नेभिगेशन
अर्थतन्त्र

ग्यास अभाव, मल आपूर्ति र महँगीले जनजीविका प्रभावितः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा लगाइएको कर, रासायनिक मलको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ । कांग्रेसले सरकारका निर्णयमा पूर्वतयारी र दीर्घकालीन योजनाको अभाव रहेको भन्दै नागरिकले ग्यास अभावदेखि महँगीसम्मको समस्या भोग्नुपरेको जनाएको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतवारदेखि पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठकले सोमबार अर्थतन्त्र र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
कांग्रेसले सरकारको आर्थिक व्यवस्थापनसँग सम्बन्धित चार विषयलाई प्रमुख रूपमा उठाएको छ । एलपी ग्यास आपूर्ति, ऊर्जा नीति तथा कर संरचना, कृषि तथा मल आपूर्ति र बजार व्यवस्थापन, तथा महँगी र सुशासनमा पार्टीको वैठकले प्रश्न उठाएको हो ।
ग्यासको तौल बढाउने निर्णयले अभाव झन् बढेको कांग्रेसको दाबी
कांग्रेसले एलपी ग्यासको अभावलाई सरकारको ‘तदर्थवादी निर्णय’को परिणामका रूपमा व्याख्या गरेको छ ।
पार्टीका अनुसार करिब चार महिनाअघि मध्यपूर्वमा भएको युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित भएपछि नेपालमा समेत ग्यासको अभाव हुन नदिन सिलिन्डरमा ७.१ किलो ग्यास भरेर बजार सहजीकरण गरिएको थियो ।
तर अहिले सरकारले १४.२ किलो ग्यास भर्नुअघि आवश्यक तयारी नगरेको कांग्रेसको आरोप छ । ग्यासको स्टक, आयात हुने परिमाण, आयात गर्न सकिने क्षमता र बजारको आवश्यकता अध्ययन नगरी हचुवाको भरमा १४.२ किलो भर्न निर्देशन दिइएको पार्टीको भनाइ छ ।
कांग्रेसले यस्तो निर्णय गर्नुअघि सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्नेमा पूर्वतयारीबिना निर्णय गरिएका कारण खाना पकाउने ग्यासको गम्भीर अभाव सिर्जना भएको जनाएको छ ।
उसले ठोस योजना बिना १४.२ किलोको सिलिन्डर वितरण गर्ने निर्णयलाई ‘स्टन्टबाजी’को संज्ञा दिँदै यसबाट बजारमा ग्यासको हाहाकार अझ बढेको दाबी गरेको छ । सरकारको अकर्मण्यता र दूरदर्शिताको अभावका कारण उपभोक्ताले अझै लामो समय ग्यासको सास्ती भोग्नुपर्ने जोखिम रहेको कांग्रेसको निष्कर्ष छ ।
ग्यास आयात दोब्बर गर्न माग
कांग्रेसले सरकारलाई तत्काल कूटनीतिक पहल गरी ग्यासको आयात दोब्बर बढाउन माग गरेको छ । त्यससँगै पर्याप्त भण्डारण अर्थात् स्टक सुनिश्चित गर्न, आपूर्ति सञ्जाल व्यवस्थित तथा सहज बनाउन र तदर्थवादी निर्णय बन्द गर्न कांग्रेसले आग्रह गरेको छ ।
बजारमा खाना पकाउने ग्यासको सुलभ र निरन्तर उपलब्धता सुनिश्चित गरेर नागरिकलाई राहत दिनुपर्ने पार्टीको माग छ ।
विद्युत् प्रयोगलाई निरुत्साहित गरिएको आरोप
कांग्रेसले ग्यास अभावसँगै सरकारको ऊर्जा नीति र कर संरचनामाथि पनि प्रश्न उठाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटबढ हुने भएकाले विगतका सरकारले आन्तरिक विद्युत् खपत बढाउँदै ग्यासको प्रयोगलाई क्रमशः विस्थापन गर्ने स्पष्ट नीति लिएको कांग्रेसले जनाएको छ ।
सोहीअनुसार उपभोक्तालाई इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा सहुलियत दिने प्रणाली लागू गरिएको पार्टीको भनाइ छ ।
तर वर्तमान सरकारले विद्युत् खपतमा विभिन्न शीर्षकमा कर थपेर ग्यासको साटो स्वच्छ ऊर्जा अर्थात् विद्युत् प्रयोग गर्ने नागरिकको प्रयासलाई निरुत्साहित गरेको कांग्रेसको आरोप छ ।
कांग्रेसले ग्यासको विकल्पका रूपमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएका सबै प्रकारका अतिरिक्त कर तत्काल हटाउन माग गरेको छ ।

