नेभिगेशन
अर्थतन्त्र

जीवन बीमा क्षेत्रमा सकारात्मक वृद्धि

२ खर्ब ४ अर्बभन्दा बढी बीमा शुल्क संकलन

काठमाडौं । समग्रमा जीवन बीमा क्षेत्रले सकारात्मक वृद्धि हुँदा जीवन बीमा कम्पनीहरु बागमतिमा वढी केन्द्रीत भएको देखिएको छ । बागमती प्रदेशमा मात्र व्यवसाय अत्यधिक केन्द्रित हुनु र कर्णाली तथा सुदूरपश्चिम जस्ता प्रदेशमा पहुँच कम हुनु प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्मको जीवन बीमा व्यवसायको विस्तृत तथ्याङ्क अनुसार नेपालको जीवन बीमा बजारले उल्लेखनीय प्रगति गर्दै कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।यो रकम १४ वटा जीवन बीमा कम्पनी, तीन वटा लघु जीवन बीमा कम्पनी र वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत संकलन भएको हो ।
कुल संकलित बीमाशुल्कमध्ये नवीकरण बीमाशुल्कको हिस्सा झन्डै ७३ प्रतिशत रहेको छ । तथ्याङ्क अनुसार १ खर्ब ५० अर्ब ७२ करोड रुपैयाँ नवीकरण बीमाशुल्क र ५३ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ । 
१४ वटा जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि रहेको छ । सो कम्पनीले असार मसान्तसम्म कुल ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ । तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड रहेको छ, जसको संकलन २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ छ ।
अन्य प्रमुख कम्पनीहरूमा हिमालयन लाइफले १८ अर्ब ५६ करोड, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड, एशियन लाइफले १० अर्ब ४३ करोड र सिटिजन लाइफले ९ अर्ब १६ करोड रुपैयाँ संकलन गरेका छन् । 
देशभर हाल कुल १ करोड ६७ लाख ९२ हजार २३० वटा बीमालेख सक्रिय छन् । रिलायबल नेपाल लाइफसँग सबैभन्दा धेरै २४ लाख ४१ हजार ७६१ सक्रिय बीमालेख छन् भने नेपाल लाइफसँग १९ लाख ८२ हजार ९२३ र नेशनल लाइफसँग १३ लाख ३३ हजार ६५९ बीमालेख सक्रिय छन् । असार महिनामा मात्रै ७ लाख ६० हजार १२९ वटा नयाँ बीमालेख जारी भएका छन्, जसबाट करिब १० अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ ।
बागमतीको प्रभुत्व
बीमा व्यवसायको प्रादेशिक वितरण असमान देखिएको छ । बागमती प्रदेश एक्लैले कुल बीमाशुल्कमध्ये ८६ अर्ब ९६ करोड रुपैयाँ योगदान गरेको छ, जुन करिब ४२ प्रतिशत हो । यस प्रदेशमा मात्रै १ करोड ३ लाख ७० हजार ७९६ वटा सक्रिय बीमालेख छन् ।
लुम्बिनी प्रदेशले ३३ अर्ब रुपैयाँभन्दा बढी, कोशी प्रदेशले २५ अर्ब १६ करोड, गण्डकी प्रदेशले २१ अर्ब ३० करोड, मधेश प्रदेशले १९ अर्ब १३ करोड, सुदूरपश्चिम प्रदेशले १२ अर्ब ८१ करोड र कर्णाली प्रदेशले ६ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कर्णाली प्रदेश बीमा पहुँच र व्यवसाय दुवैमा सबैभन्दा पछाडि रहेको छ ।
लघु जीवन बीमाद्वारा सवा अर्ब संकलन
लघु जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफसँग गरी २४ लाख ९३ हजारभन्दा बढी सक्रिय बीमालेख छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ संकलन भएको छ । यसको सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशमा केन्द्रित छ ।
सावधिक जीवन बीमा सबैभन्दा लोकप्रिय योजना बनेको छ । यसबाट ८२ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ३७ अर्ब ६७ करोड, बालबच्चा सम्बन्धी सावधिकबाट ३३ अर्ब ८२ करोड र रुपान्तरित सावधिकबाट २३ अर्ब ९६ करोड रुपैयाँ संकलन भएको छ । बीमालेख संख्याका आधारमा भने लघु जीवन बीमा अग्रस्थानमा छ, जसका ८२ लाख ६० हजारभन्दा बढी बीमालेख सक्रिय छन् ।
असार महिनामा मात्रै साढे २८ अर्ब संकलन 
आर्थिक वर्षको अन्तिम महिना असारमा कुल २८ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो महिनामा मात्रै ७ लाख ६० हजारभन्दा बढी नयाँ बीमालेख जारी भए । 
नेपाल लाइफको स्पष्ट अग्रता
१४ वटा जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड व्यावसायिक हिसाबले स्पष्ट रूपमा अगाडि देखिएको छ । नेपाल लाइफले असार मसान्तसम्ममा कुल ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसमा प्रथम बीमाशुल्क १३ अर्ब ७ करोड ९२ लाख र नवीकरण बीमाशुल्क ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ समावेश छ । यो कम्पनीले जारी गरेको बीमालेख संख्या पनि उल्लेखनीय छ ।
व्यवसायका आधारमा दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ, जसले कुल २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ । तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड रहेको छ, जसले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
यसैंगरी हिमालयन लाइफ इन्स्योरेन्सले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ संकलन गरेका छन् । 
असार महिनामा मात्रै हेर्दा पनि नेपाल लाइफले ७ अर्ब ५९ करोड रुपैयाँ हाराहारी कुल बीमाशुल्क संकलन गरेको थियो भने अन्य कम्पनीहरूले पनि आर्थिक वर्षको अन्तिम महिनामा उत्साहजनक नतिजा देखाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्