नेभिगेशन
अर्थतन्त्र

माछापालनमा बंगलादेशको सफलताबाट नेपालले सिक्न सक्छः राजदूत रहमान

चितवन । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले बंगलादेशले मत्स्य क्षेत्रको विकासमा हासिल गरेको सफलता नेपालका लागि पनि उपयोगी हुन सक्ने बताएका छन् ।
चितवनमा आयोजित नेपाल फिसरीज डेभलपमेन्ट एसोसिएसन (एनएफडीए) को पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन सत्रमा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै राजदूत रहमानले वैज्ञानिक अनुसन्धान, प्रभावकारी नीतिगत समन्वय, निजी क्षेत्रको सहकार्य र लाखौँ माछापालक तथा माछा मार्ने समुदायको योगदानले बंगलादेश विश्वका अग्रणी मत्स्य उत्पादक मुलुकमध्ये उभिएको बताए ।
कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।
राजदूत रहमानले बंगलादेशले आधुनिक ह्याचरी विकास, जलचर पालन (एक्वाकल्चर) को विस्तार, खुला जलक्षेत्रको सामुदायिक व्यवस्थापन, जलचर संरक्षण, गुणस्तरीय दाना तथा रोग व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत मत्स्य क्षेत्रलाई अघि बढाएको बताए । सरकार, शैक्षिक क्षेत्र र निजी क्षेत्रबीचको सहकार्यलाई पनि उनले बंगलादेशको मत्स्य क्षेत्रको विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे ।
नेपाल र बंगलादेशबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत रहमानले दुवै देश भौगोलिक तथा पारिस्थितिक रूपमा पनि जोडिएको बताए । हिमालयबाट उत्पत्ति भएका नदी प्रणालीमार्फत दुई देशबीच जलस्रोत तथा जलचर प्रणालीको सम्बन्ध रहेको उनको भनाइ थियो ।
उनले नेपाल र बंगलादेशबीच मत्स्य तथा जलचर पालनको क्षेत्रमा सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको बताए । दुवै देशमा नयाँ नेतृत्व आएसँगै बढ्दो द्विपक्षीय सम्बन्धमा मत्स्य क्षेत्रलाई महत्वपूर्ण आधार बनाउन सकिने उनको धारणा थियो ।

नेपालका सिमसार क्षेत्र तथा जलाशयमा बंगलादेशले सफलतापूर्वक प्रयोग गरेको खुला जलक्षेत्रको मत्स्य विकास मोडल अपनाउन सकिने उनले बताए । त्यसका साथै माछाको उत्पादनपछिको प्रशोधन तथा मूल्य अभिवृद्धि, प्राविधिक सहयोग र ज्ञान आदानप्रदान, संयुक्त अनुसन्धान, तालिम तथा अनुसन्धानकर्ता र वैज्ञानिकको आदानप्रदानमा सहकार्य गर्न सकिने उनले उल्लेख गरे ।
मत्स्य विज्ञ, प्राविधिक तथा निजी क्षेत्रबीच साझेदारी र लगानी विस्तारका साथै विश्वविद्यालय, अनुसन्धान संस्था तथा मत्स्यसम्बन्धी संघसंस्थाबीच संस्थागत सहकार्य आवश्यक रहेको पनि राजदूत रहमानले बताए ।
जलवायु परिवर्तनका कारण मत्स्य तथा जलचर क्षेत्रमा चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले जलवायु अनुकूल तथा दिगो जलचर पालन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । जलचर पारिस्थितिक प्रणालीको संरक्षण, जैविक विविधताको रक्षा र भावी पुस्ताका लागि मत्स्य स्रोतको जिम्मेवार व्यवस्थापन गर्न दिगो अभ्यास आवश्यक रहेको उनको भनाइ थियो ।
राजदूत रहमानको भनाइप्रति प्रतिक्रिया दिँदै कृषि, वन तथा वातावरणमन्त्री गीता कुमारी चौधरीले नेपाल र बंगलादेशबीच मत्स्य क्षेत्रको विकासका लागि सहकार्य गर्न सकिने सम्भावनाबारे राजदूतले राखेका विचार सकारात्मक रहेको बताइन् । उनले नेपाल बंगलादेशसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् ।
राजदूत रहमानले एनएफडीएको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनलाई ऐतिहासिक सुरुवात भन्दै संस्थाको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्