नेभिगेशन
अर्थतन्त्र

मुद्दा खेपिरहेका मदिरा व्यापारी प्रधानमन्त्रीको भ्रमण दलमा

विदेश जान प्रतिवन्ध लगाइने सामान्य प्रावधानको उल्लंघन

काठमाडौं । सम्पत्ति शुद्धीकरण र सेयर कारोबारसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी भएका छन् । 
अर्बौं रुपैयाँको वित्तीय कारोबारमा अनियमितता, सम्पत्ति शुद्धीकरण र धितोपत्र बजारमा कृत्रिम कारोबार गरेको आरोपमा मुद्दा खेपिरहेका उद्योगी शाह प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा सहभागी भएका हुन् । 
नेपाल उद्योग परिसंघ (सीएनआई) बाट सिफारिस भएका शाह प्रधानमन्त्रीको भारत भ्रमणमा जाने ५२ सदस्यीय उद्योगी व्यवसायी टोलीमा परेका थिए ।  यसले सरकारी भ्रमणमा सहभागी छनोटको आधार र मुद्दा खेपिरहेका व्यक्तिको विदेश भ्रमणसम्बन्धी कानुनी अवस्थामाथि चासो बढाएको छ । 
जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाह मदिरा तथा पेय पदार्थ उद्योगमा संलग्न व्यवसायी हुन् । उनी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबारमा अनियमितता र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतबाट धरौटीमा रिहा भएका छन् । उनको नाम बीमा कम्पनीहरूको रकम दुरुपयोगसम्बन्धी अनुसन्धानमा पनि जोडिएको छ । सामान्यतया मुद्दा विचाराधीन रहेको अवस्थामा कसैंलाई  पनि विदेश जान रोक लगाउने प्रावधान छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायी सहभागी हुने सूचीमा शाह नेपाल उद्योग परिसंघका उपाध्यक्षका रूपमा समावेश छन् । परराष्ट्र मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधिहरूलाई प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गर्न विभिन्न व्यावसायिक संस्थाबाट नाम मागेको थियो । परिसंघले पठाएको सूचीमा अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीसहित शाहको नाम पनि समावेश थियो । 

मुद्दा चल्दैमा विदेश जान प्रतिबन्ध लाग्छ ?
सामान्यतया  कुनै व्यक्तिविरुद्ध मुद्दा दायर भएपछि फरार हुने आशंकामा विदेश भ्रमण गर्न प्रतिबन्ध लगाउने गरिन्छ । सामान्यतया प्रहरीकहाँ उजुरी मात्र पर्दा पनि स्थानीय अधिकारीको स्वीकृति बेगर शहर नछोड्न निर्देश गर्ने गरिन्छ । यद्यपि शाहलाई भने विदेश जान रोक लगाउन सम्बन्धित अनुसन्धानकारी निकाय वा अदालतबाट पासपोर्ट रोक्का, विदेश यात्रामा प्रतिबन्ध वा अन्य कानुनी आदेश जारी भएको सार्वजनिक भएको छैन । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनले अनुसन्धानको गम्भीरता र अवस्थाअनुसार अभियुक्तको पासपोर्ट जारी नगर्न वा रोक्का गर्न तथा निश्चित स्थान छाड्न नदिन आदेश दिन सक्ने व्यवस्था छ । 
त्यसैले शाह मुद्दा खेपिरहेको व्यक्ति भएकै कारण प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुन कानुनतः अयोग्य हुनुपर्ने तर्क रहेको छ । तर, उनीविरुद्ध कुनै अदालत वा अनुसन्धानकारी निकायले विदेश जान रोक लगाएको आदेश जारी गरेको थाहा नभएकाले र अदालतमा मुद्दा चलिरहेकाले केही भन्न नमिल्ने स्रोतहरु बताउँछन् । 
विशेष अदालतले उनलाई १ करोड ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटीमा रिहा भए पनि उनलाई मुद्दाबाट सफाइ दिएको छैन ।
 
१ अर्ब ४१ करोड बिगोको सम्पत्ति शुद्धीकरण मुद्दा
शाहविरुद्ध नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबारमा अनियमितता गरेको आरोपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको हो । अभियोगअनुसार उनले भृकुटी स्टक ब्रोकिङमार्फत १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद गर्दा पर्याप्त रकम भुक्तानी नगरी सेयर आफ्नो खातामा जम्मा गराएको आरोप छ । यस प्रकरणमा उनीसँग १ अर्ब ४१ करोड ८० लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ । 
विशेष अदालतले शाहसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर उनी मुद्दाको पुर्पक्ष बाहिरबाट गर्ने अवस्थामा छन् । तर, धरौटीमा रिहा भएको आदेशले विदेश यात्रा स्वतः खुला गरेको हो वा उनको यात्रामा छुट्टै प्रतिबन्ध थियो भन्ने विषय सार्वजनिक भएको छैन । 

बीमा रकम दुरुपयोगको अनुसन्धानमा पनि नाम
शाहको नाम हिमालयन रि–इन्स्योरेन्ससहित पाँच बीमा कम्पनीको रकम सेयर कारोबारमा प्रयोग गरिएको अनुसन्धानमा पनि जोडिएको छ । सीआईबीले विभिन्न व्यवसायी तथा संस्थासँग सम्बन्धित अर्बौं रुपैयाँको कारोबार अनुसन्धान गरेको छ । अनुसन्धानले बीमा कम्पनीको रकम सेयर खरिद तथा कारोबार राफसाफमा प्रयोग भएको विषय उठाएको छ । यद्यपि यी सबै कारोबारको रकम शाहको व्यक्तिगत कारोबारका रूपमा बुझ्न मिल्दैन र उनीमाथि लागेको आरोप अदालतबाट प्रमाणित हुन बाँकी छ । 
भ्रमण टोलीमा छनोटको आधार के?
प्रधानमन्त्रीको विदेश भ्रमणमा निजी क्षेत्रको सहभागिता आर्थिक कूटनीति, व्यापार विस्तार, लगानी प्रवद्र्धन र दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तारका लागि हुने अपेक्षा गरिन्छ । तर, भ्रमण टोलीमा व्यवसायी छनोट गर्दा सम्बन्धित संस्थाको सिफारिस मात्रै पर्याप्त हो वा सहभागीको व्यावसायिक पृष्ठभूमि, सार्वजनिक जवाफदेहिता र कानुनी अवस्थासमेत हेरिन्छ भन्ने प्रश्न उठेको छ ।
मुद्दा विचाराधीन व्यक्तिलाई भ्रमण टोलीमा सहभागी गराउनु गैरकानुनी रहेको तर्क स्रोतहरुको रहेको छ । तर, सरकारी उच्चस्तरीय भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गराउँदा छनोट प्रक्रिया पारदर्शी हुनुपर्ने र कुनै व्यक्तिमाथि कानुनी प्रतिबन्ध भए त्यसको पालना सुनिश्चित हुनुपर्ने दायित्व सरकारको हुने उनीहरु बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्