काठमाडौं । पूर्वी एसियाको द्वन्द्वसँगै हर्मुज जलमार्गमा जहाज आवागमन प्रभावित भएर पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रधावित भएलगत्तै नेपाल सरकारले गरेका दुइटा काम थिए, सातामा दुई दिन बिदा र खाना पकाउने ग्यास आधा सिलिन्डर वितरण । दुई दिन बिदालाई पर्यटन क्षेत्रले राम्रो माने पनि शिक्षा क्षेत्रबाट चिन्ता व्यक्त भयो – अब विद्यार्थीको कोर्सको वार्षिक क्यालेन्डर पूरा हुन्न, बिदा दिने निर्णय फिर्ता लिउँ । ग्यास उद्योगीहरूले भने – ‘आधा सिलिन्डर वितरण गर्न गाह्रो भयो, रोकौं, पूरा सिलिन्डर वितरण गर्न सम्भव छ ।’
सरकारले दोस्रो आवाजलाई सम्बोधन ग¥यो । खाना पकाउने ग्यास पूरा सिलिन्डर बाँड्ने निर्णय त ग¥यो, तर अहिले सास्ती नयाँ खालको छ । देशका विभिन्न जिल्लामा ग्यासको लाइन छ । डिपोहरूमा अनुगमन भइरहँदा पनि सर्वसाधारणले राम्ररी ग्यास पाएका छैनन् । एलपी ग्यासको अभावले गत दुई सातादेखि उपभोक्तालाई ठूलो सास्ती दिएको छ ।
आयाल निगमको तथ्यांकले ग्यास माग धान्नेगरी नै आयात भएको देखाइरहँदा पनि डिलरहरूमा पर्याप्त सिलिन्डर पुगेको देखिएका छैनन् । ग्यास नपाउँदा सर्वसाधारणको गालीबाट जोगिन सरकारलाई दौडधुप र अनुगमनको हत्ते परेको छ ।
यो अभावको मुख्य र तत्कालीन कारण भने आधा सिलिन्डर (७.१ केजी) वितरणबाट पूर्ण १४.२ केजी सिलिन्डर वितरण सुरु गर्दा व्यवस्थापकीय कमजोरी रहेको सरोकारवाला स्वीकार्छन् ।
उपभोक्ताले घरमा थुप्रिएका खाली तथा आधा भरिएका सिलिन्डर एकैचोटि भर्न खोज्दा ग्यासको अभाव भएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले दाबी गरे ।
गत चैतमा ३८ हजार मेट्रिक टन, वैशाखमा ३२ हजार जेठमा ३३ हजार मेट्रिक टन मात्रै खपत भएकोमा अहिले असारमा ४३ हजार मेट्रिक टन आयात भयो । साउनका हालसम्म ३९ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । तर, माग घटेको छैन ।
केही महिनादेखि आधा सिलिन्डर ग्यासमा गुजारा चलाउँदै आएका उपभोक्ताले अहिले पूरा सिलिन्डर भर्न खोज्दा बजारमा एलपी ग्यासको अभाव देखिएको उनको बुझाइ छ ।
भारतबाट आयात परिमाण बढेको र नेपालका उद्योगले निरन्तर बोटलिङ गरिरहेको ग्यास उद्योगीहरूको दाबी रहे पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन नसकेपछि आपूर्ति व्यवस्थामाथि भने प्रश्न उठेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढिरहेको छ । आयातसँगै नेपालका ग्यास उद्योगबाट सिलिन्डर रिफिलिङ गरी बजारमा पठाउने काम पनि निरन्तर भइरहेको उनको भनाइ छ ।
ग्यास अभाव हुने शंकामा उपभोक्तामा अनावश्यक रुपमा सिलिन्डरहरू सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढी खरिद गर्ने भएपछि बजारमा कृत्रिम अभाव सिर्जना भइरहेको उनको भनाइ छ ।
‘उपभोक्ताले चाहिनेभन्दा बढी खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुन्छ । आगामी दिनमा पनि आपूर्तिमा समस्या नहुँदा बजारमा ग्यासको अभाव देखिने सम्भावना छैन,’ उनले भने ।
