नेभिगेशन
मनोरञ्जन

प्यारामाउन्ट–वार्नर एकीकरणलाई बेलायतको स्वीकृति

बेलायती नियामकहरूले प्यारामाउन्टले वार्नर ब्रदर्स डिस्कभरीलाई ८१ अर्ब डलरमा खरिद गर्ने प्रस्तावलाई बिहीबार स्वीकृति दिएका छन् । कम्पनीले बेलायतको प्रसारण तथा मागअनुसारका मनोरञ्जन सेवासम्बन्धी केही नयाँ कानुनी प्रतिबद्धता जनाएपछि यो महाविलयले अर्को महत्वपूर्ण अवरोध पार गरेको हो । यद्यपि सम्झौताले अझै अन्य देशमा नियामकीय तथा कानुनी चुनौती सामना गरिरहेको छ ।
बेलायतको प्रतिस्पर्धा तथा बजार प्राधिकरणले प्रस्तावित खरिदलाई स्वीकृति दिँदै प्यारामाउन्ट र वार्नरको एकीकरणले बेलायतमा ‘प्रतिस्पर्धामा उल्लेख्य कमी’ नल्याउने निष्कर्ष निकालेको छ ।
त्यसैगरी बेलायतको डिजिटल, संस्कृति, सञ्चार तथा खेलकुद विभागले पनि सम्झौतामा हस्तक्षेप नगर्ने निर्णय गरेको छ । प्यारामाउन्टले बेलायतको प्रसारण र मागअनुसारका मनोरञ्जन क्षेत्रमा आफ्नो उपस्थिति तथा सेवासम्बन्धी केही ‘कानुनी रूपमा बाध्यकारी प्रतिबद्धता’ जनाएपछि विभागले यस्तो निर्णय गरेको हो ।
प्यारामाउन्टले बेलायतको स्वीकृतिलाई वार्नर खरिद पूरा गर्ने दिशामा ‘महŒवपूर्ण कोशेढुंगा’ भनेको छ । स्काइडान्सले प्यारामाउन्टलाई खरिद गरेको एक वर्ष मात्र भएको अवस्थामा कम्पनीले वार्नर ब्रदर्स डिस्कभरी खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।
यो सम्झौता पूरा भएमा एचबीओ म्याक्स, ‘ह्यारी पोटर’ जस्ता लोकप्रिय सामग्री तथा सीएनएनसमेत सीबीएस, ‘टप गन’ र प्यारामाउन्ट प्लसजस्ता सामग्री तथा सेवासँग एउटै कम्पनीको स्वामित्वमा आउनेछन् ।
दुवै कम्पनीको बेलायतमा पनि ठूलो व्यावसायिक पहुँच छ । यसमा लन्डनस्थित प्यारामाउन्टको स्वामित्वमा रहेको च्यानल ५, बेलायतका दर्शकलाई लक्षित निकेलोडियनका कार्यक्रम तथा वार्नरको बेलायती टेलिभिजन व्यवसाय टीएनटी स्पोट्र्सलगायत सम्पत्ति पर्छन् ।बेलायतका उपभोक्ताका लागि उपलब्ध समाचार, टेलिभिजन तथा स्ट्रिमिङ सेवामा प्रतिस्पर्धासम्बन्धी चिन्ता व्यक्त गर्दै संस्कृति मन्त्री लिसा न्यान्डीले यसअघि आफू सम्झौतामा हस्तक्षेप गर्ने पक्षमा रहेको संकेत गरेकी थिइन् । तर बिहीबार उनको कार्यालयले प्यारामाउन्टले बेलायतमा विभिन्न प्रकारका प्रसारण तथा मागअनुसारका सेवाहरूको निरन्तर उपलब्धता सुनिश्चित गर्न र तिनको सम्पादकीय स्वतन्त्रता जोगाउन ‘सुरक्षात्मक प्रबन्धहरूको एउटा सेट’ लागू गर्न सहमति जनाएको बताएको छ । डिजिटल, संस्कृति, सञ्चार तथा खेलकुद विभागका अनुसार त्यसअन्तर्गत च्यानल ५ को सम्पादकीय स्वतन्त्रता कायम राखिनेछ । च्यानल ५ को सम्पादकीय नीति सीबीएस र सीएनएनबाट ‘पूर्ण रूपमा अलग’ रहनेछ ।
त्यस्तै, प्यारामाउन्टले बेलायतमा आफ्ना परम्परागत टेलिभिजन च्यानल र मागअनुसार उपलब्ध हुने सेवाहरूलाई एकीकृत नगर्ने सहमति जनाएको छ । निकेलोडियन र कार्टुन नेटवर्कजस्ता बालबालिकाका च्यानलहरू पनि एकअर्काबाट अलग नै रहनेछन् ।
सम्झौताअनुसार बेलायती सरकारले प्यारामाउन्टले यी प्रतिबद्धता कसरी कार्यान्वयन गरिरहेको छ भन्ने निगरानी गर्नेछ । कम्पनीले प्रत्येक वर्ष आफ्ना प्रतिबद्धता पालना गरेको विवरणसमेत बुझाउनुपर्नेछ ।
