नेभिगेशन
मनोरञ्जन

‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’को कीर्तिमानी गति कायमै, ‘द ओडिसी’ले पार ग-यो १ अर्ब डलर

‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ले हलमा आफ्नो शानदार गति कायमै राखेको छ । स्टुडियोको आइतबार सार्वजनिक प्रारम्भिक अनुमानअनुसार चलचित्रले दोस्रो सप्ताहन्तमा उत्तर अमेरिकी बजारबाट १४ करोड ४५ लाख डलर कमाएको छ । यसैबीच, क्रिस्टोफर नोलनको ‘द ओडिसी’ले निर्देशक नोलनकै सबैभन्दा ठूलो बक्स अफिस सफलता हासिल गरेको छ ।
सोनी–मार्भलको चलचित्र ‘ब्रान्ड न्यू डे’ले प्रदर्शनमा आएको १० दिनमै विश्वभर १ अर्ब ६७ करोड डलर कमाइसकेको छ । यो गतिले चलचित्रलाई अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने ब्लकबस्टरमध्ये एक बन्ने दिशामा अघि बढाएको छ ।
अमेरिका र क्यानडामा कुनै पनि चलचित्रले यति छोटो समयमा यसभन्दा बढी कमाइ गरेको छैन । ‘ब्रान्ड न्यू डे’ले उत्तर अमेरिकी बजारमा अहिलेसम्म ६५ करोड ५१ लाख डलर कमाइसकेको छ । विदेशमा यसको कमाइ १ अर्ब डलर नाघिसकेको छ ।
प्रदर्शनमा आएको सातौँ दिनमै ‘ब्रान्ड न्यू डे’ यस वर्षको सबैभन्दा धेरै कमाउने चलचित्र बनेको थियो । यसले ‘टॉय स्टोरी ५’को १ अर्ब ७ करोड डलरको विश्वव्यापी कमाइलाई सजिलै उछिनेको हो ।
सोनीको इतिहासमा कुनै पनि चलचित्रले दोस्रो सप्ताहन्तमा १० करोड डलरभन्दा बढी कमाएको थिएन । ‘ब्रान्ड न्यू डे’ भने दोस्रो सप्ताहन्तको सर्वाधिक कमाइको कीर्तिमान नजिक पुगेको छ । सन् २०१५ मा ‘द फोर्स अवेकन्स’ले दोस्रो सप्ताहन्तमा १४ करोड ९२ लाख डलर कमाएको थियो ।
‘द ओडिसी’ पनि १ अर्ब डलर क्लबमा
क्रिस्टोफर नोलन निर्देशित ‘द ओडिसी’ले पनि विश्वव्यापी बक्स अफिसमा १ अर्ब डलरको आँकडा पार गरेको छ । युनिभर्सल पिक्चर्सको यो चलचित्रले चौथो सप्ताहन्तमा उत्तर अमेरिकाबाट थप ३ करोड १५ लाख डलर कमायो । यससँगै यसको विश्वव्यापी कमाइ १ अर्ब १० करोड डलर पुगेको छ ।
होमरको महाकाव्यमा आधारित नोलनको यो चलचित्र सन् २०१२ मा रिलिज भएको ‘द डार्क नाइट राइजेज’पछि १ अर्ब डलर कमाउने उनको पहिलो चलचित्र बनेको छ । मुद्रास्फीतिलाई समायोजन नगरी हेर्दा ‘द ओडिसी’ अहिले नोलनको करिअरकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यसले ‘द डार्क नाइट राइजेज’को १ अर्ब ८ करोड डलर र सन् २००९ को ‘द डार्क नाइट’को १ अर्ब डलरको कमाइलाई उछिनेको हो ।
नोलनको ‘ओपेनहाइमर’ले ९७ करोड ५० लाख डलर कमाएको थियो, जुन १ अर्ब डलरको आँकडाभन्दा केही कम थियो । ‘द ओडिसी’को सफलतामा आइम्याक्सको ठूलो योगदान रहेको छ । आइम्याक्सका ठूला पर्दामा मात्रै चलचित्रले उत्तर अमेरिकामा १४ करोड ७३ लाख डलर कमाएको छ । यससँगै ‘द ओडिसी’ आइम्याक्समा उत्तर अमेरिकाको इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
यद्यपि ‘द ओडिसी’को एउटा ठूलो बजार अझै बाँकी छ । चलचित्र आगामी शुक्रबार चीनमा प्रदर्शन हुँदैछ ।
महामारीपछिकै उत्कृष्ट बक्स अफिस वर्ष
‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ र ‘द ओडिसी’को सफलताले हलिउडलाई कोरोना महामारीपछिकै उत्कृष्ट बक्स अफिस वर्षतर्फ अघि बढाएको छ । रेन्ट्र्याकका अनुसार गत वर्षको तुलनामा यस वर्षको टिकट बिक्री १८.५ प्रतिशतले अगाडि छ । यस वर्ष अहिलेसम्म पाँचवटा चलचित्रले विश्वव्यापी रूपमा १ अर्ब डलरभन्दा बढी कमाइसकेका छन् । सन् २०१९ पछि कुनै पनि वर्षमा यति धेरै चलचित्रले १ अर्ब डलरको आँकडा पार गरेका थिएनन् ।
