काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश गर्नु केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने ऐतिहासिक अवसर भएको बताएका हुन् ।
उनले नवप्रवेशी इन्जिनियरहरू अब प्राविधिक जनशक्ति मात्र नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौं नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास र समृद्धिको इतिहास इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको उल्लेख गर्दै सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहर निर्माणमा इन्जिनियरहरूको योगदान निर्णायक रहने बताए । उनले इन्जिनियरिङलाई केवल गणित र विज्ञानको प्रयोगमा सीमित नरही समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक विधाका रूपमा व्याख्या गर्दै सफल इन्जिनियरले संरचना मात्र नभई अवसर, विश्वास र भविष्य निर्माण गर्ने बताए । नेपाल अहिले ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवद्र्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको समुचित उपयोग तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यी लक्ष्य नीति र बजेटले मात्र नभई दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने स्पष्ट पारे । उनले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्व रहने उल्लेख गर्दै सरकारी सेवामा प्राविधिक दक्षताभन्दा नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण हुने बताए। सहज र सहीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आए सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने उनको भनाइ थियो । इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्र नभई समाजले गर्ने विश्वास भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न आग्रह गरे। जनताको सरकारप्रतिको विश्वास राष्ट्रसेवकको इमानदार व्यवहारबाट निर्माण हुने भएकाले प्रत्येक कर्मचारीले उच्च नैतिक आचरण कायम गर्नुपर्नेमा उनले जोड दिए ।
मन्त्री श्रेष्ठले विश्वभर तीव्र गतिमा विकसित भइरहेको प्रविधिले इन्जिनियरिङको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको आत्मसात् नगरी भविष्यका चुनौती सामना गर्न नसकिने बताए। आज प्राप्त ज्ञानलाई नियमित रूपमा अद्यावधिक गर्दै नवप्रवर्तनमुखी सोच विकास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । नेपालका स्रोत सीमित भए पनि सोच र सिर्जनशीलता सीमित हुन नहुने उल्लेख गर्दै उनले स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको प्रभावकारी संयोजनबाट भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे। कम लागतमा उच्च गुणस्तरका पूर्वाधार निर्माण, जलवायु परिवर्तनअनुकूल डिजाइन, हरित ऊर्जा, ऊर्जा दक्षता, डिजिटल प्रविधि र दिगोपनलाई विकासको आधार बनाउनुपर्नेमा उनले विशेष जोड दिए । पूर्वाधार निर्माणमा गुणस्तरसँग कुनै सम्झौता गर्न नहुने बताउँदै मन्त्री श्रेष्ठले डिजाइनदेखि कार्यान्वयन, सुपरिवेक्षणदेखि परीक्षणसम्म प्रत्येक चरणमा उच्च मापदण्ड कायम गर्न निर्देशन दिए। सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकतालाई कडाइका साथ पालना गर्न उनले आग्रह गरे । उनले देशले नयाँ पुस्ताका इन्जिनियरहरूबाट प्राविधिक दक्षतासँगै नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गरे।
मन्त्री श्रेष्ठले समृद्ध नेपाल संसद् वा मन्त्रालयले मात्र नभई हजारौं इमानदार, दक्ष र समर्पित राष्ट्रसेवकहरूको साझा प्रयासबाट निर्माण हुने विश्वास व्यक्त गर्दै नवप्रवेशी इन्जिनियरहरूलाई राष्ट्रहितलाई सर्वोपरि राखी समर्पण, इमानदारी र उत्कृष्ट कार्यसम्पादनका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।