नेभिगेशन
दृष्टिकोण

आलोचना पचाउने कला

पत्रिका ‘क्लोजर’ मा प्रतिभाशाली लेखिका तथा अभिनेत्री डेजी मे कुपरबारे पढ्दा म निराश भएँ । किनभने आलोचनाको सामना गर्ने मामिलामा उनी निकै कमजोर रहिछन् । वास्तवमा, हाम्रा भरपर्दा पुराना मित्र ‘एक स्रोत’ का अनुसार, उनी ‘केही टिप्पणीहरू देखेर स्तब्ध भएकी छन् । चर्चित हुनु कहिलेकाहीँ उनका लागि तनावपूर्ण बनेको छ र उनी यस्ता कुराप्रति निकै संवेदनशील छिन् । उनलाई आलोचना पटक्कै मन पर्दैन । तर, उनका साथीहरूले आलोचकहरूका कुरा बेवास्ता गर्न र जीवनको आनन्द लिन उनलाई प्रोत्साहित गरिरहेका छन् ।’
मेरो विचार अल्पमतमा पर्न सक्छ । तर म मिस कुपरकी साथी भएको भए उनलाई सल्लाह दिने थिएँ– यी घृणा गर्नेहरूले वास्तवमा हाम्रो जीवनलाई अझ रमाइलो बनाउँछन् । उनीहरू नहुने हो भने हाम्रो यो नश्वर संसारको जीवन सधैं घाम लागेको र गुलियो मिठाइले भरिएको जस्तो मात्र हुन्थ्यो होला ।
हामी चलचित्रका स्टारहरूले आफ्नो जीवन कति कठिन छ भनेर गुनासो गरिरहेको सुन्न अभ्यस्त भइसकेका छौं । हालै एक जना चलचित्र कलाकारकी छोरी र अर्की एक कलाकारकी नातिनी डकोटा जोन्सनले ‘भोग’ पत्रिकाका लागि आफ्नो तस्बिर खिचिरहेका फोटोग्राफरसँग निकै गुनासो गरिन् ।
फोटोग्राफरले सोधे, ‘यदि तपाईं अभिनेत्री नभएको भए के बन्नुहुन्थ्यो जस्तो लाग्छ ?’
जोन्सनले जवाफ दिइन्, ‘अझ खुसी ।’
फोटोग्राफरले फेरि सोधे, ‘तपाईंको कामको सबैभन्दा कठिन पक्ष के हो ?’
उनले भनिन्, ‘भित्री यातना ।’
अभिनेताहरूले आफ्नो जीवन यति नराम्रो छ भन्नुको एउटा कारण उनीहरू बारम्बार आलोचनाको सिकार हुनु पनि हो । धेरै पत्रकारहरू पनि उत्तिकै दया देखाउँछन् । यसले मलाई सधैं आश्चर्यचकित बनाउँछ । किनभने, सबैभन्दा बढी कठोर हुनुपर्ने मानिस पत्रकारहरू नै हुन् भन्ने मेरो अपेक्षा हुन्छ । 
मेरा धेरै पत्रकार साथीहरू छन्, जो आफ्नो लेखमुनि पाठकहरूले गरेका टिप्पणीहरू हेर्नै चाहँदैनन् । उनीहरू मलाई भन्छन्, ‘म त हेर्नै सक्दिनँ । तिमी नै हेर र राम्रा टिप्पणीहरू मलाई सुनाऊ ।’
तर म भने लेखमुनिका टिप्पणीहरूमा नियमित सहभागी हुन्छु । मेरो लेखनको प्रशंसा गर्नेहरूलाई धन्यवाद दिन्छु । अझ रमाइलो त मलाई मेरो लेखन मन नपराउनेहरूसँग जुहारीमा हुन्छ । म निकै चर्चित भएको समयमा त कहिलेकाहीँ आफ्नैबारेमा कति घृणित छु भन्ने विषयमा छद्म नामबाट आफैंले छलफल सुरु गर्थें । त्यसपछि चुपचाप बसेर मानिसहरूले पोख्ने घृणा र आक्रोशको आनन्द लिन्थें ।
