नेभिगेशन
मनोरञ्जन

सरकारप्रति कलाकार सकारात्मक

जेनजी आन्दोलनपछि बनेको सरकारप्रति कलाकारहरूको प्रतिक्रिया सकारात्मक देखिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटाले आन्दोलनलाई विश्वले हेरिरहेको भन्दै खुशी मान्ने सर्वसाधारणलाई केही सुझाव पनि दिएका छन् ।

उनले आन्दोलनताका लुटिएका सामान फिर्ता गर्न सर्वसाधारणलाई सुझाव दिँदै वर्षौंदेखि विभिन्न राजनीतिक पार्टीबाट राजनीति गरेका र फरक विचार राख्ने साथीभाइलाई पनि नहोच्याई समान दृष्टिले हेर्न आग्रह गरेका छन् ।

उनी आफू जेनजीको बाउ भएको जनाउ दिँदै फेसबुकमा लेख्छन्, ‘मौका नपाउञ्जेल भ्रष्टाचारको विरोध गर्ने र मौका पाएपछि आफै यसमा लिप्त हुने प्रवृत्ति आफूभित्र छ भने निर्मूल पार्न, कसैले दुःख गरे र आफूभन्दा धेरै सम्पत्ति कमाए त्यसको लोभ नगरी, त्यस्तो बेलामा आफूमा गलत विचार आए विचारको घाँटी निमोठ्नू भनी सल्लाह दिएका छन् ।

कतै गल्तीले सरकारी र निजी सम्पत्तिमा आगो लगाउने काममा सहभागी भए गहिरो आत्मालोचना गर्नुका साथै असल नागरिकले निर्वाह गर्ने  सबै दायित्व निभाउने, झनै असल नागरिक बन्ने, भ्रष्टाचार नगर्ने र गर्न पनि नदिनेमा जोड दिनुपर्ने बताएका छन् ।

उनले कानूनी बाटोबाट सम्पत्ति कमाउन र धेरै रोजगारी सिर्जना गर्नेबारे सोच्न आग्रह गरेका छन् । उनले अर्थमन्त्री रामेश्वर खनाल तथा जलश्रोत मन्त्री कुलमान घिसिङले आफूले तलब नलिने घोषणा गरेकामा भने गज्जबको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘तलब लिए लिनुस्, नलिए नलिनुस् । यो अहिले मूल मुद्दा होइन । सबैलाई मिलाएर लैजाने अनि म्यान्डेड अनुसारको काम गर्नुस् । धेरै समय छैन ।’ 

यसैगरी कलाकार हरिवंश आचार्यले नयाँ अन्तरिम सरकार र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । उनले देशमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कार्कीको नेतृत्वमा देशले सही दिशा लिने विश्वास व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘देशले भोगेको ठूलो मानवीय र जनधनको क्षतिले नेपाल आमाको आँखामा बगिरहेको आँशु पुछ्न स्वच्छ छवि लिएर उभिएकी कार्कीको नेतृत्वले भ्रष्टाचार र देशको बेथितिविरुद्ध उभिएका युवा सपना पूरा गर्ने प्रणालीको विकास गर्न सबैको साथ अपरिहार्य छ ।’ उनले यस विषम परिस्थितिमा नेपाली से ना र राष्ट्रपतिले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । 

नायक प्रदीप खड्काले पनि नयाँ सरकारलाई देश र जनताप्रति आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन् । उनले लेखेका छन्, ‘नयाँ अन्तरिम सरकारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’ यो परिवर्तनका लागि योगदान दिने सबै योद्धाहरूलाई उनले कृतज्ञता व्यक्त गरेका छन् । साथै देशका लागि बलिदान दिएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेका लागि स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्