नेभिगेशन
मनोरञ्जन

दरभंगाबाट उठेको सिनेमाको नयाँ आवाज

न्यूयोर्कस्थित बैंक अफ न्यूयोर्क मेलोनमा आकर्षक जागिर गरिरहेका प्रशान्त नागेन्द्र इन्भेस्टमेन्ट बैंकरको करिअर छाडेर बिहार फर्किए । रहर थियो फिल्म बनाउने । उनको उद्देश्य मसला र एक्सन फिल्म भने बनाउनु थिएन, बरु झण्डै पाँच दशकदेखि सुस्ताएको मैथिली चलचित्र उद्योगलाई पुनर्जीवन दिनु थियो ।
सन् २०१५ मा उनले बनाएको ‘लालका पाग’ले बिहारको सिनेमामा स्थानीय समाज र जनजीवनसँग जोडिएको कथालाई फेरि प्रस्तुत ग¥यो । राजकमल चौधरीको कथामा आधारित फिल्ममा अशिक्षित ग्रामीण महिला तिरु र उच्च शिक्षित राधाकान्तबीचको वैवाहिक सम्बन्धमार्फत महिलामाथि रहेको सामाजिक दबाब, धोका र भावनात्मक पीडा देखाइएको छ ।
बिहारको चलचित्र पहिचान लामो समयदेखि भोजपुरी फिल्मले ओगटेको छ । चर्को एक्सन, गीत–नृत्य र ठूला नायकका कथाबीच स्थानीय भाषा, संस्कृति र आममानिसका जीवनका कथा भन्ने फिल्म भने कम बने । सन् १९६५ मा फणी मजुमदारको ‘कन्यादान’बाट मैथिली सिनेमाले महŒवपूर्ण सुरुवात गरे पनि त्यस्तो धार लामो समय निरन्तर हुन सकेन ।
सन् २०१९ पछि भने ‘नयाँ दरभंगा लहर’को चर्चा सुरु भयो । निर्देशक अचल मिश्र, लेखक–निर्देशक पार्थ सौरभ र अभिनेता–लेखक अभिनव झाले स्थानीय जीवन र संस्कृतिमा आधारित मौलिक फिल्म बनाउन थाले । मिश्रको ‘गमक घर’ यस लहरको पहिलो महŒवपूर्ण फिल्म मानिन्छ ।
त्यसपछि सन् २०२२ मा ‘धुइँ’ आयो । संघर्षरत रंगकर्मीको जीवनमा आधारित यो फिल्ममा वास्तविक रंगकर्मीलाई नै केही दृश्यमा प्रस्तुत गरिएको छ । स्थानीय रंगकर्मी र गैरव्यावसायिक कलाकारलाई समेत अभिनय गराइएको फिल्मले यथार्थवादी शैली अपनाएको छ । सोही वर्ष ‘टर्टोइस अन्डर द अर्थ’ पनि आयो । यी फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा पाए ।

पार्थ सौरभको ‘पोखर के दुनु पार’ले कोभिड महामारीका कारण आर्थिक समस्यामा परेर गाउँ फर्किन बाध्य प्रेमी जोडीको कथा भन्छ । उनका फिल्म न्युयोर्क इन्डिया फिल्म फेस्टिभल लगायत अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका छन् र केही अनलाइन चलचित्र मञ्चमा पनि प्रदर्शन भएका छन् ।
तर यी फिल्मका लागि सबैभन्दा ठूलो चुनौती निर्माण होइन, वितरण बनेको छ । सिंगल–स्क्रिन हल बन्द हुँदै गएका छन् भने मल्टिप्लेक्सले ठूलो बजेटका फिल्मलाई प्राथमिकता दिन्छन् । १५ लाख रुपैयाँमा बनेको फिल्म प्रदर्शन गर्न ३० लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको सौरभ बताउँछन् ।
स्थानीय रंगमञ्चका कलाकारलाई अवसर दिएर नयाँ पुस्ताका यी फिल्मकर्मीले क्षेत्रीय सिनेमाको नयाँ आधार बनाइरहेका छन् । सौरभ अहिले ‘बजरंगी’ फिल्ममा काम गरिरहेका छन् ।
उता ‘लालका पाग’पछि नागेन्द्रले वृत्तचित्रमा काम गरे र फेरि वित्तीय क्षेत्रमा फर्किए । उनको नयाँ फिल्म ‘ग्रीन’ तयार भए पनि प्रदर्शन निश्चित छैन । क्षेत्रीय फिल्म बनाउन चाहनेलाई उनको सुझाव छ—हतारमा यो क्षेत्रमा नछिर्नु। ‘यो निकै कठोर उद्योग हो,’ उनी भन्छन् ।
अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा पाए पनि बिहारको नयाँ सिनेमाले आफ्नै दर्शक र आफ्नै हलसम्म पुग्न भने अझै लामो संघर्ष गर्नुपर्ने देखिन्छ । (द प्रिन्ट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्