कहिलेकाहीँ मलाई लाग्छ, आलोचना र गालीगलौजमा रमाउनुको पछाडि आत्मपीडनको कुनै प्रवृत्ति त छैन ? धेरैजसो अवस्थामा म यसलाई आफ्नो कठोर स्वभाव र त्यसबारे देखाउने रवैयाका रूपमा व्याख्या गरेर टारिदिन्छु । तर कहिलेकाहीँ भने आफैँलाई प्रश्न गर्न मन लाग्छ ।
मध्यम उमेरमा हुँदा म वास्तवमै हात्ती जत्रै मोटी हुँदै थिएँ । त्यस्तो अवस्थामा कुनै पत्रिकामा आफ्नो नाममुनि ‘स्टार वार्स’को पात्र जब्बा द हटको तस्बिर देख्दा हाँस्नु, त्यो तस्बिर काटेर आफ्नो प्रेरणा बोर्डमा टाँस्नु सामान्य कुरा हो त ? वास्तविक आत्मपीडनको कुरा गर्दा मेरो विगत पनि कम रोचक छैन । म १७ वर्षकी हुँदा मेरो सप्ताहान्तको रमाइलो भनेको आफूभन्दा झन्डै २० वर्ष जेठो पुरुषबाट नराम्ररी पिटिनु थियो । किशोरकिशोरीहरूले कस्तो यौन व्यवहार गर्नुपर्छ भन्ने सरकारका पछिल्ला निर्देशनहरूको ठाडो उल्लङ्घन हुने खालको व्यवहार थियो त्यो । त्यसैले मानिसको मनोविज्ञान कस्तो हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । यो निकै रहस्यमय र धमिलो विषय हो । 
धेरै वर्षअघि, जब म ‘गार्डियन’ की स्तम्भकार थिएँ (यो कुरा लेख्दा पनि मेरो जीवन कुनै ज्वरोले सताएको बेला देखेको सपना त थिएन भन्ने लाग्छ), त्यतिबेला एक जना व्यक्ति मप्रति यति धेरै आसक्त थियो कि उसले मलाई आफ्नो यौनदासी बनाउने कल्पना गर्दै विस्तृत र क्रूर किसिमका धारावाहिक कथाहरू लेख्न थाल्यो । 
‘गार्डियन’ का एक दयालु कर्मचारीले त्यसबेलादेखि नै मेरो चिठीपत्र खोल्ने जिम्मेवारी लिएका थिए । त्यसअघि मैले रमाइलोका लागि आफ्ना सम्पर्क अधिकारीलाई सभ्य भनिने पाठकवर्ग वास्तवमा आफूले भेटेको सबैभन्दा रक्तपिपासु समूह हो भनेकी थिएँ ।
ती पत्रहरूको विषयवस्तु देखेर कर्मचारीहरू झन् चिन्तित भए । किनभने यौन उत्तेजनाले भरिएको त्यो लेखक एक दिन साँच्चिकै पत्रिकाको कार्यालयमै आइपुग्यो र म कहाँ छु भनेर सोध्दै खोज्न थाल्यो ।
म एउटा कुरा स्वीकार गर्न चाहन्छु । ‘गार्डियन’बाट पारिश्रमिक लिन मलाई कुनै आपत्ति थिएन । तर म कहिल्यै त्यसको कार्यालय धाउन सक्छु भन्ने कल्पनाले नै मलाई स्तब्ध बनाउँथ्यो । मेरो अपमान र अन्ततः क्रूरतापूर्वक हत्या गरिएको कल्पना गरेर रमाइरहेको यौन उत्तेजनाले भरिएको एक्लो मानिसको व्यवहारले भन्दा पनि त्यसले मलाई बढी अचम्मित तुल्याएको थियो ।
जे होस्, ‘गार्डियन’ले प्रहरीलाई बोलायो । मेरो घरनजिकै प्रहरी चौकी भएकाले होला, एक दिन दिउँसो अचानक एउटा भर्खरै जागिरमा लागेको जस्तो देखिने प्रहरी मेरो घरमा आइपुग्दा म खासै आश्चर्यचकित भइनँ ।