कर्णालीको केन्द्रको रुपमा रहेको सुर्खेतमा र जुम्लामा अभाव हुनुको कारण आयातमा समस्याले भएको पनि उनको भनाइ छ । भारतमा गंगा नदीको आसपासमा काँवरिया (बोलबमका तीर्थालु) यात्राका कारण सडक अवरुद्ध हुँदा नेपालगञ्ज डिपोमा ग्यास अभाव हुन गएको उनले बताए । सुदूरपश्चिममा उद्योगसमेत रहेका चन्दले आफ्नो उद्योगमा स्टक सकिइसकेको र मंगलबार नयाँ बुलेट आएपछि बजारमा प्रशस्त ग्यास हुने बताए । अछाम, दैलेख, जुम्ला, कालिकोट सबैको चाप सुर्खेतमा पर्नुको कारण नेपालगञ्ज भएर मात्र जाने भएकाले समस्या भएको उनको ठम्याइ छ । अरू क्षेत्रमा सबैतिरबाट ग्यास जाने भएकाले त्यति चाप नपरेको उनको भनाइ छ ।
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले एक हप्तामा ग्यासको अभाव नहुने जिकिर गर्दै १० दिनलाई ग्यास पुगेका उपभोक्ता लिन नगएमा सहज रूपमा यो समस्या सल्टिने स्पष्ट पारे ।
आधाबाट पूरामा फर्किएपछिको दबाब
गत फागुन २९ बाट आयल निगमले आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय गरेको थियो । पूर्वी एसियामा अमेरिका–इजरायल र इरानबीच बढेको तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्न सक्ने जोखिम देखिएकाले यो कदम चालिएको थियो । त्यस अवधिमा उपभोक्तालाई कम्तीमा केही ग्यास उपलब्ध गराउने उद्देश्यले ७.१ केजी सिलिन्डर वितरण गरियो । यसले बजारमा केही सहजता ल्यायो तर धेरै उपभोक्ताका घरमा खाली र आधा भरिएका सिलिन्डर थुप्रिन थाले ।
असारको अन्त्य वा साउनको सुरुतिरबाट पूर्ण १४.२ केजी सिलिन्डर वितरण पुनः सुरु भयो । त्यसलगत्तै बजारमा माग बढ्न गयो । उपभोक्ताहरूले घरमा थुप्रिएका सबै सिलिन्डर एकैचोटि भर्न थाले । दैनिक बिक्री सामान्य एक लाख १० हजारबाट एक लाख ३० हजारसम्म पुग्यो । यसले तत्कालीन आपूर्तिलाई अपर्याप्त बनायो । काठमाडौं उपत्यकाका बालाजु, घट्टेकुलो, टेकुलगायतका डिपोमा लामो लाइन देखियो । देशभर मासिक औसत ४५ देखि ४८ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा अहिले माग ५५ देखि ६० हजार टनसम्म पुगेको नेपाल आयल निगमका अधिकारीहरू बताउँछन् ।
निगमका अनुसार साउन महिनाको पहिलो २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको छ । पूरा महिनामा करिब ५५ हजार टन पुग्ने अनुमान छ, जुन गत वर्षको सोही अवधिको ४४ हजार ३१८ टनभन्दा बढी हो । दैनिक एक सयभन्दा बढी ग्यास बुलेट भारतबाट आइरहेका छन् । केही दिन त एक सय ३० देखि एक सय ४० बुलेटसम्म आएको बताइएको छ । आयात करिब १५ प्रतिशतले बढेको उद्योग संघको विज्ञप्तिले पनि पुष्टि गरेको छ । यसबाट आपूर्ति बढेको र एक साताभित्र पूर्ण रूपमा सहज हुने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले भने, ‘१५ दिनका लागि आधा सिलिन्डर वितरण गर्ने भनेकोमा ४ महिना लम्बिँदा साउनजस्तो अफ सिजनमा ग्यासको माग बढेको बताए । सरकारप्रति जनताको अविश्वासका कारण चुलो निभेपछि ग्यास लिन जाने ग्राहकलाई अहिले अभाव भएको उनले बताए । घरमा दुई वटा सिलिन्डर स्टक राख्ने प्रवृत्तिलाई निरुत्साहित गरेमा एक हप्तामा अभाव नहुने उनको भनाइ छ ।
अभाव कृत्रिम हो ?
