नेभिगेशन
प्रवास

बैंककमा नेपाली कला प्रदर्शनी

बैंकक । नेपाली कलाको प्रवर्धन तथा नेपाली हस्तकलाका सामग्रीहरूको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले बैंककमा १ महिनासम्म नेपाली कला तथा हस्तकलाको प्रदर्शनी हुने भएको छ । 
नेपाली राजदूतावास , बैंककद्वारा थाइल्यान्डको राजधानी बैंककमा थालिएको प्रदर्शनीमा नेपालको बौद्ध दर्शन , कला , संस्कृति र परम्परा झल्काउने मौलिक हस्तकला प्रदर्शनीमा राखिएका छन् ।  
प्रदर्शनीमा अल्लो , भाङ , कपास , ढाका र ऊनलगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्यान्डका शाही कलाकार सकुन इन्ताकुलको डिजाइनअनुसार नेपालका विभिन्न घरेलु उद्योगमा आबद्ध सिद्धहस्त शिल्पकर्मीहरूले तयार पारेका कलाकृतिहरू समावेश गरिएका छन्।
यसैगरी , डोल्पाका प्रसिद्ध कलाकार तेन्जिन नोर्बु , ढाका कपडाका विशिष्ट शिल्पी चुनु बास्तोला , कुम्बेश्वर टेक्निकल स्कुल तथा नेपालका दक्ष गलैँचा उत्पादकहरूले तयार पारेका गलैँचा , चित्रकला , पुष्पकला तथा अन्य सांस्कृतिक कलाकृतिहरू पनि प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीमा आगन्तुकहरूले चारवटा विशिष्ट कलात्मक अनुभूतिमार्फत नेपालको हिमाली कला , संस्कृति र आध्यात्मिक परम्पराको यात्रा गर्नेछन् । उनीहरूले तोर्माबाट प्रेरित समकालीन हिमाली गलैँचा तथा चित्रकला , हिमाली कला र संस्कृतिसँग सम्बन्धित सामग्री , अल्लो तथा भाङका रेसाबाट निर्मित पुष्पमूर्तिकला र हातले बुनिएका ढाका कपडाबाट सिर्जना गरिएका बाघमा आधारित कलाकृतिहरूको अवलोकन गर्न सक्नेछन् । साथै , बाघ र तोर्माका प्रतीकमार्फत प्रज्ञा , करुणा तथा प्रकृतिसँगको सन्तुलित सहअस्तित्वलाई कलात्मक रूपमा अभिव्यक्त गरिएका विशिष्ट सिर्जनाहरू पनि प्रदर्शनीका प्रमुख आकर्षण रहेका छन्। 

उद्घाटन समारोहमा विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि , थाइल्यान्ड सरकारका उच्च अधिकारी , व्यवसायी , प्राज्ञिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधि , कला तथा संस्कृतिसम्बन्धी व्यक्तित्व , गैरआवासीय नेपाली संघ , थाईनेपाल मैत्री संघ , थाई नेपाली संघ , थाइल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका सदस्य , सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालको कला र संस्कृतिसँगै नेपाली खानाको समेत प्रवद्र्धन गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न नेपाली परिकारहरू उपलब्ध गराइएको थियो। यो प्रदर्शनी थाइल्यान्डको बैंककस्थित रिभर सिटीमा ३० अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्