नेभिगेशन
मनोरञ्जन

‘एडोलसेन्स’का कुपर उत्कृष्ट

नेटफ्लिक्समा सार्वजनिक भएको यसै वर्षको प्रख्यात शृंखला ‘एडोलसेन्स’का १५ वर्षीय कलाकार ओवेन कूपरले ७६ औं एमी अवार्ड जितेका छन्  । एमी अवार्डको इतिहासमा यो पुरस्कार हात पार्ने उनी सबैभन्दा कान्छा कलाकार बनेका छन्  । उनले ‘एडोलसेन्स’बाट आउटस्ट्यान्डिङ सपोर्ट इन् अ मिनी सिरिज विधामा पुरस्कार जित्दै इतिहास रचेका हुन्  । ७७औँ प्राइमटाइम एमी अवार्डको समारोह अमेरिकाको लस एन्जलसस्थित पिकक थिएटरमा आइतबार सम्पन्न भएको थियो  ।

यसैगरी चर्चित अमेरिकी सिरिज युफोरियाबाट परिचित अभिनेत्री सिड्नी स्वीनीले प्रस्तुत गरेको यो अवार्डमा पुरस्कार घोषणा गर्दै गर्दा नाम कूपर तनावग्रस्त देखिएका थिए  । उनी आफ्नो नाम उच्चारण नहोला भन्ने तनावका कारण टाउको झुकाइरहेका थिए । तर स्वीनीले उनको नाम उच्चारण गरेलगत्तै उनले टाउको उठाएर आमा–बुबालाई अँगाल्दै भावुक प्रतिक्रिया जनाए ।

मञ्चमा पुरस्कार थामेपछि कूपर बोल्नै मुस्किल भएको देखिए  । माइकअघि उभिँदा उनले टाउको कन्याउँदै भने, “यहाँ उभिनु साँच्चिकै अस्वाभाविकजस्तो लागिरहेको छ । केही वर्षअघि अभिनय कक्षा सुरु गर्दा म एमीको मञ्चमा उभिने कुराको मात्र होइन, अमेरिकामा आइपुग्छु भन्ने पनि कल्पना पनि गरेको थिइनँ ।”

कूपरले प्रेरणादायी सन्देश दिँदै भने, “आजको यो रातले के प्रमाणित गरिदिएको छ भने यदि तपाईं कुनै कुरामा ध्यान केन्द्रित गरेर काम गर्नुहुन्छ, अरूका कुरा ध्यान दिएर सुन्न सक्नुहुन्छ र आफूलाई कम्फर्ट जोनबाहिर निकाल्ने साहस गर्नुहुन्छ भने, जीवनमा जे सुकै पनि हासिल गर्न सक्नुहुन्छ भन्ने प्रमाण म उभिएको छु  । तीन वर्षअघि म कोही थिइनँ, तर आज यहाँ छु । अलिकति साहस बटुल्नुहोस्, सुरक्षित दायराबाट बाहिर निस्कनुहोस्  । आफूलाई मन परेको काममा लाजै लाग्छ भने पनि डटेर लागिपर्नुस्  ।”

उनले आफ्ना आमाबाबु, नेटफ्लिक्स र ‘एडोलसेन्स’मा सह–अभिनय र निर्माण गरेका अभिनेता स्टिफेन ग्राहामप्रति आभार व्यक्त गरे । ‘एडोलसेन्स’ १३ वर्षे केटामाथि लगाइएको हत्या आरोपको कथामा आधारित छ । यसमा मुख्य पात्र जेमी मिलरको भूमिका निभाएका कूपर पहिलो एमी नामांकनमै विजयी हुँदै इतिहास रच्न सफल भए ।

सिरिजले मिनिसिरिजको श्रेणीमा करिब सबै अवार्ड जित्यो । यसले आउटस्यान्डिङ सपोर्टिङ एक्टर, आउटस्ट्यान्डिङ वर्क, निर्देशक, लेखन, लिड एक्टर र सपोर्टिङ एक्ट्रेस विधा गरी ६ वटा अवार्ड जित्यो । साथै क्रिएटिभ आट्र्स डिभिजनका पुरस्कारसमेत गरी यो सिरिजले ८ वटा अवार्ड हात पार्‍यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्