यस वर्ष १ अर्ब डलरभन्दा बढी कमाउने अन्य चलचित्रमा ‘माइकल’ र ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ पनि छन् । रेन्ट्र्याकले सोमबारसम्म यस वर्षको समग्र ग्रीष्मकालीन चलचित्र बजारको आम्दानी ४ अर्ब डलर पुग्ने अनुमान गरेको छ । हलिउडका लागि लामो समयदेखि ग्रीष्मकालीन सिजनको ४ अर्ब डलरको आम्दानीलाई बलियो व्यापारको संकेतका रूपमा लिइँदै आएको छ ।
महामारीपछि सन् २०२३ मात्रै यस्तो वर्ष हो, जुन ग्रीष्मकालीन चलचित्र बजारले ४ अर्ब डलरको सीमा पार गरेको थियो । त्यस वर्ष ‘बार्बी’ र ‘ओपेनहाइमर’ले टिकट बिक्रीमा ठूलो योगदान गरेका थिए । रेन्ट्र्याकका अनुसार आइतबारसम्म यस वर्षको ग्रीष्मकालीन चलचित्र आम्दानी ४ अर्ब डलरको आँकडाभन्दा केवल १ करोड ४८ लाख डलरले कम छ ।
कमेडी चलचित्रले भने जमाउन सकेनन् प्रभाव
ब्लकबस्टर चलचित्रहरूको दबदबाबीच दर्शकको ध्यान तान्ने प्रयास गर्दै दुईवटा कमेडी चलचित्र प्रदर्शनमा आए पनि तिनले खासै प्रभाव पार्न सकेनन् । विल ग्लक निर्देशित रोमान्टिक कमेडी ‘वन नाइट ओन्ली’ले पहिलो सप्ताहन्तमा ५७ लाख डलर कमायो । चलचित्रको कथामा विवाहपूर्व यौनसम्बन्धमाथि प्रतिबन्ध लगाइएको हुन्छ र वर्षमा एक दिन मात्रै त्यसका लागि अनुमति दिइन्छ । युनिभर्सलको यो चलचित्रमा मोनिका बारबारो र क्यालम टर्नर मुख्य भूमिकामा छन् । यसको निर्माण लागत करिब २ करोड ५० लाख डलर थियो ।
चलचित्रले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएन । रोटेन टोमेटोजमा यसको ‘फ्रेस’ मूल्यांकन ४६ प्रतिशत मात्रै छ । यद्यपि दर्शकको प्रतिक्रिया तुलनात्मक रूपमा राम्रो देखिएको छ । सिनेमास्कोरमा चलचित्रले ‘बी प्लस’ ग्रेड पाएको छ ।
चौथो स्थानमा फक्स सर्चलाइटको ‘सुपर ट्रुपर्स ३’ रह्यो । कमेडी समूह ब्रोकन लिजर्डले निर्माण गरेको लामो समयदेखि चलिरहेको कमेडी शृंखलाको यो तेस्रो भाग हो । चलचित्रले पहिलो सप्ताहन्तमा ४० लाख डलर कमायो ।
सीमित प्रदर्शनका चलचित्रले राम्रो प्रदर्शन
दुई नयाँ सीमित प्रदर्शनका चलचित्रले भने उपलब्ध पर्दामा दर्शक तान्न सफल भए । ए२४को ‘टोनी’मा डोमिनिक सेसाले युवा एन्थोनी बोर्डेनको भूमिका निर्वाह गरेका छन् । चलचित्रले ३ लाख ४८ हजार ९५५ डलर कमायो । प्रतिपर्दा औसत ५८ हजार १५९ डलर कमाउँदै यो यस वर्षकै उत्कृष्ट पर्दा–औसत सुरुवात गर्ने चलचित्रमध्ये एक बनेको छ ।
त्यस्तै, ‘आई सा द टीभी ग्लो’का निर्देशक जेन शोएनब्रुनको ‘टिनएज सेक्स एन्ड डेथ एट क्याम्प मियास्मा’ले पाँचवटा पर्दामा प्रदर्शन हुँदै प्रतिस्थल औसत ५० हजार ३०० डलर कमायो ।
उत्तर अमेरिकी बक्स अफिसका शीर्ष १० चलचित्र
अमेरिका र क्यानडाका हलमा शुक्रबारदेखि आइतबारसम्मको अनुमानित टिकट बिक्रीका आधारमा रेन्ट्रयाकले सार्वजनिक गरेको सूचीः

१. ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ — १४ करोड ५० लाख डलर
२. ‘द ओडिसी’ — ३ करोड १५ लाख डलर
३. ‘वन नाइट ओन्ली’ — ५७ लाख डलर
४. ‘सुपर ट्रुपर्स ३’ — ४० लाख डलर
५. ‘टॉय स्टोरी ५’ — ३९ लाख डलर
६. ‘मिनियन्स एन्ड मोन्स्टर्स’ — ३५ लाख डलर
७. ‘मोआना’ — २८ लाख डलर
८. ‘आइस क्रिम म्यान’ — २० लाख डलर
९. ‘द इनभाइट’ — ७ लाख १७ हजार ५६८ डलर
१०. ‘क्याटभिडियोफेस्ट २०२६’ — ५ लाख ६८ हजार ४१४ डलर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्