नेभिगेशन
मनोरञ्जन

थपिए ‘हली’ र ‘कमला मिस’

घरेलु बक्स अफिसमा फिल्म ‘गौँथली’ले बलियो पकड बनाउँदै गर्दा र तीन सातामै साढे १६ करोडको व्यापार गरिसकेको फिल्मप्रति दर्शकको आकर्षण अझै घटेको छैन । यस्तो अवस्थामा शुक्रबारबाट दुई नयाँ फिल्म ‘हली’ र ‘कमला मिस’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फिल्म विषयवस्तुका हिसाबले नितान्त फरक छन् ।
अभिनेता नीर शाहको निर्देशनमा बनेको ‘कमला मिस’मा शाहसहित रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसीलगायतका कलाकारहरूले अभिनय गरेका छन् । यो फिल्म साहित्यकार विजय मल्लद्वारा लिखित नाटक ‘कोही किन बर्बाद होस्’मा आधारित छ । ‘हली’को प्रदर्शन सन्तोषजनक देखिएको भए पनि ‘कमला मिस’को अवस्था भने उति सन्तोषजनक देखिएको छैन ।
उता फिल्म ‘हली’को साइप्रस र बेलायती प्रदर्शन अधिकार बिक्री भएको निर्माण समूहले जनाएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेडले बिहीबार फिल्मको प्रदर्शन अधिकार खरिद गरेको जनाइएको हो । आगामी असोज ४ गते अर्थात् सेप्टेम्बर २० तारिखका दिन बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा फिल्म प्रदर्शन हुनेछ । फिल्म प्रदर्शनको संघारमा रहँदा नेपालमा प्रचार अभियान तीव्र बनाइएको छ । काठमाडौंका विभिन्न कलेजमा प्रचार गर्नेदेखि पूर्वी जिल्लाहरू झापा, मोरङ र सुनसरी तथा पश्चिमतर्फ दाङ, नेपालगञ्ज र धनगढीमा सञ्चालित अधिकांश तीनपाङग्रे अटो तथा ई–रिक्समा फिल्मको पोस्टर टाँगिएको छ । यसले फिल्मको प्रचारमा ठूलो सघाउ पुगेको निर्माण टिमको विश्वास छ ।
छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित यस फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मलाई ओम प्रतीकले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा उनी स्वयंको पनि मुख्य भूमिका रहेको छ । 
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता पूजा गुरुङ (गर्वी) र जस्मिन श्रेष्ठ (ज्वानभिष) हुन् । अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह–निर्मातामा छन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्