दुर्भाग्यवश, त्यतिबेला मेरो घरमा कोकिनको भव्य पार्टी चलिरहेको थियो । चर्को आवाजमा इलेक्ट्रोनिक नृत्य संगीत बजिरहेको थियो । घरका भुईंभरि सबैतिर कोलम्बियाली कोकिनको धुलोका अवशेष छरिएका थिए । केही चलायमान वस्तुहरूमा समेत त्यो धुलो पुगेको थियो ।
म वास्तविक जीवनमा निकै शिष्ट व्यवहार गर्ने व्यक्ति हुँ । त्यस दिन ती युवा प्रहरीलाई घरभित्र पस्न नदिनुपर्दा मलाई निकै दुःख लागेको थियो । उनी भने मेरो काँधमाथिबाट भित्रको कोलाहलपूर्ण र घिनलाग्दो दृश्य नियालिरहेका थिए ।
भोलिपल्ट बिहान उठ्दा सधैंजस्तै अघिल्लो रातको मदिरा र नशाका कारणको बेचैनी थियो । गम्भीर मनस्थितिमा मैले त्यो धम्कीलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने हो कि भन्ने सोच्न थालें । त्यसपछि मैले गार्डियनमा फोन गरेर ती डरलाग्दा पत्रहरू मलाई नै पठाइदिन सुझाव दिएँ ।
यति भनौं, अन्ततः मेरो चाहना पूरा भयो । ‘फिफ्टी शेड्स अफ ग्रे’को पाउन्डल्यान्ड संस्करणजस्ता ती आदिम र अपरिष्कृत पत्रहरू आइपुगेपछि म लिकोरिस अलसट्र्स मिठाइको एउटा झोला लिएर दुवैको स्वाद लिन बसें ।
पत्रहरू पढिसक्दा मलाई आफ्नो लामो र रक्तरञ्जित हत्याको काल्पनिक वर्णन पढेर जति दुःख लागेको थिएन, त्योभन्दा बढी दुःख त मैले ‘बर्टिज बटन्स’ नामका स्वादिष्ट, चपाउन मिल्ने साना मिठाइ अपेक्षाभन्दा धेरै खाइसकेकोमा लागेको थियो ।
आजभोलि म गम्भीर रूपमा अशक्त छु । यस्तो अवस्थामा समाजबाट तिरस्कृत र बदनाम बाहिरी व्यक्ति बन्ने मेरो चाहना हराइसकेको होला भन्ने तपाईंलाई लाग्न सक्छ । किनभने अहिले म वास्तवमै यस्तो जीवन बाँचिरहेकी छु, जहाँ धेरै घर र गतिविधिमा मेरो प्रवेश निषेध छ । तर पुराना बानी सजिलै मर्दैनन् ।
म अझै पनि सन् २००३ को समय सम्झेर रमाउँछु । त्यतिबेला ‘च्यानल फोर’ को ‘१०० सबैभन्दा खराब बेलायती’ सर्वेक्षणमा म ८५औं स्थानमा परेकी थिएँ । (शीर्ष पाँचमा टोनी ब्लेयर, केटी प्राइस, मार्गरेट थ्याचर, जेड गुडी र मार्टिन बशिर थिए ।)
यसको विकल्प झन् डरलाग्दो छ । एलन बेनेटले ५० वर्ष पनि नपुग्दै लेखेका थिए, ‘यदि तपाईं बेलायतमा ९० वर्षसम्म बाँच्नुभयो र अझै उमालेको अण्डा खान सक्नुहुन्छ भने मानिसहरू तपाईं नोबेल पुरस्कार पाउन योग्य हुनुहुन्छ भन्ने ठान्छन् ।’
आफूले उल्लंघन गर्न मन पराउने समाजका नियमहरूप्रति त्यही समाजले देखाउने सामूहिक घृणा र वितृष्णामा रमाउने सार्वजनिक व्यक्तिहरूका लागि सबैभन्दा डरलाग्दा दुई शब्द भने अझै प्रतीक्षामा छन्– ‘राष्ट्रिय सम्पत्ति’ । (नेसनल ट्रेजर) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
पन्तको ‘राणा’ लोकार्पित

पन्तको ‘राणा’ लोकार्पित