नेभिगेशन
अर्थतन्त्र

नाडाको अर्ली बर्ड टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापना भएको ५०औं वर्षको अवसरमा आयोजना गर्न लागेको १८औं नाडा अटो शो–२०२६’ का लागि अग्रिम (अर्ली बर्ड) टिकट खरिदमा ५० प्रतिशत छुटको घोषणा गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुने अटो शोका लागि डिजिटल माध्यमबाट टिकट खरिद गर्ने अवलोकनकर्ताले यो सुविधा प्राप्त गर्नेछन् । नाडाका अनुसार खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत अग्रिम टिकट खरिद गर्दा साधारण तथा विद्यार्थी दुवै वर्गका टिकटमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिका लागि मात्र लागू हुने भएकाले समयमै टिकट खरिद गर्न आयोजकले आग्रह गरेको छ । यस वर्षको नाडा अटो शोको मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ । नाडाले ५० वर्षको यात्रा पूरा गरेको अवसरलाई विशेष बनाउन खल्तीसँगको सहकार्यमा अर्ली बर्ड छुट योजना ल्याएको जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीमा विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने नवीनतम दुईपांग्रे र चारपांग्रे सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि, स्पेयर पाट्र्स, लुब्रिकेन्ट, वित्तीय सेवा तथा बिमा सुविधासम्बन्धी स्टलहरू रहनेछन् । नाडाले ५० वर्षको गौरवपूर्ण यात्रालाई उत्सवका रूपमा मनाउँदै अटोमोबाइल क्षेत्रमा विकसित नयाँ प्रविधिसँग सर्वसाधारणलाई परिचित गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ । प्रदर्शनीमा अटोप्रेमी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्