नेभिगेशन
मनोरञ्जन

फरक क्षमता भएकालाई ‘द ओडेसी’को स्वाद

क्रिस्टोफर नोलनको फिल्म ‘द ओडेसी’ ले होमरको महाकाव्यप्रति विश्वभर नयाँ चासो जगाइरहेका बेला ग्रीसमा अपांगता भएका र नभएका कलाकारहरूले युद्धको अर्को कथा मञ्चन गरेका छन् । यो कथा युद्धबाट विजयी भएर घर फर्किएका वीरहरूको होइन, उनीहरूले युद्धपछि छाडेर गएका मानिसहरूले भोगेको पीडाको हो ।
२२ जना कलाकार सहभागी ‘द ट्रोजन वुमन’ नाटक दक्षिणी ग्रीसको प्राचीन खुला रंगमञ्च एपिडाउरसमा प्रस्तुत गरियो । आयोजकका अनुसार २ हजार ३ सय वर्ष पुरानो यो रंगमञ्चमा सबैका लागि पूर्ण रूपमा खुला गरिएको पहिलोपटक हो ।
होमरले ट्रोयबाट घर फर्किरहेका योद्धाहरूको कथा लेखेका थिए । तर त्यसको करिब तीन शताब्दीपछि नाटककार युरिपिडिजले ट्रोय सहरको भग्नावशेष र त्यहाँका महिलाको पीडालाई कथाको विषय बनाए । ती महिलाहरूलाई आफ्नो घरबाट निकालिनुका साथै दास बनाइयो । गएको साता मञ्चित उक्त नाटक हेर्न सबै प्रकारका अपांगता भएका व्यक्तिहरूलाई खुला गरिएको थियो । दृष्टिविहीन दर्शकलाई ब्रेलमा तयार पारिएका कार्यक्रम पुस्तिका, छामेर बुझ्न सकिने नमूना तथा प्रत्यक्ष अडियो वर्णनको व्यवस्था गरिएको थियो । बहिरा दर्शकले मञ्चमाथि देखाइएका अक्षरमार्फत संवाद बुझ्न सक्ने व्यवस्था थियो । रंगमञ्च परिसरमा हिँडडुल गर्न पनि विभिन्न भौतिक सुविधा थपिएको थियो ।
कार्यक्रममा सहभागी पारालिम्पिक स्वर्ण पदक विजेता ग्रेग पोलिक्रोनिडिसले भने, ‘प्राचीन एपिडाउरसमा सबैका लागि पहुँचयोग्य बनाइएको यो पहिलो प्रदर्शन हो । आज समानताको उत्सव मनाइएको छ र यो सधैंका लागि सबैका लागि उदाहरण बन्नुपर्छ ।’
धेरै कलाकारका लागि प्राचीन रंगमञ्चमा उभिनु आफैंमा एउटा सन्देश थियो— समाजमा प्रायः बेवास्ता गरिने मानिसहरूको आवाज बन्नु । ५८ वर्षीया कलाकार इरिनी कुरोभानी ह्विलचेयर प्रयोग गर्छिन् । उनले यसअघि कहिल्यै यो रंगमञ्चमा पाइला टेकेकी थिइनन् । ‘यो निकै भव्य छ,’ उनले भनिन्, ‘मलाई लाग्छ, यो रंगमञ्च जति फराकिलो छ, मेरो मन पनि त्यति नै फराकिलो भएर खुलेको छ ।’
दृष्टिविहीन मनोवैज्ञानिक इओआना–मारिया गेत्र्सु आफ्नो सहयोगी कुकुर बाबुसँग प्रदर्शन हेर्न पुगेकी थिइन् । ‘हामीलाई पनि अरू सरह समान रूपमा कार्यक्रम हेर्ने अधिकार छ,’ उनले भनिन् । नाटक चलिरहँदा आफ्नो कुकुर शान्त बसेकोमा उनी ढुक्क थिइन् । यो नाटक ग्रीसको राष्ट्रिय रंगमञ्चले प्रस्तुत गरेको हो । पहुँचसम्बन्धी सुविधा गैरनाफामूलक संस्था लिमिनालले तयार पारेको थियो । त्यसका लागि आवश्यक आर्थिक सहयोग ग्रीसको अल्फा बैंकले गरेको थियो ।
ग्रीसको राष्ट्रिय रंगमञ्चकी कलात्मक निर्देशक अर्गिरो चिओटीले यस्तो व्यवस्था अब अपवाद नभई सामान्य अभ्यास बन्नुपर्ने बताइन् । ‘यो काम जटिल थियो, सजिलो थिएन । यसका लागि महिनौंसम्म योजना बनाउनुप¥यो । खर्च पनि भयो । विशेष प्रकारको व्यवस्थापनसम्बन्धी दक्षता पनि आवश्यक प¥यो,’ उनले भनिन्, ‘तर हामीले पुग्नुपर्ने मापदण्ड यही हो । ठूला मञ्च र ठूला रंगमञ्चहरूमा पनि यस्तै व्यवस्था हुनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्