नेभिगेशन
अर्थतन्त्र

‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियान सुरु

काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन र स्टार्टअप संस्कृतिको विकास गर्ने उद्देश्यसहित ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियान औपचारिक रूपमा सुरु भएको छ । ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ विषयक विशेष कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा अभियानको शुभारम्भ गरिएको हो । आयोजकका अनुसार अभियानले युवाको सिर्जनशीलता, ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्दै बढ्दो ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । यसअन्तर्गत विद्यार्थी, युवा तथा व्यवसाय गर्न इच्छुक व्यक्तिलाई स्टार्टअप स्थापना, व्यवसाय दर्ता, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार तथा जोखिम व्यवस्थापनलगायत विषयमा व्यवहारिक जानकारी प्रदान गरिनेछ । कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको छ भने आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित देशभरका विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

अभियानमार्फत सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी र लगानीकर्ताबीच सहकार्य बढाएर नेपालमा सुदृढ स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालय शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रम देशभर विस्तार गर्नुपर्ने बताए ।

विश्वविद्यालयले आवश्यक सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । कार्यक्रमकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले युवा पलायनलाई अवसरमा रूपान्तरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउँदै नेपालमै अवसर सिर्जना गर्ने वातावरण निर्माण अभियानको मुख्य उद्देश्य रहेको बताइन् । उनले आगामी दिनमा सातै प्रदेश र ७७ जिल्लामा पुगेर स्टार्टअप, नवप्रवर्तन, लगानी, व्यवसाय सञ्चालन र सरकारी नीतिबारे व्यवहारिक प्रशिक्षण सञ्चालन गरिने जानकारी दिइन् । कार्यक्रममा करिब २०० जना विद्यार्थी, प्राध्यापक, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । सफल नेपाली स्टार्टअप उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएर स्टार्टअप कर्जा उपयोग गरी व्यवसाय सञ्चालन गरेका उद्यमीका अनुभव समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्