त्यस्तै, इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा पुनः सहुलियत दिन तथा ग्यास विस्थापन गर्ने स्पष्ट र दीर्घकालीन ऊर्जा नीति तत्काल लागू गर्न पनि कांग्रेसले माग गरेको छ ।
मल नपाउँदा किसान सीमापार जान बाध्य भएको दाबी
कांग्रेसले कृषि क्षेत्रको समस्या पनि सरकारको असक्षमतासँग जोडेको छ । सरकारको असक्षमताका कारण यातायात क्षेत्र अस्तव्यस्त बनेको र बजारमा बिचौलियाको बिगबिगी बढेको कांग्रेसको आरोप छ ।
यसको प्रत्यक्ष असर एकातिर आम उपभोक्तामा परेको र अर्कोतिर साना तथा मझौला किसानले आफ्ना उत्पादनको उचित मूल्य तथा बजार पाउन नसकेको कांग्रेसले जनाएको छ ।
मुख्य सिजनमै रासायनिक मल नपाउँदा किसान अनौपचारिक बजारमा भौतारिन बाध्य भएको पार्टीको भनाइ छ ।
मलको खोजीमा भारतीय बजारसम्म पुग्दा कतिपय नेपाली किसानले महिनौं जेल सजाय भोग्नुपरेको दुःखद अवस्था रहेको कांग्रेसले उल्लेख गरेको छ ।
बाँकी किसानले समेत चर्को मूल्य तिरेर कालोबजारीबाट मल खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको कांग्रेसको दाबी छ ।
मल आपूर्ति सहज बनाउन माग
कांग्रेसले किसानलाई बाली लगाउने मुख्य सिजनमै अनुदानको रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पार्टीले कालोबजारी र बिचौलियाको अन्त्य गर्न, साना तथा मझौला किसानका उत्पादनले उचित बजार तथा समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न र सीमावर्ती क्षेत्रका किसानले भोग्दै आएको समस्याको स्थायी समाधान खोज्न आग्रह गरेको छ ।
महँगीले नागरिकको भान्सा महँगो बनेको आरोप
कांग्रेसले ग्यास अभाव, विद्युत्मा कर वृद्धि र आपूर्ति सञ्जालको कमजोर व्यवस्थापनका कारण खाद्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको जनाएको छ ।

यसको परिणाम आम नागरिकको भान्सा असाध्यै महँगो बनेको कांग्रेसको भनाइ छ ।
पार्टीले वर्तमान सरकार जनजीविकाका वास्तविक समस्या समाधान गर्नुभन्दा सस्तो लोकप्रियता र प्रचारबाजीमा अल्झिएको आरोप लगाएको छ ।
कांग्रेसका अनुसार सरकारले सुशासन, मूल्य नियन्त्रण र नागरिकका समस्या समाधान गर्ने ठूला–ठूला नारा तथा प्रतिबद्धता गरे पनि व्यवहारमा ती असफल भएका छन् ।
बजार अनुगमन तीव्र पार्न माग
कांग्रेसले दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ ।
पार्टीले आपूर्ति व्यवस्थालाई प्रभावकारी र पारदर्शी बनाउन, बजार अनुगमन तीव्र पार्न तथा आम नागरिक, किसान, मजदुर र भुइँमान्छेको जीविकोपार्जन सहज हुने गरी ठोस राहतका कार्यक्रम ल्याउन आग्रह गरेको छ ।
कांग्रेसले सरकारलाई प्रचारबाजी र सस्तो लोकरिझ्याइँमा केन्द्रित नहुन पनि आग्रह गरेको छ ।
पार्टीको जोड तत्कालीन समस्या समाधानका साथै ग्यास आपूर्ति, ऊर्जा प्रयोग, मल वितरण, बजार व्यवस्थापन र मूल्य नियन्त्रणमा प्रभावकारी व्यवस्था कायम गर्नुपर्नेमा छ ।
केन्द्रीय कार्यसमितिको बैठकले गरेका यी निर्णयमार्फत कांग्रेसले सरकारको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीका रूपमा ग्यास अभाव, ऊर्जा नीतिको विरोधाभास, मल आपूर्तिको संकट र महँगीलाई एकैसाथ उठाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्