नेभिगेशन
मनोरञ्जन

हलमा १० वटा फिल्मको एकसाथ प्रतिस्पर्धा

सोमबारबाट देशभरिका सिनेमा हल खुलेका छन् । हलमा अहिले १० वटा फिल्मले एकसाथ प्रतिस्पर्धा गरिरहेका छन् । यी १० वटा फिल्म यसअघि नै रिलिज भएका पुराना फिल्म हुन् । नयाँ फिल्म दशैअघिसम्म रिलिज नहुने भएकाले यी पुराना फिल्मले अवसर पाएका हुन् ।

हलमा दर्शकको उपस्थिति ज्यादै न्यून रहेको हल सञ्चालकहरूले बताएका छन् । सोमबार दर्शकको उपस्थिति जम्मा १५ प्रतिशत रहेको र बुधबार असोज १ गते सरकारले सार्वजनिक बिदा दिएका कारण यसपछि दर्शक बढ्ने अपेक्षा हल सञ्चालकहरूको छ ।

अहिले नेपाली फिल्म ‘मोहर’, ‘माग्ने राजा’, ‘गुन्यु चोलो’, ‘कोशे ढुंगा’, ‘रिमै’, ‘जनै हराएको मान्छे’ प्रदर्शनरत छन् । यसैगरी ‘कन्जुरिङ ’, ‘डेमन स्लेयर’ र ‘बागी ४ ’, ‘परम सुन्दरी’जस्ता विदेशी फिल्म पनि प्रदर्शनरत छन् । फिल्म पण्डितहरूका अनुसार प्रदर्शनरत फिल्महरूमध्ये ‘मोहर’ र ‘माग्ने राजा’ले तुलनात्मक राम्रो व्यापार गरिरहेका थिए ।

सोमबारबाट सुरक्षा मापदण्ड विचार गर्दै हल सञ्चालनमा ल्याइएको छ । देशको अवस्था अन्योलपूर्ण रहेका कारण दर्शक पनि अन्योलमा रहेकाले निकै कम दर्शक देखिएको नेपाल चलचित्र संघले जनाएको छ । यति दर्शक आउनु पनि सुखद् हो । संघले नयाँ चलचित्र रिलिजपछि मात्र सिनेमा हलमा चहलपहल बढ्ने बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्