प्यारामाउन्ट–वार्नर विलयको विरोध गर्दै आएका समूहहरूले भने नियामकलाई सम्झौता रोक्न निरन्तर आग्रह गर्दै आएका छन् । गत महिना हलिउडका कलाकार एलन कमिङ, बेनेडिक्ट कम्बरब्याच र बेनेडिक्ट वोङले बेलायती पत्रिका ‘द गार्जियन’मा संयुक्त लेख प्रकाशित गर्दै संस्कृति मन्त्री न्यान्डीलाई सम्झौतामा हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
जुलाई २७ मा प्रकाशित लेखमा उनीहरूले यो विलयले बेलायती जनतालाई ‘अत्यन्त ठूलो क्षति’ पु¥याउने खतरा रहेको दाबी गरेका थिए । बेलायतका कलाकारका रूपमा आफूहरूले बेलायती कला क्षेत्र, कलाकार, प्राविधिक तथा दर्शकसँग लामो समयदेखि काम गर्दै आएकाले सार्वजनिक हितको रक्षा गर्नु आफ्नो जिम्मेवारी भएको उनीहरूको भनाइ थियो ।
बेलायतमा तत्कालका लागि ठूलो अवरोध हटे पनि प्यारामाउन्ट र वार्नरले सम्झौता पूरा गर्ने मिति भने अर्को वर्षसम्म पछाडि सारेका छन् । अमेरिकाका १२ राज्यले सम्झौता रोक्न दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेकाले यस्तो निर्णय गरिएको हो ।
क्यालिफोर्नियाको नेतृत्वमा रहेका ती राज्यहरूले गत महिना सम्झौता रोक्न मुद्दा दायर गरेका थिए । उनीहरूले प्यारामाउन्ट र वार्नरको एकीकरणले हलिउडमा प्रतिस्पर्धा समाप्त पार्ने र उपभोक्ताका लागि विशेषगरी अमेरिकी चलचित्र दर्शक तथा केबल टेलिभिजन ग्राहकका विकल्प घटाउने दाबी गरेका छन् ।
अमेरिकाको राइटर्स गिल्ड अफ अमेरिकालगायत अन्य समूहले पनि सम्झौताविरुद्ध मुद्दा दायर गरेका छन् ।
अदालतले प्रतिस्पर्धाविरोधी कानुनसम्बन्धी मुद्दामा १२ दिन लामो सुनुवाइ गर्ने तय गरेको छ । सुनुवाइ आगामी मार्चको सुरुवातमा सुरु हुनेछ । प्यारामाउन्टले भने आफ्नो सम्झौताको ‘जोरदार रूपमा प्रतिरक्षा’ गर्ने प्रतिबद्धता जनाएको छ ।
प्यारामाउन्ट र वार्नरले भने दुवै कम्पनी गाभिँदा मनोरञ्जन उद्योगको वृद्धि तीव्र हुने र उपभोक्ताले थप सामग्रीमा पहुँच पाउने दाबी गरेका छन् । तर आलोचकहरूले केही ठूला कम्पनीको नियन्त्रणमा रहेको अमेरिकी मनोरञ्जन उद्योगमा थप एकीकरणले प्रतिस्पर्धा अझ कमजोर पार्ने चेतावनी दिएका छन् ।
अमेरिकामा यो सम्झौतालाई लिएर राजनीतिक प्रभावको प्रश्नसमेत उठेको छ । यसको एउटा कारण राष्ट्रपति डोनाल्ड ट्रम्प र प्यारामाउन्टका प्रमुख कार्यकारी अधिकृत डेभिड एलिसनको अर्बपति परिवारबीचको निकट सम्बन्धलाई मानिएको छ ।
तर अमेरिकी राज्यहरूको मुद्दाभन्दा फरक रूपमा ट्रम्प प्रशासनअन्तर्गतको अमेरिकी न्याय विभागले गत जुनमा सम्झौता नरोकिने घोषणा गरेको थियो । विभागले प्यारामाउन्ट र वार्नरको एकीकरणको समर्थनमा लामो वक्तव्यसमेत जारी गरेको थियो ।
यसैबीच प्यारामाउन्टले युरोपेली संघका साथै चीन, क्यानडा र अस्ट्रेलियालगायत अन्य देशबाट पनि नियामकीय स्वीकृति प्राप्त गरिसकेको जनाएको छ ।ऋणसमेत समावेश गर्दा वार्नर ब्रदर्स डिस्कभरी खरिद गर्न प्यारामाउन्टले प्रस्ताव गरेको सम्झौताको कुल मूल्य करिब १११ अर्ब डलर पुग्छ । यो ८२ अर्ब बेलायती पाउन्डभन्दा बढी हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्