उद्योग संघको विज्ञप्तिले स्पष्ट पारेअनुसार आयात सहज रूपमा भइरहेको र उद्योगहरूबाट सिलिन्डर रिफिलिङ तथा बजारीकरण निरन्तर भइरहेको अवस्थामा पनि उपभोक्ताको अनावश्यक सञ्चय प्रवृत्तिले कृत्रिम अभाव सिर्जना गरेको छ ।
संघले बिक्रेताहरूलाई घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ । साथै संघ आफ्ना सदस्य उद्योगहरू तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी उपभोक्तासम्म एलपी ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिक्रियाका लागि ‘क्वीक एक्सन टिम’
अभावले विशेष गरी निम्न आय भएका परिवार, ज्येष्ठ नागरिक, बिरामी र एकल महिलाहरूलाई बढी असर गरेको छ । कतिपयले बिजुली चुलोमा निर्भर हुनुपरेको छ भने कतिपयले महँगो कालो बजारको ग्यास किन्न बाध्य भएका छन् । होटल, रेस्टुरेन्ट र साना व्यवसाय पनि प्रभावित भए । चाडपर्व नजिकिँदै गर्दा यो समस्या थप चिन्ताको विषय बनेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात र वितरण नियमित मागभन्दा बढी भएको जनाउँदै केही दिनमा सहज हुने दाबी गरेको छ । बजार अनुगमन तीव्र बनाइएको छ । कृत्रिम अभाव र कालोबजारी गर्नेमाथि कारबाहीको चेतावनी दिइएको छ । आयल निगमले टेकु कार्यालयबाट केही ब्रान्डका सिलिन्डर सिधै वितरण सुरु गरेको छ । उपभोक्तालाई आवश्यकताअनुसार मात्र खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरिएको छ ।
यस्तो अवस्थामा विद्यार्थी, अपांगता भएका व्यक्ति, एकल महिलालगायतलाई सहज रुपमा ग्यास उपलब्ध गराउन सरकारले क्विक रेस्पोन्स टिम बनाएको छ ।
दीर्घकालीन चुनौती र समाधानको मार्ग
आधा सिलिन्डरबाट पूर्ण सिलिन्डरमा स्विच गर्दा देखिएको यो दबाबको पूर्व होसियारी नअपनाउँदा अहिले समस्या उत्पन्न भएको सरोकारवालाहरूको स्वीकारोक्ति छ ।
समाधानका लागि रणनीतिक ग्यास भण्डारण क्षमता बढाउनुपर्ने, सिलिन्डर ट्र्याकिङ र डिजिटल वितरण प्रणाली लागू गर्नुपर्ने, घरायसी सिलिन्डर संख्याको सीमा तोक्नुपर्ने र वैकल्पिक ऊर्जा स्रोतको प्रवर्धन गर्नुपर्छ ।
अहिले आयात बढेसँगै स्थिति सुधार हुँदै गएको छ । उद्योग संघको विज्ञप्तिअनुसार अतिरिक्त खरिद नगर्ने हो भने समस्या तत्काल समाधान हुन्छ र आगामी दिनमा अभावको सम्भावना छैन । तर संरचनागत सुधार नभएसम्म यस्ता अभाव दोहोरिने जोखिम रहन्छ । उपभोक्ताले आवश्यकताअनुसार मात्र खरिद गरेर सहयोग गर्नुपर्छ भने सरकार र नेपाल आयल निगमले पारदर्शी र प्रभावकारी वितरण सुनिश्चित गर्नुपर्छ ।
संघका अनुसार ग्यासको अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जोरजाम गर्ने तथा आवश्यकताभन्दा बढी खरिद गर्ने प्रवृत्ति बढेकाले बजारमा कृत्रिम अभावको अवस्था देखिएको हो । यसैका कारण अत्यावश्यक परेका उपभोक्ताले समेत ग्यास नपाएर डिपो–डिपो धाउनुपर्ने अवस्था आएको संघले जनाएको छ ।
‘आपूर्ति घटेको होइन, अभावको त्रासले माग अस्वाभाविक रूपमा बढेको हो,’ संघका अध्यक्ष श्रेष्ठले भने ।