नेभिगेशन
मनोरञ्जन

मोडल हन्टको उपाधि परन्तप र लिजालाई

काठमाडौं । मोडल हन्ट नेपाल २०२६ को पुरुषतर्फ परन्तप भण्डारी र महिलातर्फ लिजा श्रेष्ठले उपाधि जितेका छन् । दरबारमार्गस्थित होटल याक एन्ड यतीमा शनिबार बेलुकी आयोजित समारोहमा विजेता घोषण गरिएको हो ।
भण्डारी र श्रेष्ठले जनही ५÷५ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन् । साथै, आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि उनीहरूले पाएका छन् ।
भण्डारीले ‘बेस्ट वाक’, ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’को उपाधिसमेत जिते । श्रेष्ठले ‘कमर्सियल मोडल’को उपाधि हात पारिन् । प्रतियोगिताको पुरुषतर्फ अनुस्कृत न्यौपाने फस्र्ट रनरअप र सुशान्त प्रजापति सेकेण्ड रनरअप बने । महिलातर्फ प्रियंका ओली फस्र्ट रनरअप र खुसी बोहरा सेकेण्ड रनरअप घोषित भए ।
यस वर्षको प्रतियोगितामा २६ महिला र १६ पुरुष गरी फाइनलमा ४२ प्रतियोगी थिए । मनिष ओली र काया थापा ‘मोस्ट पपुलर’, सुशील थापा मगर र काया थापा ‘मोस्ट स्टाइलिस’, अनुष सक्सेना र उगेश्ना तिमल्सिना ‘बेस्ट पर्सनालिटी’ घोषित भए । अस्निका ठकुरीले ‘बेस्ट वाक’ तथा सुशान्त प्रजापति र प्रियंका ओलीले ‘पब्लिक च्वाइस’को उपाधि पाए ।
त्यस्तै, सुशान्त प्रजापति र कृशला संगत ‘मोस्ट फोटोजेनिक’, सिम्रन कार्की ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’, अनुस्कृत न्यौपाने ‘कमर्सियल मोडल’ तथा सृष्टि न्यौपाने ‘बेस्ट कन्टेन्ट क्रिएटर’ घोषित भए ।
प्रतियोगिताको यो १०औं संस्करण हो । मुख्य प्रायोजक नथिङ स्मार्टफोन रहेकाले यसपटक प्रतियोगिता ‘नथिङ स्मार्टफोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको थियो ।
आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, शारीरिक हाउभाउ, फोटोसुट र अभिव्यक्तिलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रतियोगिताका निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चलराज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई थिए । अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताले मोडलिङमा आउन चाहने युवायुवतीलाई देश तथा विदेशमा अवसर पाउने आधार र व्यावसायिक मञ्च उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्