नेभिगेशन
मनोरञ्जन

पारपाचुके विवाद सकियो

भारतको तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता थलापति विजय र उनकी पत्नी सङ्गीताबीच अदालतमा चलिरहेको सम्बन्ध विच्छेदको मुद्दा अन्त्य भएको छ । एएनआई एजेन्सीका अनुसार सङ्गीताले तमिलनाडुको चेंगलपट्टु जिल्ला अदालतमा दिएको सम्बन्ध विच्छेदको निवेदन फिर्ता लिएकी हुन् ।
सङ्गीताले विजयको एक अभिनेत्रीसँग विवाहेत्तर सम्बन्ध रहेको र त्यसबाट आफूलाई भावनात्मक चोट पुगेको दाबी गरेकी थिइन् । लामो समयदेखि विजयको नाम अभिनेत्री तृषासँग जोडिने गरेको छ । उनीहरू धेरै कार्यक्रमहरूमा सँगै देखिए पनि अफेयरबारे दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०२६ को तमिलनाडु चुनावबाट राजनीति सुरु गरेका विजय राज्यको मुख्यमन्त्री बनेका छन् । उनको शपथ ग्रहण समारोहमा भने सङ्गीता उपस्थित थिइनन् । विजय र सङ्गीताको विवाह प्रेमविवाह थियो। श्रीलंकाली मूलकी सङ्गीता बेलायतमा हुर्केकी हुन् । उनका बुबा बेलायतका व्यापारी हुन् । 
विजयकी फ्यान रहेकी सङ्गीता सन् १९९० मा उनको फिल्म ‘पुवे उन्नाकागा’ रिलिज भएपछि भारत आएकी थिइन् । भेटघाट बाक्लिएपछि विजयले उनलाई घरमा खानाको निम्तो दिएर विवाहको प्रस्ताव राखेका थिए। उनीहरूको विवाह सन् १९९९ मा भएको थियो । यो दम्पतिका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्