नेभिगेशन
अर्थतन्त्र

गोल्छासँग धरौटी एक करोड माग

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा अनुसन्धानमा रहेका उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न विशेष अदालतले आदेश जारी गरेको छ ।  अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । 
गोल्छाको मुद्दामा थुनछेक बहसपछि अदालतले उक्त आदेश आएको हो । ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाल यी प्रतिवादी शेखर गोल्छाको भूमिका तथा संलग्नतालाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि नगद धरौटी एक करोड वा सो बराबरको बैंक जमानत लिई निजलाई तारिखमा राख्नू,’ विशेषको आदेशमा भनिएको छ, ‘धरौटी रकम वा जमानत नदिए थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालय पठाइदिनू ।’ 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छाविरूद्ध ५२ करोड ५० लाख बिगो कायम गरी विशेषमा मुद्दा चलाएको थियो ।  विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले सो बराबरको धरौटी माग गरेको हो । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छालाई गत वैशाख १० मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । गोल्छालाई ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ अन्तर्गतको कसुरमा पक्राउ गरिएको सीआइबीले बताएको थियो । 
धितोपत्र बोर्डको एक प्रतिवेदनमा भट्ट र गोल्छाबीच सम्बन्ध देखिएको थियो । व्यवसायी गोल्छाले भट्टको कारोबारको रकम भुक्तानीमा सहयोग गरेको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्