकिने विश्वास व्यक्त गरे । चौरजहारीमा सञ्चालन भइरहेको शारीरिक सुगठन प्रतियोगितामा सातवटै प्रदेशका साथै विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका खेलाडी सहभागी भएका छन् ।
दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास
कर्णाली प्रदेशको राजधानीबाट सबैभन्दा नजिकको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जिल्ला दैलेखको प्रसिद्ध शिरिस्थान मन्दिरको अखण्ड दीप (मूल ज्वाला) बाट आगो प्रज्वलन गरी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘ट्रफी टुर’ अभियान सुरु गरिएको छ ।
सुर्खेतबाट आएको विशेष टोलीले शिरिस्थान मन्दिरस्थित मूल ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार अभियानको शुभारम्भ गरेको हो । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रवीन चन्दले कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै ट्रफी टुरको औपचारिक उद्घाटन गरेका थिए । अभियानको सुरुआतसँगै दैलेख सदरमुकाम दैलेख बजारमा समेत भव्य परिक्रमा गरिएको थियो ।
उद्घाटन समारोहमा सदस्यसचिव चन्दले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशकै गौरव, प्रतिष्ठा र पहिचान स्थापित गर्न ऐतिहासिक कोसेढुङ्गा साबित हुने बताए । ट्रफी टुरमा सहभागी ओलम्पियन दीपक विष्ट, साग गेम्सका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहितको विशिष्ट खेलकुद टोलीलाई दैलेखको नारायण नगरपालिका र भैरवी गाउँपालिकाले भव्य स्वागत तथा सम्मान गरेको थियो ।
टोलीलाई सम्मान गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले शिरिस्थान मन्दिरको मूल ज्वाला बालेर राष्ट्रिय खेलकुदको अभियान सुरु गर्नुले दैलेखबाट देशभर नयाँ र सकारात्मक सन्देश प्रवाह भएको बताए ।
उनले भने, “दैलेखको ऐतिहासिक ज्वालालाई राष्ट्रियस्तरमा महत्त्व दिनु भनेको दैलेखलाई विश्वमाझ चिनाउनु हो । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै भोलिका दिनमा दैलेखको खेलकुद र समग्र विकासका लागि केन्द्रसम्म सहज पहुँच पुग्ने परिस्थिति सिर्जना गराउनेछ ।”
यो सन्देशले दैलेखको पहिचान र पहुँच छिट्टै राष्ट्रियस्तरमा स्थापित हुने विश्वास उनले व्यक्त गरे ।
दैलेखबाट सुरु भएको उक्त टर्च यात्रा कालीकोट, जुम्ला, मुगु हुँदै कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालसम्म पु¥याउने उद्देश्य राखिएको छ । ट्रफी टुर समापनपछि आगामी मङ्सिर १५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ट्रफी अनावरण गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते गरिने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने मङ्सिर ८ गतेबाटै सुरु भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्